अगस्ट १४को भयाबह त्रासदी र भारतमा मनाइने १५ अगस्ट

अगस्ट १४को भयाबह त्रासदी र भारतमा मनाइने १५ अगस्ट

लोकनारायण सुबेदी

 

 

भारतले भर्खरै १५ अगस्टका दिन स्वतन्त्रता दिवस मनायो । तर त्यस दिनभन्दा एक दिन अगाडि भारतमा जे जस्तो त्रासद र भयावह घटना घट्यो त्यस बिभिषिकालाई  भारतीय जन मानसलाई बिर्सन नसकिने चोट पुर्याएको छ । हुन पनि १४ अगस्ट १९४७ को दिन एकातिर स्वतन्त्रताको उल्लास र गौरबको दिनको रुपमा पनि लिइन्छ भने अर्कोतिर अबर्णनीय त्रासदीको साक्षी बनेको दिनकोरुपमा पनि लिइन्छ । त्यस दिनलाई भारतमा देशको मात्र होइन मन, सम्वन्ध र मानबीयताको पनि बिभाजनको पीडा बोकेको दिनकोरुपमा पनि लिइन्छ । त्यस दिन वास्तवमा लाखौंको जीवन एक पलमा उजाडियो । हाँसी खुशी रहेका घर परिवारहरु मौन चीसो मृत्युका खण्डहरमा परिणत हुन पुगे । चुलबुले बाल बच्चाह रमाएर परस्पर नोकझोक गरेर खेल्ने गल्ली र बाटाहरु रक्त रञ्जित र चित्कारपूर्ण कोलाहलमा परिणत भए । वास्तवमा भारतबर्षको त्यो बिभाजन कागजको नक्शाका रेखाहरुसम्म मात्र सीमित रहेको थिएन, त्यसले मानिसहरुको मनमा यस्ता बिभाजनको गहिरो खाडल बनाइदिएको थियो जुन अहिलेसम्म पनि दुःखको घाउ बनेर उकुच पल्टिएको प्रतीत हुन्छ ।

बास्तवमा त्यस भयावह त्रासदीले करोडौं मानिसहरुलाई उनीहरुको जगबाट नै उखेलेर फालिदिएको थियो । त्यतिबेला झण्डै डेढ करोड जति मानिसहरु आफ्नो जन्म भूमि छोडेर अपरिचित बाटोमा भौतारिन बाध्य पारिएका थिए । त्यतिबेला पञ्जाब,सिन्ध, बंगाल हरेक क्षेत्रका बेघर बनेका मानिसहरु आफ्नो खतेबारी र आफ्ना सपनाहरु छाडेर भाग्नु परेको थियो । कोही अमृत शहरबाट लाहोरतिर त कोही कराँचीबाट दिल्ली या बम्बईतिर । बाटोमा न खाना, न पानी न सुरक्षा नै केही पनि थिएन । कुनै बेला जीवन्त जीवन दौडाउने रेलहरुको गति त्यतिबेला लासै लासको भारी बोक्ने माध्यम बनेको भारतीय  इतिहासका ज्ञाताहरु बताउँदछन् ।उनीहरु भन्दछन् कि १० देखि १२ लाख मानिसहरु त्यतिबेला हिंसा, भोक र बिमारीकाको बली चढ्न बाध्य भए । रेलका पटरीहरुमा लासको डंगुर  रहेको थियो देखिन्थ्यो भने नदी नालाहरु रगतले रातो बनेका  थिए । यो त्यस्तो दुर्दान्त अबस्था थियोे त्यसले स्वतन्त्रताको खुशीलाई अस्वीकार्य शोकमा यसरी डुबाइदिएको थियो । वास्तवमा त्यो देश बिभाजनको तथ्यांकको एउटा कहानी मात्र थिएन, यो ती प्रत्येक मानिसहरुको ब्यक्तिगत त्रासदी थियो जसले आफ्नो परिवार, घर र पहिचान नै गुमाएका थिए । बुढा पाकाहरुले आफ्ना सन्तानलाई जोगाउन सकेसम्म जोखिम उठाइरहे । महिलाहरु भय र असुरक्षाको छायामा बाँच्न बाध्य थिए । बाल बच्चाहरु जो भर्खर संसारलाई बुझ्न शुरु गर्ने उमेरमा पुगेका थिए ती रातरात अनाथ बन्न पुगेका थिए । छिमेकीहरु जो हिजोसम्म एक अर्कोको दुःख सुखमा साथ थिए आज एक अर्काको रगतको प्यासो बन्न पुगेका थिए । हिंसाले शरीरलाई मात्र होइन मुटु र मनलाई पनि रक्तरञ्जित तुल्याइदिएको र तुल्याइरहेको थियो ।

भरतमा त्यस त्रासदीको सबैभन्दा हृदयबिदारक सत्य के थियो भने त्यो अचानक एकाएक उत्पन्न  भएको कुरा बिल्कुलै थिएन । बर्षौंदेखिका सामाजिक, राजनीतिक तथा औपनिवेशिक नीतिहरुले भारतीय समाजमा यस्तो खाडल बनाई दिएको थियो त्यो समय बित्दै जाँदा अझ बिषैलो, तिक्तापूर्ण र गहिरो हुनु पुग्यो । बेलायती शासकको ‘बिभाजन गर र शासन गर’ भन्ने बिभाजकारी घातक नीतिले घृणाको यो बिउ रोपेको थियो । त्यसैको परिणाम १९४७ को १४ अगस्ट त्यस रुपमा आयो । हुन त भारतले १५ अगष्टका दिन तीन रंगे झण्डा उठाएर स्वतन्त्रताको गाना गायो तर ४ अगष्टका दिन राती नै भारत बर्षका  लाखौं जीवनहरुलाई अध्यारोमा  डुबाइसकेको थियो । भारतीय स्वतन्त्रताको क्रूर र कष्टकारी मूल्य थियो त्या्े । जसलाई कसैले पनि चुकाउन चाहेको थिएन ।

यद्यपि त्यस घोर त्रासद अध्यारोमा पनि मानबताका आशाका किरण चम्किए जसले सबै कुरा गुमाए पनि तिनले हार भने मानेन् । दिल्ली, मुम्बई, अमृतसर, कोलकाताका शरणार्थी शिबिरहरुमा बसेर केही लिन नपाईकन खाली हात आएका  मानिसहरुले हिम्मत र मेहनतले  नयाँ जीवन बुन्न शुरु गरे । खेत जोत्न थाले, दोकानहरु खोल्न थाले, बाल बच्चाहरुलाई पठन पाठन गराउन थाले र समाजमा आफ्नो स्थान बनाए । यो उनीहरुको अखण्ड इच्छाशक्तिको प्रमाण हो, थियो, जसले केवल उनीहरुको मात्र होइन, आउदा पिढीहरुको भबिष्यलाई पनि सजाएका थिए । तर तिनको मनमा यो प्रश्न जीवनभरी उठिनै रह्यो कि त्यो सबै रक्तपात र कत्लेआम किन भएको थियो ? त्यस असैह्य पीडाको जिम्मेवार को थियो ?यसै अनुत्तरित प्रश्नका  कारणले नै आज भारतमा १४ अगष्टका दिनलाई ‘बिभाजन बिभिषिका दिवस’कोरुपमा मनाउन आवश्यक छ भन्ने माग पनि उठिरहेको छ । यो दिन केवल अतितका घाउहरुमा मल्हम लगाउनका लागि मात्रै होइन, त्यस्ता घटनाहरुबाट सही शिक्षा लिने महत्वपूर्ण दिनका लागि  पनि यस्तो माग भइरहेको बताइन्छ हो । त्यसले सिकाउँदछ कि धर्म, जाति, या भाषाको नाममा पर्खाल  खडा गर्दा त्यसले मानबतालाई कति कमजोर तुल्याउँदछ । त्यसले सम्झना पनि गराउँदछ कि स्वतन्त्रको सही अर्थ त्यतिबेलामा मात्र साकार हुनसक्छ जब समाजमा परस्पर  एक अर्कासँग भाइचारा र सम्मानका साथ रहने बस्ने स्थिति र धरातल  बन्दछ । यस यथार्थ कुराले हामीलाई सम्झना गराउँदछ कि स्वतन्त्रताको सही अर्थ पनि त्यसो गरेपछि मात्र साकार होला – जतिबेला एक अर्कोसँग भाइचारा तथा सम्मानकासाथ बस्ने धरातल बन्छ । आज पनि भारतीय प्रगतिशील शक्तिहरु भन्ने गरिरहेका छन् कि  आज १४ अगष्टलाई सम्झनु केवल शोकको रीति रिवाज पूरा गर्नु मात्र पनि होइन । त्योभन्दा प्रबल प्रेरणा हो एउटा यस्तो भारतको निर्माण गर्ने कुरा जहाँ मतभेदहरु सम्बादबाट सुल्झिउन् ,अनि हरेक जन सँस्कृति र बिश्वासको सम्मान होस् । यस १४ अगस्टको दिनले चेतावनी दिन्छ कि स्वतन्त्रता त्यतिबेला मात्र सार्थक हुन्छ जब भारत एकजुट रहन्छ । बिभाजनको भयावह त्रासदीलाई स्मरण   गराउने कार्यक्रम, प्रदर्शनीहरु, मौन जुलुस, साहित्यिक चर्चाहरु केवल औपचारिकतामा सीमित तुल्याउने होइन ती लाखौं बलिदानी आत्मलाई सच्चा श्रद्धाञ्जली हुनु पर्दछ जसले आफ्नो घर, सपना र जीवन गुमाए । १४ अगष्टको दिन एउटा दर्पण हो जसले भारतको अतीतको त्रासदीलाई उजागर गर्दछ र भबिष्यका लागि गहन शिक्षा दिन्छ ।अनि के चेतावनी पनि दिन्छ भने यदि एकता र सद्भावलाई कायम राखिदैन भने त्यो इतिहासको बिभिषिका पुनः फर्किन सक्छ । अहिले के जिम्मेवारी यस सन्दर्भमा हुन्त भने यो इतिहासको पीडालाई केवल स्मृतिमासम्म सीमित नगरेर यसलाई आफ्नो बिचार र कर्ममा ढालिनु पर्दछ जसले गर्दा  भावी पिढीले यस्तो त्रासदी पुन भोग्नु नपरोस् । ‘बिभाजन बिभिषिका स्मृति दिवस’केवल एउटा तारिख मात्रै होइन, यो एउटा दृढ संकल्प  पनि हो भारत निर्माणको यस्तो संकल्प कि जहाँ हरेक ब्यक्तिले भेदभावरहीत सम्मान तथा स्वतन्त्रतासाथ बाच्न सकोस्  । उनीहरु यस दिनले के सिकाउँदछ भन्दछन् भने स्वतन्त्रताको उत्सब त्यतिबेलामा मात्र सार्थक हुनेछ जब हामीले एक अर्काको दुःख दर्दलाई सम्झन र बुझ्न सक्छौ र त्यसलाई कम गर्ने ठोस पहल र प्रयत्न गर्दछौं । घृणाको आगोले त केवल खरानी मात्र बाँकी छोड्छ अनि प्रेम र एकताको बिउले नै एउटा सम्बृद्ध, शक्तिशाली राष्ट्र उदाउँदछ । यो १४ अगष्टलाई केवल सम्झना गर्ने कुरा मात्र होइन, यस दिनलाई त एउटा अझ राम्रो एकजुट र अझ समृद्ध  भारत बनाउनका लागि कदम उठाउने अवसर पनि हो