२३ भदौ, काठमाडौं । सोमबार (आज) भएको जेनजीहरूको प्रदर्शनमा कांग्रेस एमालेको सरकारले फासिवादी दमन गरेको छ । आन्दोलनमाथि अन्धाधुन्ध गोली चलाउँदा जेनजीको प्रदर्शनमा प्रहरीको गोली लागेर मृत्यु हुनेको संख्या ७ पुगेको छ । सयौं घाइते हुन पुगेका छन् । भर्खरै प्राप्त समाचार अनुसार नयाँ बानेश्वरस्थित सिभिल अस्पतालमा तीन र ट्रमा सेन्टरमा चार जना प्रदर्शनकारीको मृत्यु भएको हो । उनीहरू सबै रबरको गोली लागेर गम्भीर घाइते भएको दावी गरिएको छ । थप उपचारका लागि अस्पताल पुर्याइएकोमा अस्पतालले मृत घोषणा गरेको हो ।
जेनजीहरूको प्रदर्शनमा प्रहरीले बल प्रयोग गरेपछि थप हिंसात्मक बन्दै गएको छ । सरकारले दिउँसो साढे १२ बजेबाट काठमाडौंका विभिन्न क्षेत्रमा कर्फ्यू आदेश जारी गरेको छ । तर आन्दोलन रोकिएको छैन, बरु थप आक्रोसित रुपमा अगाडि बढेको छ । अहिले पनि नयाँ बानेश्वर क्षेत्र तनावग्रस्त छ । घाइतेहरूको संख्या यकिन भइसकेको छैन ।
जेनजीको आन्दोलन संसद भवन छिर्ने तीनवटै गेट र पर्खाले तोडेर भित्र प्रवेश गर्न थालेपछि प्रहरीले बल प्रयोग गरेको गृहमन्त्रालयले जनाएको छ । संसद भवनको भित्र र बाहिर रहेका सुरक्षाकर्मीले पानीको फोहरा र अश्रुग्यास हानेर प्रदर्शनकारीलाई तितरबितर पार्ने प्रयास गरेका थिए । तर, प्रदर्शनकारी रोकिएनन् । केही प्रदर्शनकारी पर्खाल नाघेर संसद भवनभित्रै छिरे पनि समूहसमूहमा रहेकाहरूले तीनवटै गेट कब्जा गरे । दुुई नम्बर गेटमा त आगजनी नै भयो । संसद भवनको सुरक्षा पोस्टमा प्रदर्शनकारी उक्लेर झण्डा फहराएको देख्दा लाग्थ्यो– देशको संसद भवन कब्जा भइसकेको छ ।
यसबीचमा दर्जनौँ प्रदर्शनकारी पर्खाल नाघेर संसद भवन परिसरमा पसिसकेका थिए । सुरक्षा स्रोतका अनुसार, प्रहरीले संसद भवनभित्र छिरेकाहरूमाथि रबरको गोली चलायो । यस क्रममा घाइते भएकाहरूलाई नजिकैको सिभिल अस्पताल लगियो । तीमध्ये पाँच जनाको मृत्यु भइसकेको छ । यो संख्या अझै बढ्ने अनुमान गरिएको छ ।
प्रहरीको रबरको गोली लागेर केही पत्रकारसहित प्रदर्शनकारी रबरको गोली लागेर घाइते भए । प्रदर्शनकारीको ढुंगाले लागेर केही प्रहरी पनि घाइते भएका छन् । स्थिति नियन्त्रणबाहिर गएपछि जिल्ला प्रशासन कार्यालयले कर्फ्यु आदेश जारी गर्यो, जसमा बानेश्वर क्षेत्रमा सोमबार मध्याह्न १२ः३० बजेदेखि राति १० बजेसम्म भेला, प्रदर्शन, भिडभाड, आन्दोलन गर्न निषेध गरिएको जानकारी थियो ।
कर्फ्युको केही समयपछि नेपाली सेना प्रदर्शनस्थलमा आइपुुग्यो । तर, प्रदर्शनकारीकै अवरोधलाई देखाउँदै सेना थापागाउँतिर फर्कियो । यो समाचार तयार पार्दासम्म नयाँ बानेश्वर क्षेत्र तनावग्रस्त नै छ । बानेश्वरको सिभिल अस्पतालमा घाइतेहरू खचाखच छन् । कर्फ्युका कारण कतिपय घाइतेलाई अस्पताल पुर्याउन सकिएको छैन ।
अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रसहित बानेश्वर क्षेत्र करिब तीन घण्टादेखि प्रदर्शनकारीको कब्जामा छ । उनीहरूले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध चर्को नाराबाजी गरिररहेका छन् । माइतीघर मण्डलामा शान्तसँग नेपाली झण्डा फहराएर सुरु भएको आन्दोलन बानेश्वर पुग्दा हिंसात्मक बन्न पुगेको छ ।
जेनजीको आन्दोलन काठमाडौंमा मात्रै होइन देशका प्रमुख शहरहरुमा पनि भइरहेको छ । देशैभर आन्दोलन हिंसात्मक बन्ने स्थिति अझ संवेदनशील बन्दै गएको छ । यति ठूलो आन्दोनलको पछाडि को छ, कसको आयोजना, संयोजन र व्यवस्थापनमा भएको छ भन्ने तथ्य भने बाहिर आएको छैन । उनीहरुले बढ्दो भ्रष्टाचार र सामाजिक सञ्जालमा लगाएको प्रतिबन्धको विरोधमा सडकमा उत्रिएको जनाएका छन् ।































