जनआन्दोलनको यथार्थ चित्रण
आज चैत २४, ३६औँ जनआन्दोलन दिवस । २०४६ सालको चैत २४ गते तत्कालीन पञ्चायत विरुद्ध गणतन्त्र स्थापना गर्ने उद्देश्य राखेर गरिएको आन्दोलनको उत्कर्ष बिन्दूका रूपमा ‘नेपाल बन्द’को आयोजना गरिएको थियो । त्यो बन्दको आह्वान तत्कालीन ‘संयुक्त राष्ट्रिय जनआन्दोलन संयोजन समिति’ नाम दिइएको क्रान्तिकारी धाराका कम्युनिस्ट पार्टी, समूह र व्यक्तित्व सम्मिलित संयुक्त मोर्चाले गरेको थियो । २०४६ सालको माघ महिनाबाट (संभवतः ७ या २० गते बाट हुनुपर्छ, अहिले मलाई यकिन याद भएन ।) सं.रा.ज.आ.सं.स. ले पञ्चायती व्यवस्था सँगसँगै राजतन्त्रको अन्त्य गरि गणतन्त्र स्थापना गर्ने लक्ष्य र उद्देश्य राखेर जनआन्दोलनको घोषणा गरेको थियो । त्यहीबेला फागुन ७ गतेदेखि सात दलीय वाममोर्चा र नेपाली काङ्ग्रेसको संयुक्त मोर्चाले पनि पञ्चायत विरुद्धको जनआन्दोलन घोषणा गरेको थियो । दुवैतर्फका मोर्चाहरूको साझा अजेण्डा पञ्चायतको अन्त्य बनेको थियो । तर, राजतन्त्रको अन्त्य गर्ने वा नगर्ने भन्ने विषयमा यी दुई मोर्चाहरूको फरक धारणा थियो । संराजआले पञ्चायती व्यवस्था सँगसँगै राजतन्त्रको पनि अन्त्य गर्ने र देशमा गणतन्त्र स्थापना गर्ने उद्देश्य राखेको थियो भने उता बाम–काङ मोर्चाले पञ्चायतको अन्त्य गरि बहुदलीय संसदीय व्यवस्था मात्र स्थापना गर्ने र राजतन्त्रलाई संवैधानिक रूपमा स्वीकार गर्ने उद्देश्य राखेको थियो । त्यसैकारण दुईवटा छुट्टाछुट्टै मोर्चा निर्माण भएका थिए ।
बाम मोर्चामा माक्र्सवादी, माले, नेमकिपा, चौम, लगायतका घटकहरू थिए भने अर्कोतर्फ संराजआमा तत्कालीन नेकपा(मशाल), (मसाल), नेपाल माक्र्सवादी लेनिनवादी पार्टी, कम्युनिस्ट लिग, सर्वहारा श्रमिक सङ्गठन र केही स्वतन्त्र बाम व्यक्तित्व सम्मिलित घटकहरू थिए । निर्मल लामाले नेतृत्व गरेको नेकपा चौम पनि पहिला त संराजआमै जोडिने कुरा थियो । तर पञ्चायती व्यवस्थासँगै राजतन्त्रको अन्त्य गरि गणतन्त्र स्थापना गर्ने विषयमा असहमति प्रकट गरेर उनी बाममोर्चामा सामेल भए । बाममोर्चाको नेतृत्व सहाना प्रधानले गरेकी थिइन । त्यो बाम–काङ मोर्चाको समग्र नेतृत्व काङ्ग्रेस नेता गणेशमान सिंहले गरेका थिए । यो मोर्चालाई तत्कालीन भारतीय संस्थापन पक्ष काङ्ग्रेस आईले समर्थन र निर्देशन गरेको थियो । संराजआ भने विदेशी शक्तिकेन्द्रहरूको समर्थन र निर्देशनमा आफ्नो आन्दोलन चलाइनु हुँदैन भन्ने मान्यतामा थियो । त्यसैले आफ्नै बलबुँतामा जनआन्दोलन सञ्चालन गर्नुपर्छ भन्ने विचारले लैस थियो ।
चैत २४ गते नै ‘नेपाल बन्द’को आयोजना गर्नुमा त्यो दिनलाई २०३५ सालमा विद्यार्थी आन्दोलनले ‘नेपाल बन्द’ गरेको दिनलाई स्मरण गर्नु थियो सायद । त्यतिवेला पनि बाम घटकका विद्यार्थीहरूको आन्दोलनको मुख्य नेतृत्व थियो । जो तत्कालीन चौमसँग सम्वद्ध थिए । नेकपा माले त त्यही २०३५ सालको पुसमा स्थापना गरिएको थियो । मालेले देशव्यापि पार्टीको आकार ग्रहण गरिसकेको थिएन । तसर्थ २०३५÷०३६को विद्यार्थी आन्दोलनको मूल धार पनि चौम घटक विद्यार्थीहरू नै थिए । तर आन्दोलनमा सबै तह, विचार र राजनीतिक आस्थाका विद्यार्थी सहभागि थिए । त्यो २४ गतेको उत्कर्षको आन्दोलनले राजा वीरेन्द्रलाई प्रतिबन्धित काङ्ग्रेस कम्युनिस्ट पार्टीसँग सम्झौता गर्न वाध्य पारेको थियो । परन्तु, काङ्ग्रेसका विपि कोइरालाले पञ्चायत या बहुदल भन्ने विषयमा जनमत सङ्ग्रह गराउने राजाको षड्यन्त्रमा सहमति प्रकट गरे र २०३७ सालमा जनमत सङ्ग्रहको नौटङ्की मञ्चन गरियो । त्यस जनमत सङ्ग्रहसँगै आन्दोलन पनि सेलाउँदै गयो ।
त्यही चैत २४ को उत्कर्षको आन्दोलनको कडिलाई निरन्तरता दिने उद्देश्यअनुरूप २०४६ सालको चैत २४ मा ‘नेपाल बन्द’ आह्वान गरिएको थियो । २०४६ सालको पञ्चायत विरुद्धको जनआन्दोलनमा बाम–काङ मोर्चाको अजेण्डा भन्दा संराजआको अजेण्डामा जनता बढि आकर्षित भएका थिए । र, आन्दोलनको उत्कर्षसँगै यही घटकले गरेका आन्दोलनमा जनताको सहभागिता बढ्दै गएको थियो । जब चैत २४ गतेको नेपाल बन्दको दिन आयो उक्त दिन विहानै राजा वीरेन्द्रले देशवासीका नाममा सम्बोधन गर्दै मरिचमान सिंहको नेतृत्वको सरकार विघटन गरि लोकेन्द्र बहादुर चन्दलाई प्रधानमन्त्री नियुक्त गरे र देशमा कफ्र्यु लगाएर सेना बाहिर सडकमा उतारियो । देश पूरै आक्रोसित भयो र कफ्र्यु तोडेरै जनता देशैभरि सडकमा उत्रीए । काठमाडौं लगायत पुरै देश बन्दको प्रभावले ठप्प भयो । काठमाडौंमा लाखौँको जुलुस निस्कियो । जुलुस दरबारमार्गमा रहेको महेन्द्रको शालिक तोड्न हौसियो । शालिक तोड्न थालेका होनहार युवाहरू छ जनालाई सेनाले गोली हानेर हत्या ग¥यो । काठमाडौं, पोखरा, बुटवल, चितवन, विरगञ्ज, बिराटनगर, नेपालगञ्ज लगायतका देशका विभिन्न सहरहरूमा धरपकड, कुटपिट, हत्या–हिंसा लगायतका घटनाहरू व्यापक भए । देश थप आन्दोलनमय भयो । २५ र २६ गते झनै ठूलो आन्दोलन भयो । चैत २४ को नेपाल बन्द पूर्णरूपमा सफल हुनु, राज्य हत्या–हिंसामा उत्रनु र त्यसको विरोधमा २५ र २६ गतेको आन्दोलन अझ बढि चर्किएसँगै राजा त आत्तिए नै त्यो आन्दोलनको उत्कर्षले बाम–काङ मोर्चा पनि भित्रीरूपमा छट्पटायो । किनकि आन्दोलनको श्रेय संराजआले लिने र जनता पनि राजतन्त्रकै अन्त्य गर्नुपर्छ भन्ने विषयमा उत्साहित हुँदै गएपछि बाम–काङ मोर्चाले आफ्नो पहलकदमी फुत्किने भयो भन्ने त्रास थियो । त्यसले बाम–काङको मोर्चाप्रति अविश्वास र संराजआप्रति विश्वास बढ्ने स्थिति देखा प¥यो । उता यो संयुक्त आन्दोलनमा बाम–काङ्ग्रेसलाई सपोर्ट गर्न भारतीय काङ्ग्रेसका प्रतिनिधि एम जे अकबर, जनता दलका चन्द्रशेखर आजाद, जनता पार्टीका डा.सुब्रह्मण्यम् स्वामी र भाकपा (माक्र्सवादी)का महासचिव हरकिसनसिंह सुरजितलगायत भारतका दक्षिणपन्थी र बामपन्थी दलका प्रतिनिधि सहित पत्रकारहरू नेपाल आएका थिए । उनीहरूले गणेशमान निवास चाक्सीबारीमा बाम–काङलाई प्रशिक्षित गरेर आन्दोलनमा भरपुर सहयोग गर्ने बाचा गरेका थिए र ठमेलमा आयोजित जनसभामा नारायणहीटीतर्फ माइक फर्काएर भाषण पनि गरेका थिए ।
यसरी पञ्चायत विरोधी आन्दोलनले राजतन्त्रकै अन्त्य चाहेर राजतन्त्र–मूर्दावाद, वीरेन्द्र चोर–देश छोड, पम्फादेवी ठकुरानी (रानी ऐश्वर्यलाई भनिन्थ्यो)ले विदेशमा थुपारेको पैसा फिर्ता गर, तस्कर र मुर्तिचोर ज्ञानेन्द्र मूर्दावाद, गणतन्त्र–जिन्दावाद जस्ता नारा लगाएर अघि बढ्न थालेपछि राजाले बाम–काङ मोर्चालाई चैत २६ गते राती दरबारमा बोलाएर वार्ता गरे । त्यो वार्तामा पञ्चायतको अन्त्य गर्ने, बहुदली व्यवस्थाको पुनर्वाहाली गर्ने, राजालाई संवैधानिक रूपमा राख्ने र जनआन्दोलन बन्द गर्ने जस्ता सहमति गरियो । त्यस वार्तामा संराजआका प्रतिनिधिहरू सहभागी भएनन् । राजतन्त्रको अन्त्य गर्दै गणतन्त्र स्थापना गर्नका लागि अघि बढेको आन्दोलनलाई सम्झौताद्वारा बिचैमा तुहाइयो । त्यसमा भारतीय खुफिया ‘र’ सहित भारतीय संस्थापन पक्षले समर्थन जनायो । बाम–काङ मोर्चालाई सहयोग गर्न भन्दै नेपाल आएर फर्किएको उपर्युल्लिखित टोलीले पनि समर्थन ग¥यो र आन्दोलन टुङ्ग्याइयो । चैत २७ गते बाम–काङले विजय जुलुस निकाले भने संराजआले यो सम्झौता धोका हो भन्दै विरोध जुलुस देशैभरि निकाल्यो । तर पञ्चायतको तुलनामा बहुदल स्थापना हुनु राम्रो हो भन्दै आन्दोलनमा सहभागी जनताको ठूलो हिस्सा बाम–काङको विजय उत्सवमा सहभागी भएपछि संराजआको आन्दोलन कमजोर बन्दै गयो । २०४७को वर्षा सुरुसँगै आन्दोलन राेकियो । यसरी २०४६ सालको जनआन्दोलनलाई असफल पार्दै काङ–बाम मोर्चा सरकारमा सामेल भयो । चैत २४ मा सहिद भएका जनताको बलिदानीलाई संसदवादीहरूले आफूहरू सरकारमा पुगेर हालीमुहाली गर्ने, भ्रष्टाचार गर्ने, पञ्चहरूले देश लुट्न हुन्छ भने हामीले लुट्न किन नहुने भन्दै लुट मच्चाउन सरकारमा जाने भ¥याङ मात्र बनाए ।
चैत २४ को उत्कर्षको जनआन्दोलनलाई सम्झौतामा टुङ्ग्याएर बहुदल स्थापना गरिएपछि काङ्ग्रेस नेता कृष्णप्रसाद भट्टराईको नेतृत्वमा बनेको बाम–काङ र राजा पक्ष सम्मिलित सरकारले भारतमा गएर महाकाली सन्धी गरेर देशको सम्पदा जनआन्दोलनमा सहयोग गरेवापत भारतलाई बुझाएर गुन तिरेका थिए । त्यसमा तत्कालीन माले–माक्र्सवादी (पछि एमाले) ले समेत उक्त राष्ट्रघाती सम्झौतामा सहमति गरेका थिए । त्यसको विरोधमा संराजआले देशव्यापि भण्डाफोर आन्दोलन गरेको थियो । मशाल पक्षीय जनवादी कलाकार खुसिराम पाख्रिनले ‘दिल्ली प्रस्थान भट्टराई सरकार, फर्कियो छिट्टै वार्तामा झुकेर स्वागत पाएर, जानि जानि विष हालेको मिठाई खाएर’ भन्ने गीत लेखेका थिए र हामीले गाउँदै हिँडेका थियौँ ।
आन्दोलनको अनुभूति
२०४६ मा मैले घोराही स्थित महेन्द्र बहुमुखी क्याम्पसमा अध्ययन गर्दैथिएँ । त्यतिवेला म नेकपा मशाल (वैद्य नेतृत्व)को पार्टी सदस्य थिएँ र विद्यार्थी सङ्गठनमा नरहे पनि मैले मशाल सम्वद्ध प्युठान, रोल्पा, रुकुम र दाङका सोही क्याम्पसमा पढ्ने विद्यार्थीहरूसँग जोडिएर पञ्चायत विरोधी आन्दोलनमा सहभागी भएको थिएँ । ठिक त्यहीबेला हामी दाङबाट बसाइँ सरेर बर्दिया जाने भन्दै पाथाभार गाविसको जनकनगरमा जमिन किनेका थियौँ । म र मेरो बुबा बर्दियामा किनेको जमिनमा घर बनाउने र बैशाखमा परिवार सबैलाई लिएर बसाइँ सर्ने भन्दै चैत २२ गते दाङबाट हिड्यौँ । २४ गते विहान सात बजे कैलाली जिल्लाको चिसापानीमा पुगेका थियौँ । त्यहीँ एउटा होटेलमा बसेर चियानास्ता खाँदै गर्दा रेडियोमा राजा वीरेन्द्रले देशवासीका नाममा सन्देश दिँदै गरेको सुन्यौँ । सम्बोधनमा उनले जनआन्दोलनको विरोध गर्नुका साथै उक्त आन्दोलनलाई तह लगाउन नसकको भन्दै प्रधानमन्त्री मरिचमान सिंहलाई अपदस्त गरि लोकेन्द्र बहादुर चन्दलाई प्रधानमन्त्री नियुक्त गरेर नयाँ मन्त्रीमण्डल घोषणा गरे । साथै चैत २४ को संराजआले गरेको नेपाल बन्दको आन्दोलनलाई असफल पार्न भन्दै देशभरि कफ्र्यु आदेश जारी गरेर सेना परिचालन गरे ।
हामी बाबुछाेरा चिसापानीमा खाना खाएर पाथाभार जानका लागि कैलालीकै कटाँसे बजारमा पुग्यौँ । त्यही बजार हुँदै पाथाभार जाने बाटो थियो । त्यहाँ पुग्दा नेपाल बन्द सफल पार्न आएका आन्दोलनकारीहरूसँग भेट भयो । हामी बाबुछोरा पनि बर्दियातिर नगएर त्यो आन्दोलनमा सहभागी भयौँ । त्यहाँ मैले चिनेका हामीले जमिन किनेकै गाउँका मशाल सम्वद्ध नेताहरू रामचरण चौधरी, भानुभक्त आचार्य (पछि जनयुद्धमा कैलालीमा सहिद हुनुभयो ।) लगायतकाहरूसँग भेट भयो । बजारमा सानो पुलिस चौकी त थियो तर हतियार विना भएकाले बजार बन्द गराउन आएका आन्दोलनकारीहरूलाई धरपकड पनि गर्न सकेन बजार पुरै ठप्प भयो । त्यतिवेला लम्कीमा रहेको बजार भन्दा कटाँसेको बजार ठूलो थियो । अहिले त त्यो बन्द छ । कैलाली जाने नहर र जङ्गल एरिया भएकाले बस्ती नै उठिसकेको छ । बेलुका हामी पाथाभार गयौँ । २६ गते हामी फेरी त्यही ठाउँमा आन्दोलनका लागि गाउँबाट आयौँ । २६ गते राती दरबारमा भएको सम्झौताले जनआन्दोलन तुहाइएपछि २७ गते हामीले त्यही बजारमा विरोध जुलुस निकाल्यौँ । काङ–बाम मोर्चाका कोही पनि उपस्थित भएनन् । सायद उनीहरू राजपुर या टिकापुरतिर गएका थिए होला । हामीले भने त्यहाँ विरोध जुलुस निकाल्यौँ, सम्झौता धोका हो, जनआन्दोलन जारी छ, राजतन्त्र र बाम–काङ मोर्चा मूर्दावाद जस्ता नारा लगायौँ ।
दिनभरीजसो हामी त्यही बजारमा व्यस्त भयौँ । दिउँसोतिर जनसभा ग¥यौँ । त्यो जनसाभालाई तत्कालीन नेकपा मशालको तर्फबाट मैले भाषण गरेँ । मैले जीवनमै पहिलो पटक अझ खुला सभामा भाषण गरेको थिएँ । त्यहाँ हाम्रो पार्टीका रामचरण चौधरी, भानुभक्त आचार्य, तिलक कार्की लगायत थुप्रै थिए तर कुन्नि किन हो म नौलो भएको र क्याम्पस पढ्दै गरेको ठानेर हो कि मलाई भाषण गर्न भनियो । आफू पार्टीको सामान्य सदस्य मात्रै हुँदा पनि त्यसरी आमसभामा भाषण गर्न पाउँदा आफूलाई ठूलै नेता भएको महसुस भएको थियो । छाती गर्वले चौडा भएको थियो ।
पछि बुबा बर्दियामै बस्नुभयो भने म परिवारका सदस्यहरूलाई लिन दाङ फर्किएँ । बैशाखको ८ गते दाङबाट परिवार सहित भएर घरका सबै सामान लिएर हामी बर्दिया बसाइँ स¥यौँ । बर्दिया पुगेर एक दुई हप्ता घरमा बसेर म क्याम्पस फर्किएँ । त्यसपछि पुनः चैत २६को सम्झौता धोका हो, जनआन्दोलन जारि छ भन्दै जिल्लाभरि आन्दोलनमा हिड्यौँ । चित्रजङ शाहीको नेतृत्वमा मिर्मिरे सांस्कृतिक परिवार गठन गरेर हामी कलाकारको टोली सहित दाङ र देउखुरीका गाउँगाउँमा संराजआको टोलीसँगै आन्दोलनमा हिड्यौँ । उक्त आन्दोलन असारसम्म चल्यो त्यसपछि वर्षा याम शुरु भएसँगै बन्द भयो । आज यो दिनमा उभिएर हेर्दा त्यो उन्नाइस बीस वर्षको किशोर उमेरमा देश बदल्ने सपना बोकेर पार्टीमा लागेको र आन्दोलनमा घाम–पानी, हिलो–धुलो, भोक–तिर्खा, अनिदो आदि केहीको पनि पर्वाह नगरि हिँडेको दिन सम्झँदा सुतेर सपनामा भौँतारिएको जस्तो अनुभूति हुन्छ । ती दिनहरू अहिले पनि मथिङ्गलमा झङ्कृत भएर फिल्मको रिल घुमेझैँ हरेक दिनका घटनाक्रमहरूको याद ताजा भएर आउँछ । २०४६ मा उठेको त्यत्रो जनउभार नेतृत्वमा रहेका गद्दार नेताहरूका कारण कसरी धोकामा परिणत हुँदो रहेछ र देश कति पछाडि धकेलिँदो रहेछ भन्ने प्रष्ट भोगिरहेका छौँ । आफ्नै जीवनमा २०४६÷०४७ को जनआन्दोलन, दश वर्षको जनयुद्ध र त्यस यताका थुप्रै आन्दोलनहरूमा प्रत्यक्ष सहभागी भएका अनुभूतिहरू तरोताजा भएर उभिएका छन् ।
२०८१ चैत २४