सहिदसँग गुनासो

सहिदसँग गुनासो

कविता

सँगसँगै त थियौँ नि
अधिकार प्राप्तिको यात्रामा
जोरेर हिँडेका हौं काँधमा काँध
उठाएकै हौं साथैमा मुठ्ठी आकाशतिर
घनकाएकै हौं जोडजोडले इनकलावि नारा सँगसँगै
बलिदानको सङ्कल्पमा पनि को थियो र अघि र पछि ?

फेर्न त फेरियो बराजुको आँगनमा मात्र घाम उदाउने मन्त्र
लगाउन त लगाइयो अलिकति किनारामा
सदियौंसम्म हाम्रा बाका काँधमा नारिएको परम्पराको जुवा
र पनि कुन्नि किन हो ? जोख्न मन लाग्छ यतिखेर
हाम्रो सङ्कल्प, बल, बलिदान
र प्राप्तिको हिसाबकिताब ।

एक्लै एक्लै हुन्छु नि जब, तिम्री भतिजीले अडेस दिएको बेला
एक तमासले गाइरहेको सुनेर चराहरूको चिरबिर
झल्झली नाच्छन् तिम्रा र मेरा कथा
ढल्न त ढलेका थियौँ रे दुवै सँगसँगै
मेरो कम्मर छेडेछ, तिम्रो छाति
फरक यत्ति त हो नि, होइन र ?
परिणाममा कत्रो विभेद ! है ?
तिमीले पायौ मान, हामी बाँचेकाले भुक्तमान
तिमी भयौ स्वतन्त्र, हामी पारियौँ अलपत्र
ठडियौ तिमी चोकमा
र फेरियो चिनारी चोकको तिम्रो नाममा
पाक्दै छन् घाउ हाम्रा, टेक्नुपर्छ बैशाखी अझैं
तिमीले पायौ कोटा चुक्ताको अवसर
चाहिँदाका भाँडा मात्र बनेछौं सायद
केही साथीहरू त अट्टालिकाबाट हेर्छन् रे ठूलाठूला नियुक्तिहरू
हाम्रो भागमा चाहिँ न गास न बास, न घर न घाट ?

सँगसँगै त थियौँ नि
अधिकार प्राप्तिको यात्रामा
जोरेर हिँडेका हौं काँधमा काँध
उठाएकै हौं साथैमा मुठ्ठी आकाशतिर
र, यतिखेर म फेरि सङ्कल्प गरेर तिम्रो
यात्रामा छु अधुरो सपना पूरा गर्ने ।

(२०८२/३/४ घोराही १८ नवलपुर, दाङ।