सिर्जना र संवादको बाह्रौँ शृङ्खला सम्पन्न

सिर्जना र संवादको बाह्रौँ शृङ्खला सम्पन्न

समाचार

काठमाडौं १८, साउन
इच्छुक प्रतिष्ठानद्वारा हरेक महिनाको तेस्रो शनिबार सञ्चालन हुँदै आएको ‘सिर्जना र संवाद’ कार्यक्रम हिजो शनिबार सम्पन्न भएको छ । कुनै पनि सिर्जना र विषयमाथि चर्चा परिचर्चा गरिँदै आएको यस कार्यक्रमको बाह्रौ शृङ्खलामा कवि धनेश्वर पोख्रेलको कवितासङ्ग्रह ‘बन्दुकले विश्राम लिएपछि’ माथि चर्चा गरिएको थियो । प्रगतिवादी कवि पोख्रेलको कृतिमाथि विशिष्ट समालोचक/समीक्षकदेखि पाठक तथा स्रोताहरूले पनि समीक्षात्मक धारणा राखेका थिए ।

पुस्तकमाथि बोल्दै मार्क्सवादी सौन्दर्यचिन्तक प्रा.डा. जगदीश चन्द्र भण्डारीले कवि पोख्रेल कवि मात्रै नभएर कवि सिपाही भएको र कवि सिपाहीले आफ्ना कविता मार्फत युद्ध नायकले बन्दुक बिसाएर क्रान्तिप्रति गद्दारी गरेकामा उद्धेलित हुँदै कविताका माध्यमबाट आक्रोश व्यक्त गरेको कुरा बताउनु भयो । उहाँले ऐतिहासिक परिदृष्यलाई पाठक सामु सरल ढङ्गले प्रस्तुत गरेका कविले क्रान्तिको यात्रा पूरा गर्न पुनः नयाँ शिराबाट युद्ध थाल्नुपर्ने विषयको उठान पनि गरेका छन् भन्दै आफ्नो धारणा व्यक्त गर्नुभयो ।

अर्का वक्ता कवि मित्रलाल पंज्ञानीले पुस्तकको रूप पक्ष र भाव पक्षको सारमा समीक्षा गर्दै बन्दुकसँगको यात्रा र बन्दुक बिसाएपछिको यथार्थ पस्किएका कविताहरूमा क्रान्तिप्रतिको प्रतिबद्धता प्रकट भएको बताउनु भयो ।

पुस्तक माथि समीक्षा गर्दै समीक्षक तेजविलास अधिकारीले दस वर्षे जनयुद्धको दस्तावेजका रूपमा यो सङ्ग्रह आएको कुरा बताउँदै बन्दुकको मूल्य र भावको वरिपरि केन्द्रीत रहेर रचना गरिएका कविताहरूले युद्धप्रतिको स्वाभिमान, श्रद्धा र निष्ठालाई संगठित गरेको कुरा बताउनु भयो ।

त्यस्तै गरेर डा. नन्दीश अधिकारी र मंगल विश्वकर्माले पनि कवितामाथि मन्तव्य व्यक्त गरेका थिए भने कवि आस्था घिमिरे र सुनिता देवकोटाले सङ्ग्रहभित्रबाट मन परेको कविता मन पर्नुका कारणसहित क्रमशः ‘जीवन’ र ‘सुनसरा’ वाचन गरेर सुनाएका थिए ।

संयोजक गौरी देवकोटाद्वारा सञ्चालित उक्त कार्यक्रममा बिम्बको प्रयोग गर्दा शिकारी जन्तु र पर्यावरण बीचको अन्तर्सम्बन्ध र असर बारे पनि कविहरूले ध्यान पुर्‍याउनु पर्ने विषयमाथि छलफल चलेको थियो । अन्त्यमा लेखकको छोटो मन्तव्यपछि कार्यक्रम समापन गरिएको थियो ।