काठमाडौं/२७ जेठ
क्रान्तिकारी किसान महासङ्घ, नेपालले यही जेठ ३० गते सरकारले अगाडि सारेको भूमिबैंक सम्बन्धी नीतिका बारेमा प्रवुद्ध वर्ग, किसान आन्दोलनका अगुवा नेताहरू त्था कृषि विज्ञहरूसँग अन्तरक्रिया गर्ने भएको छ ।
ओली सरकारले आ.व. २०८२/०८३ को नीति तथा कार्यक्रममा भूमिबैंक सम्बन्धी अवधारणा अगाडि सारेपछि नेपालका वास्तविक किसानहरू तथा कृषियोग्य जमिन जोतभोग गर्दै आएका किसानहरूमा त्यसले ठूलै तरङ्ग ल्याएको छ । ‘सरकारको यो भूमिबैंक सम्बन्धी अबधारणाले साना ठूला किसानहरूका जमिन सरकारले अधिकरण गर्ने र उनीहरूलाई आफ्नो सम्पत्तिबाट बेदखल गरेर सुकुम्वासी बनाउने तथा दलालका रुपमा रहेका सीमित बहुराष्ट्रिय कम्पनीका मालिकहरूलाई पोस्ने योजना भएको’ उक्त किसान महासङ्घका महासचिव धनेश्वर पोखरेलले बताए । यो नीतिका बिरुद्ध केही समय अगाडि सरकारको विपक्षमा रहेका पार्टी सम्बद्ध किसान सङ्गठन र क्रान्तिकारी किसान महासङ्घले संयुक्त रुपमा आन्दोलन गर्ने सहमति जनाएका छन् ।
यस विषयमा यहि जेठ ४ गते ६ वटा किसान सङ्गठनहरूले पत्रकार सम्मेलन गरि आन्दोलन गर्ने सहमति गरेका थिए । जेठ ३० गते काठमाडौंको बागबजार स्थित होटेल हार्दिकको सभाहलमा दिनको १२ बजे क्रान्तिकारी किसान महासङ्घ नेपालले अन्तरक्रिया कार्यक्रम गर्ने भएको हो ।
सो अवसरमा उक्त सङ्गठनका केन्द्रीय अध्यक्ष सीताराम तामाङले एक अवधारणापत्र प्रस्तुत गर्ने र सो अवधारणामाथि विज्ञहरूले टिप्पणी गर्ने जनाइएको छ । उक्त कार्यक्रममा उपत्यकामा रहनुभएका विभिन्न राजनीतिक दलका नेता कार्यकर्ता तथा किसान सङ्गठनका अगुवाहरू, बुद्धिजीवी, पत्रकारहरूलाई उपस्थितिका लागि आह्वान गरिएको छ ।




























