‘दलितको समस्या राष्ट्रिय समस्या हो, संघीय जनगणतन्त्रले मात्रै ती समस्या समाधान गर्छ’

‘दलितको समस्या राष्ट्रिय समस्या हो, संघीय जनगणतन्त्रले मात्रै ती समस्या समाधान गर्छ’

कठमाडौं । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका कार्यवाहक महासचिव सीपी गजुरेल गौरवले दलितका समस्या राष्ट्रिय समस्या भएको भन्दै संघीय जनगणतान्त्रिक व्यवस्थामा मात्रै ती समस्या समाधान हुने बताउनु भएको छ । आज (बुधबार) “उत्पीडित दलित समुदायको न्याय, समानता र अधिकार सुनिश्चित गरौं !, नयाँ जनवाद हुँदै वैज्ञानिक समाजवाद स्थापनाको क्रान्तिकारी यात्रामा अघि बढौं” भन्ने मुल नाराका साथ उद्घाटन गरिएको दलित जागरण जनयात्रा अभियानलाई सम्बोधन गर्दै यस्तो बताउनु भएको हो ।

क्रान्तिकारी दलित मुक्ति मोर्चा नेपालले काठमाडौँ महानगरस्थित भुगोल पार्क पिपलवोटमा जागरण जनयात्रा अभियान उद्घाटन गरेको हो । अभियानको उद्घाटन क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका कार्यबाहक महासचिव सीपी गजुरेलले मोर्चाको झण्डा अभियान दललाई हस्तान्तरण गरी गर्नु भएको थियो ।

उहाँले वर्गसंघर्षबाट आमुल परिवर्तनपछि प्राप्त हुने संघीय जनगणतन्त्रबाट मात्रै दलितका समस्या समाधान हुने भएकोले यो अभियान त्यही उद्देश्यसित जोडेर अगाडि बढाउन पनि अनुरोध गर्नुभयो ।

उक्त कार्यक्रममा आदिवासी जनजाति महासंघका अध्यक्ष पवनमान श्रेष्ठले नेपालमा केन्द्रीकृत सामन्ती राज्य स्थापनापछि वैदिक वर्ण व्यवस्था लादेपछि दलित समस्या देखापरेको कुरा चर्चा गर्दै जति जति समाज विकसित हुँदै गयो, यो समस्या झन झन पेचिलो र जटिल बनेको छ भन्नु भयो । पछिल्लो जनगणनाअनुसार कुल जनसंख्याको १३% जनसंख्या रहेको दलितहरुको मुक्तिको लागि बिशेष अधिकार दिएर गैरदलित सरह अधिकार सम्पन्न गरेर मात्रै उनीहरुको अवस्थामा सुधार ल्याउन सकिने बताउनु भयो । अधिकार प्राप्त गर्न जनवादी क्रान्ति सम्पन्न गर्नुपर्ने पनि बताउनु भयो ।

अर्का वक्ता क्रान्तिकारी किसान महासंघका अध्यक्ष सिताराम तामाङले एशियामा जब वैदिकहरुको प्रवेश भयो र राज्य सत्ता बनाउदै गएपछि खानि र उत्पादनमा लागेका श्रमिक हरुलाई दलित बनाएर सुरु गरेको कुरा चर्चा गर्दै जति जति हिन्दू राज्यसत्ता बलियो र बिस्तार हुँदै गयो त्यति त्यति दलितहरु बिच विभेदीकरण बढ्दै गएको बताउनु हुदै सरकारले ल्याउन लागेको भुमि बैंकबाट अलि अलि जमिनसंग जोडिएको दलितहरुलाई पनि जमिनबाट सम्बन्ध छुटाउने प्रयास भएकोले त्यो मुद्दालाई पनि जोडेर लान अनुरोध गर्नुभयो ।

क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका स्थायी समिति सदस्यसन्त बहादुर नेपालीले जागरण जनयात्रा व्यपक जनसहभागिता सहित सफलताको शुभकामना दिदै सरकारले सामान्य सुधारका केही कानुन बनाए पनि त्यो लागु भएको छैन भन्दै मुक्ति पाउन त सारा दलित समुदाय नजागी हुदैन । त्यसैले जागरण अनिवार्य भएको चर्चा गर्दै सानातिना सुधार संगसंगै आमुल परिवर्तनको अभियान संग जोडेर लान अनुरोध गर्नुभयो । क्रान्तिकारी दलित मुक्ति मोर्चा नेपालका केन्द्रीय संयोजक टेकबहादुर बिकको अध्यक्षतामा उद्घाटित समारोहको सञ्चालन मोर्चाको केन्द्रिय कार्यालय सदस्य शोभा सेन्चुरीले गर्नुभएको थियो भने स्वगत मन्तव्य अर्का कार्यालय सदस्य रोशन विशंखेले राख्नुभएको थियो ।