काठमाडौं । कमरेड पुष्पलाल श्रेष्ठको शतवार्षिकी तथा ४७ आौं स्मृति दिवस समारोहलाई सम्बोधन गर्दै क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका स्थायी समिति सदस्य हरिभक्त कडेलले जनवादी क्रान्तिको खुड्किलो पुरा गरेर मात्रै पुष्पलाल श्रेष्ठको सच्चा सम्मान हुने विचार व्यक्त गर्नुभएको छ । उहाँले भन्नुभयो, “छरिएर रहेका सम्पूर्ण क्रान्तिकारी हरुलाई एकताबद्व बनाउँदै जनवादी क्रान्तिको खुटकीलो पुरा गरेर मात्रै कामरेड पुष्पलाल श्रेष्ठको क्रान्तिकारीपन, निष्ठा, त्याग, योगदान र श्रमजीवी वर्गप्रतिको समर्पणको सम्मान हुनेछ ।”
कार्यक्रमको प्रमुख अतिथिको रुपमा मन्तव्य राख्दै नेता हरिभक्त कडेलले कामरेड पुष्पलालले नेपाली कम्युनिष्ट आन्दोलनमा पुर्याउनु भएको योगदानको अतिशयोक्ति वा अवमुल्यन दुवै अति अत्यन्तै गलत छ भन्दै त्यसमा क्रान्तिकारीहरुले सतर्कता अपनाउनु पर्ने पनि बताउनु भयो ।
उहाँले भन्नुभयो, “कमरेड पुष्पलाल निजी लाभ र प्रतिष्ठाको पछि नलागी जीवनको आखिरी समयसम्म क्रान्तिकारी रहिरहनु भयो। उहाँको त्यही निष्ठा नै आजका नयाँ पिँढीलाई प्रेरणादायी शिक्षा बनेको छ।”
उहाँले अगाडि भन्नुभयो, “२००६ सालमा गठित पार्टीको महामन्त्रीबाट २००८ सालमा हटाईनु र त्यसपछि पार्टीले रंग फेर्दै जानु, पार्टी करिब बिघटन जस्तै बन्नु फेरि छरिएर रहेका हरुलाई जम्मा गरेर जनवादी क्रान्तिको कार्यक्रम तय गरेर अगाडि बढ्नु निकै चुनौतीपूर्ण थियो। तर झापा आन्दोलनका नेतृत्व, चौथो महाधिवेशन को नेतृत्व र पुष्पलाल को एउटै जनवादी क्रान्तिको कार्यक्रम हुँदा हुँदै पनि मिल्न नसक्नु नै आज सम्म जनवादी क्रान्ति पुर्ण नहुनु हो भन्ने दावी गर्नुभयो।”
काठमाडौं कोटेश्र्वरस्थित खड्का पार्टी प्यालेसमा राष्ट्रिय क्रान्तिकारी मोर्चा नेपाल र कामरेड पुष्पलाल जन्म शतवार्षिकी राष्ट्रिय समारोह समितिले संयुक्त आयोजनामा आयोजित कार्यक्रममा आफ्नो धारणा राख्ने क्रममा उहाँले हिजो एसिसी पास गरी साम्राज्यवादको दलाली गर्ने पार्टीलाई एसिसी पारित गरेकोमा जनतासँग माफी माग्ने र जनवादी क्रान्तिको खुटकीलो पुरा हुन बाँकी रहेको स्वीकार्ने शर्तमा मात्रै एउटै मोर्चामा रहन सम्भव हुने कुरा स्पष्ट रुपमा राखिएको बताउनु भयो । उनीहरु क्रान्तिकारी धारालाई मिल्नै नदिएर कमजोर कसरी बनाउन सकिन्छ भनि सवै आ–आफ्नो ठाउँबाट लागिरहेको पनि आरोप लगाउनु भयो ।
कार्यक्रममा जनवादी मोर्चाका मोहन लिम्बू, प्रतिरोध जनअधिकार आन्दोलनका शैलेस पौडेल, अखिल नेपाल कम्युनिष्ट पार्टीका लक्ष्छुमण उप्रेती, नेकपा माक्र्सवादीका अध्यक्ष मान ध्वज गुरुङ, नेकपाका सचिव राम दुलाल महत्तो लगायतले पुष्पलालको योगदान र नयाँ जनवादी क्रान्तिको आवश्यकताको विषयमा चर्चा गर्नुभएको थियो । ले जति सिता सुवेदी ‘क्रान्तिका लागि अटुट आशा तिमीले जगायौ’ भन्ने शिर्षक गीती कविता वाचन गर्नुभएको थियो । कार्यक्रम नेकपाका नेता लोकनारायण सुवेदीले सञ्चालन गर्नुभएको थियो भने कार्यक्रमको सभापतित्व नेकपाका अच्युत ज्ञवालीले गर्नुभएको थियो।































