एकसाथ मे दिवस र जनसम्बन्ध विस्तार अभियान समारोह सम्पन्न : ‘अभियान पार्टी र पार्टीका एजेण्डा स्थापित गर्न सफल’

एकसाथ मे दिवस र जनसम्बन्ध विस्तार अभियान समारोह सम्पन्न : ‘अभियान पार्टी र पार्टीका एजेण्डा स्थापित गर्न सफल’

काठमाडौं । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले एकसाथ १३६ औं मे दिवस र डेढ महिना लामो ‘जनसम्बनध विस्तार अभियान’ समापन समारोह सम्पन्न गरेको छ ।

पार्टीका कार्यवाहक महासचिव सीपी गजुरेल गौरवको अध्यक्षता र पार्टी पीवीएम चन्द्रहरि सुवेदीको सञ्चालनमा सम्पन्न कार्यक्रममा चारवटा केन्द्रीय अभियान टोलीको तर्फबाट क्रमशः स्थायी समिति सदस्यहरु रामसिंह श्रीस, सन्तबहादुर नेपाली, कृष्ण पौडेल र हेमन्तप्रकाश ओलीले अभियानको बारेमा अनुभूतिजन्य मन्तव्य राख्नुभएको थियो ।

उहाँहरुले करिब ३० लाख जनतामा पार्टीको प्रचार पुगेको, हजारौं ठाउँमा वालपेन्टिङ र पर्चा वितरण गरेको, करिब ५ सयभन्दा बढी स्थानमा कोणसभा गरेको, अन्तरक्रिया, जनभेटघाट, जनश्रम, पत्रकार भेटघाट, मिडियामा दिइएको अन्तर्वार्ता लगायतका कार्यक्रमहरुमार्फत् लाखौ जनतामा पार्टीको नाम र एजेण्डा स्थापित गर्न अभियान सफल भएको भनाइ व्यक्त गर्नुभएको थियो ।

अभियानको बारेमा समीक्षा गरेर एउटा संश्लेषण गरी पुनः जिल्ला केन्द्रित सांगठानिक अभियानहरु सञ्चालन गर्नुपर्ने आवश्यकतामाथि जोड दिनुभएको थियो ।


चारवटै टोलीका नेताहरुले राखेको रिपोटिङ मन्तव्यपछि कार्यवाहक महासचिव सीपी गजुरेलले अभियानबाट नेपालको राजनीतिमा अग्रगामी र क्रान्तिकारी वैकल्पिक धारको पनि अस्तित्व रहेछ भन्ने यथार्थलाई स्थापित गर्न सफल भएको विचार व्यक्त गर्नुभयो ।

उहाँले आफ्नो पार्टीले प्रतिगामी र यथास्थितिवादका विरुद्ध अग्रगामी तथा क्रान्तिकारी विकल्पको रुपमा अगाडि सारेको ‘संघीय जनगणतन्त्र’को विषयलाई बहसको विषय बनाउन अभियान सफल भएको र आगामी दिनमा यो एजेण्डालाई अझ जनताको घर घरमा पु¥याउने गरी कार्यक्रमहरु तय गर्नुपर्ने भनाइ राख्नुभयो ।

उहाँले लोकतान्त्रिक बुर्जुवा गणतन्त्र भएको, यसले दलाल पुँजीपतिवर्ग र साम्राज्यवादी शक्तिको मात्र सेवा गर्ने भएकोले जनताको सेवा गर्ने गणतन्त्र ‘जनगणतन्त्र’ बाहेक अरु नभएको पनि दावी गर्नुभएको ।

संघीय जनगणतन्त्र मात्रै वास्तविक अर्थमा समाजवाद उन्मुख गणतन्त्र भएको चर्चा गर्दै अहिले लोकतान्त्रिक गणतन्त्रको संविधानलाई समाजवाद उन्मुख भनेर यथास्थितिवादी संसदवादी दलहरुले जनतालाई भ्रमित तुल्याएको स्पष्ट पार्नुभयो ।

राजतन्त्र र लोकतान्त्रिक गणतन्त्र परीक्षणबाट असफल साबित भइसकेकोले अब सिंगो मुलुक जनगणतन्त्रको एजेण्डामा अगाडि बढ्नुपर्ने र अब संघीय जनगणतन्त्रको पक्षमा व्यापक प्रचार प्रसार गर्नुपर्ने आवश्यकता रहेको पनि बताउनु भयो ।


कार्यक्रममा मई दिवसको महत्वमाथि प्रकाश पार्दै मजदुरहरुको मुक्ति वास्तविक कम्युनिस्ट पार्टी बाहेक अरुबाट सम्भव नभएको विषयमा पनि चर्चा गरिएको थियो ।

कार्यक्रममा अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी)का सहसंयोजक धनेश्वर पोखरेल, क्रान्तिकारी ट्रेड युनियन महासंघका संयोजक इश्वर तिमिल्सिना, क्रान्तिकारी महिला संगठनकी संयोजक अम्बिका मुडभरीले पनि किसान, मजदुर र महिला आन्दोलनमा देखिएका विशिष्ट समस्या र तिनको समाधानका लागि क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको नेतृत्वमा क्रान्तिकारी आन्दोलन अगाडि बढाउनु पर्नेमा जोड दिनुभएको थियो ।


कार्यक्रममा पार्टीका कार्यालय सचिव इन्द्रमोहन सिग्देलले स्वागत मन्तव्य राख्नुभएको थियो ।


कार्यक्रममा सामना सांस्कृतिक र रक्तिम सांस्कृतिक परिवारका कलाकारहरुले क्रान्तिकारी गीत तथा नृत्य प्रस्तुत गर्नुभएको थियो भने बरिष्ठ कलाकार नारायण शर्माले बुढो किसान सम्बन्धी ‘अपेरा’ प्रस्तुत गर्नुभएको थियो ।

औपचारिक कार्यक्रम सुरु हुनुपूर्व ¥याली निकालिएको थियो । कुपण्डोलबाट निकालिएको ¥याली थापाथली परिक्रममा गरी पुनः कुपण्डोलमा आइपुगेर औपचारिक कार्यक्रममा परिणत भएको थियो ।


आजै देशका १५ वटै ब्यूरोमा एकसाथ मजदुर दिवस र डेढ महिनादेखि सञ्चालित अभियान सम्पन्न गरिएको छ । १५ वटै ब्यूरोमा ¥यालीसहितका जनप्रदर्शनका कार्यक्रम गरी १३६ औं मजदुर दिवस र अभियान समापन समारोह सम्पन्न गरिएको छ ।