भाद्र २१, काठमाडौं । राष्ट्रिय क्रान्तिकारी मोर्चा नेपालको दोस्रो राष्ट्रि भेला क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको कार्यालय कुपण्डोलमा सम्पन्न भएको छ । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका कार्यवाहक महासचिव सीपी गजुरेल गौरवको प्रमुख आतिथ्यतामा सम्पन्न भएको भेलाले सन्तबहादुर नेपालीको संयोजकत्वमा १७ सदस्यीय कार्यसमिति निर्वाचित गरेको छ ।
भेलाले कार्यसमितिका सदस्यहरुमा लोक नारायण सुवेदी, नरेन्द्र बहादुर ताण्डुकार, दिनेश शर्मा , मुकुन्द आचार्य, पुष्कर गौतम, प्रमोद धिताल, शैलज पौडेल, विमल शर्मा, पुष्पलाल श्रेष्ठ, दिनेश वर्तौला, राम शरण मगर, अच्युत राज ज्ञवाली, टेक प्रसाद भट्टराई, नविन कुमार कक्षपती, प्रम बाहादुर तारामी मगर, महादेव पोख्रेललाई निर्वाचित गरेको छ।
लोक नारायण सुवेदीको अध्यक्षता, मोर्चाका तात्कालिन संयोजक तथा क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका स्थायी समिति सदस्य सन्त बहादुर नेपालीको विशेष उपस्थिति सम्पन्न कार्यक्रमको सञ्चालन अखिल नेपाल कम्युनिष्ट पार्टीका महासचिव लक्ष्छुमण उप्रेतीले गर्नुभएको थियो। कार्यक्रममा क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका पोलिटब्युरो सदस्य दिनेश शर्माले स्वागत मन्तव्य राख्नु भएको थियो ।
कार्यक्रमलाई उद्घाटन सत्र, शुभकामना मन्तव्य सत्र, प्रतिवेदन प्रस्तुत छलफल तथा नयाँ नेतृत्व चयन सत्र गरी तीन चरणमा विभाजन गरी सम्पन्न गरिएको थियो ।
उद्घाटन सत्रमा शुभकामना मन्तव्य राख्दै कार्यक्रममा प्रमुख अतिथि सीपी गजुरेलले कम्युनिष्ट पार्टी आफैँमा एक बहस भएको भन्दै त्यो बहसले मात्रै कम्युनिष्ट पार्टी जीवित रहने र त्यो जीवित पार्टीले मात्र क्रान्ति सम्पन्न गर्न सक्ने बताउनु भयो । उहाँले भन्नुभयो, “बहस नगरी कुनै पनि पार्टीले क्रान्तिको नेतृत्व गर्न सक्दैन । टुट फुट विभाजन त मार्क्सले गठन गरेको पहिलो अन्तर्राष्ट्रियदेखि नै सुरु भएको हो । त्यो विभाजनको श्रृंखला आजसम्म पनि जारी रहेको छ । नेपाली कम्युनिष्ट पार्टी त्यसबाट अछुतो रहेन ।” उहाँले यी फुट विभाजनहरु, आन्दोलनको चरण, नौलो जनवादलाई मान्ने वा समाजवादलाई मान्ने भन्ने अन्तरसंग जोडिएको बताउनु हुँदै क्रान्तिकारीहरुले नआत्तिइकन त्यसबाट नयाँ उर्जा र प्रेरणा लिएर क्रान्तिको जिम्मेवारी फत्ते गर्नुपर्ने जिम्मेबारी बोध गराउनु भयो ।
अखिल नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष तथा राष्ट्रिय क्रान्तिकारी मोर्चा नेपालका संस्थापक संयोजक नारायण शर्मा, जनवादी मोर्चाका दिनेश बर्तौला, बुद्वीजीवी महादिप पोख्रेल, प्रतिरोध जनअधिकार अभियानका संगीत श्रोता, ने.क.पा.का शरण बिक्रम मल्ल, ने.क.पा. (मशाल) का पुष्पलाल श्रेष्ठ, कोशी प्रदेशको अंकुल कुमार राउत, मधेश प्रदेशबाट डम्बर ढुङ्गेल, बाग्मती प्रदेशबाट शैलज पौडेल, गण्डकी प्रदेशबाट दिपक गुरुङ, लुम्बिनी प्रदेशबाट कमल प्रसाद भुसाल लगायत देशभरिबाट उपस्थित प्रतिनिधिहरुले महत्वपूर्ण धारणा सहित शुभकामना मन्तव्य राख्नु भएको थियो। दोस्रो चरणमा भेलाका अध्यक्ष लोक नारायण सुवेदीद्वारा प्रस्तुत प्रतिवेदनमाथि ब्यापक अन्तरक्रियात्मक छलफल बहसपछि आवश्यक थपघट परिमार्जनसहित प्रतिवेदन पारित गरिएको थियो । नवनिर्वाचित कार्यसमितिको बैठकले प्रारम्भिक रुपमा कार्यविभाजन समेत गरेको सम्बद्ध स्रोतले जनाएको छ ।































