रक्तिम र सामनाका जनकलाकारहरूले जुरुक्क पारे क्रान्तिकारी पंक्तिलाई, जीवनले नचाए, सुवोधले हँसाए

रक्तिम र सामनाका जनकलाकारहरूले जुरुक्क पारे क्रान्तिकारी पंक्तिलाई, जीवनले नचाए, सुवोधले हँसाए

काठमाडौं । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल ९ नम्बर ब्यूूरोको आयोजनामा सम्पन्न भएको जनसांस्कृतिक कार्यक्रममा रक्तिम र सामनाका जनकलाकारहरुले क्रान्तिकारी पंक्तिमा उत्साह र उर्जा भरेका छन् । क्रान्तिकारी आशावादले ओतप्रोत भएका गीत र नृत्यको प्रस्तुतिले क्रान्तिकारी पंक्तिलाई उत्साहित र क्रान्तिप्रतिको दायित्वबोध गराउँदै उर्जा र उत्प्रेरणा सञ्चार गरेको छ ।

खुशीराम पाख्रिनको “सागर तर्ने यात्रीहरु, खुट्टा काम्नु हुन्न, लक्ष्य पुरा गर्ने अलमलिनु हुन्न । बलिदानको लागि अझै तयार हुनुपर्छ, विद्रोहको अझ ठुलो आँधीबेहरी फेरि ल्याउनु पर्छ ।” बोलको क्रान्तिकारी सन्देशले भरिएको उर्जाशील गीतलाई जनकलाकारहरुले कार्यक्रममा स्वागत गीतको रुपमा प्रस्तुत गरे । त्यसपछि पुराना तर चर्चित रुपमा स्थापित जनवादी गायक जीवन शर्माको शब्द, संगीत र स्वरमा सजिएको क्रान्तिकारी आशावादले ओतप्रोत गीत ‘रातो लालटिन’ गीतलाई जनयुद्धले स्थापित गरेका सामनाका स्थापित जनकलाकारहरुको स्वरमा आकर्षक नृत्यसहित प्रस्तुत गरियो । त्यस लगत्तै सामनाका प्रतिभाशाली जनगायक तथा संगीतकार अनिश योञ्जनको स्वरमा खुशीराम पाख्रिनको गीत ‘लाल झुपडीका मान्छेहररु’ बोलको गीत प्रस्तुत गरियो ।

रक्तिम अभियानका अध्यक्ष नारायण शर्माको उद्घोषणमा सञ्चालित कार्यक्रममा त्यसपछि ‘यही माटोमा जन्म्यौ हामी, यही माटोको लागि लड्छौ हामी’ बोलको गीतमा प्रस्तुत गरिएको नृत्यले हिमाल पहाड तराई, मेचीदेखि महाकालीसम्मका आदिवासी, जनजातिहरुको सांस्कृतिक पहिचान झल्कने भेषभुषामा मुक्तिबोधसहितको क्रान्तिकारी सन्देश सञ्चार गरेको थियो । यो गीतमा सामना सांस्कृतिक परिवारका संयोजक असल पाख्रिन, प्रतिभा पौडेल लगायतका जनकलाकारहरुले आकर्षक नृत्य प्रस्तुत गर्नुभएको थियो ।

त्यसपछि सुरिलो स्वरकी धनी नवगायिका अनु शर्माले विदेशिने युवाहरुलाई लक्षित गरी रचना गरिएको ‘मलाई मेरै देशको माया छ, जान्न म त जान्न, मेरो देश छोडेर जान्न’ बोलको गीत प्रस्तुत गर्नुभएको थियो ।
त्यसपछि कार्यक्रममा तराईका थारु कमैया मजदुरहरुको कथा ब्यथामा आधारित थारु भाषाको गीतमा थारुहरुको सांस्कृतिक पहिचना झल्कने भेषभुषासहितको नृत्य प्रस्तुत गरिएको थियो ।

त्यसपछि दशवर्षको जनयुद्धकी स्थापित तथा चर्चित जनगायिका निर्मला घिसिङ र जनगायक आरोह नेपालीले ‘काँडाहरुको बिचमा हाँसेर जीवन फुल्छ’ गीत संयुक्त रुपमा प्रस्तुत गर्नुभएको थियो । त्यस लगत्तै जनगायक अनिश योञ्जनको शब्द, संगीत र स्वरमा ‘तेमाल गाउँ’को बलिदानको गाथा झल्कने तामाङ सेलोमा तामाङ समुदायको सांस्कृतिक पहिचान झल्कने भेषभुषासहितको आकर्षक नृत्य प्रस्तुत गरियो ।

यसपछि जनयुद्धले जन्माएका र पछिल्लो समयका सर्वाधिक चर्चित बहुमुखी प्रतिभाका धनी कलाकार सुवोध गौतमले दर्जनौ नेताहरुको क्यारिकेचर गरेर चोटिलो व्याङग््य प्रहार गर्नुभयो । हललाई उपस्थित पंक्तिलाई मज्जाले हँसाउनु भयो । उहाँको प्रस्तुतिमा यथास्थितिमाथिको चोटिलो ब्याङ्ग्य र क्रान्तिकारी परिवर्तनप्रतिको आशावाद व्यक्त भएको थियो ।

त्यसपछि ‘सालैज्यूको भाका’मा अर्को क्रान्तिकारी गीतमा सुन्दर नृत्य प्रस्तुत गरियो । यो प्रस्ुतति लगत्तै जनयुद्धले जन्माएका र पछिल्लो समयका जनप्रिय जनगायक रमण थामी र अर्को सामना परिवारका संयोजक समेत रहेका आरोह नेपालीले सुदुर पश्चिमको छलिया भाषामा लिम्पियाधुरा, लिपुलेक र कालापानीमाथि भारत र चीनले गरेको अतिक्रमणका विरुद्धमा लेखिएको देशभक्तिको भावनाले ओतप्रोत गीत प्रस्तुत गर्नुभयो ।

यसपछि अभिनय कलाका धनी चर्चित जनकलाकार रक्तिम अभियानका अध्यक्ष नारायण शर्माले पुजा गीति नाटकको एक अंश प्रस्तुत गर्नुभयो । रोजीरोटीको लागि बाध्यतावश विदेशिएका नेपालीहरुलाई सामन्ती शासकहरुको अत्याचारका विरुद्धको विद्रोहमा होमिन आव्हान गरिएको क्रान्तिकारी गीति नाटक जीवन्त अभिनयका साथ प्रस्तुत गर्नुभयो । त्यसपछि टप्पा भाकाको क्रान्तिकारी गीतमा आकर्षक नृत्य प्रस्तुत गरियो ।

र, अन्त्यमा क्रान्तिकारी जनवादी गीतका धरोहरका रुपमा रहेका चर्चित एवम् स्थापित जनगायक जीवन शर्माले ४० वर्ष अगाडि रचना गर्नुभएको ‘सिमली छायाँमा बसी…’ र ४ वर्षअघि रचना गरिएको ‘बाटो मुस्कुरायो’ गीत प्रस्तुत गर्नुभयो । यो गीतमा मञ्च र हलमा पनि दर्शकहरु मज्जाले नाचेका थिए  ।

यो जनसांस्कृतिक कार्यक्रममा सत्तारुढ एमाले बाहेकका अन्य वामपन्थी तथा क्रान्तिकारी पार्टीका नेता कार्यकर्ताहरुको बाक्लो उपस्थिति रहेको थियो । कार्यक्रममा क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका कार्यवाहक महासचिव सीपी गजुरेल गौरव, स्थायी समितिका सदस्यहरु रामसिंह श्रीस, सन्तबहादुर नेपाली, हेमन्तप्रकाश ओली, सल्लाहकार अध्यक्ष गोविन्द सिंह थापा, इच्छुक प्रतिष्ठानका अध्यक्ष हिरामणि दुःखी लगायत ठूलो संख्यामा नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो । त्यसैगरी नेकपा (मसाल)का महामन्त्री मोहन विक्रम सिंह, राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेल लगायतका नेताहरुको पनि उपस्थिति रहेको थियो ।