क्रान्तिकारी दलित मुक्ति मोर्चा, नेपाल जिल्ला कमिटी गठन

क्रान्तिकारी दलित मुक्ति मोर्चा, नेपाल जिल्ला कमिटी गठन

 

काठमाडौं । क्रान्तिकारी दलित मुक्ति मोर्चा, नेपालले १७ सदस्यीय काठमाडौं जिल्ला कमिटी गठन गरेको छ । गत साउन ३० गते काठमाडौंको सेतोपुलस्थित इच्छूक प्रतिष्ठानमा सम्पन्न प्रथम भेलाले नयाँ नेतृत्व चयन गरेको हो ।

जिल्ला कमिटीमा रुपेश रम्तेल संयोजक चयन हुनुभएको छ । सदस्यहरुमा बेदराज दियाली, राजु मंग्राती, सिमा नेपाली, श्याम परियार, पनिलाल राम, टंक लकान्दी, बलराम तोलाङ्गे, सिताराम परियार, पुष्कर रोका, रेश्मा विश्वकर्मा, प्रदिप परियार, आर्य नेपाली, राजेश नेपाली र भुवन परियार रहेका छन् । बाँकी दुई सदस्य पछि थप गर्ने मोर्चाले जनाएको छ ।

भेलामा क्रान्तिकारी दलित मुक्ति मोर्चा, नेपालको केन्द्रीय संयोजक टेक बहादुर विश्वकर्मा प्रमुख अतिथि रहनुभएको थियो । त्यस्तै, क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको केन्द्रीय सदस्य तथा पार्टीको जिल्ला सचिव प्रकाशको विशेष आतिथ्यता र मोर्चाको केन्द्रीय कार्यालय सदस्य शोभा विश्वकर्माको उपस्थिति रहेको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि टेक बहादुर विश्वकर्माले दलितमाथिको उत्पीडन अन्त्य गर्न लोकतान्त्रिक गणतन्त्रात्मक राज्य व्यवस्था असफल भएको आरोप लगाउनुभयो । उहाँले नेपालको संविधान २०७२ मा समेटिएका दलित अधिकारहरु जनतामाझ भ्रम फैलाउने उद्देश्यले मात्र राखिएको टिप्पणी गर्नुभयो । “दलित समुदायमाथिको ऐतिहासिक अन्याय, सामाजिक बहिष्कार, संरचनागत विभेद र राज्यपोषित उत्पीडन हटाउने इच्छाशक्ति वर्तमान व्यवस्थासँग छैन । संविधान जारी भएको दस वर्ष पुग्दासम्म पनि दलित अधिकार कार्यान्वयन हुन नसक्नु विडम्बना हो । संविधानमा तीन वर्षभित्र कानुन बनाएर लागू गर्ने बाध्यकारी व्यवस्था थियो, तर आजसम्म कार्यान्वयन हुन नसकी म्याद गुज्रिसकेको छ,” संयोजक विश्वकर्माले भन्नुभयो ।