नवलपरासी – क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल जिल्ला समिति नवलपरासीले बर्दघाट नगरपालिका वडा न–१३ जमुनाबारीको एक रेष्टुरेन्टमा भएको कुटाकुटको घटनाले प्रहरी प्रशासन प्रति प्रश्न चिन्ह खडा भएको बताएको छ । मध्यरातिमा भएको उक्त घटनाले जिल्लाको शान्ति सुरक्षा मात्र नभई समग्र सामाजिक ब्यवस्थाको समेत धज्जी उडाएको सो पार्टीको ठहर छ । पार्टीका बैकल्पिक केन्द्रीय सदस्य समेत रहेका जिल्ला सेक्रेटरी रवि पाण्डेयद्वारा हस्ताक्षरित एक बक्तब्य जारी गर्दै सो पार्टीले घटना प्रति दुःख ब्यक्त गरेको हो ।
बक्तब्यको पुर्णपाठ यस प्रकार रहेको छ ।
‘नवलपरासीको बर्दघाट नगरपालिका वडा न–१३ जमुनाबारीमा रहेको नशा रेष्टुरेन्ट एण्ड डान्स बारमा माघ २८ गते मध्यराति भएको घटना प्रति हाम्रो पार्टीको गम्भिर ध्यानाकर्षण भएको छ । दुई पक्षबीच भएको कुटाकुटको उक्त घटनामा घाइते भएका प्र्रतापपुर गाँउपालिका वडा नम्बर ९ खैरहनीका ४५ बर्षीय सन्त बहादुर चौधरीले उपचारको क्रममा ज्यान समेत गुमाउनु परेको छ ।
बर्दघाट नगरपालिका र प्रतापपुर गाउँपालिकाको करिब सीमा क्षेत्रमा भएको उक्त घटनाले जिल्लाको शान्ति सुरक्षा मात्र नभई समग्र सामाजिक ब्यवस्थाको समेत धज्जी उडाएको छ । बिगत देखि नै भारतबाट हुने तस्करी एंव लागुऔषध ओसारपसारको केन्द्र बन्दै गएको जिल्लामा मध्यराति सम्म डान्सबार संचालन तथा यौनजन्य गतिविधि हुनुले प्रहरी प्रशासन प्रति नै प्रश्न चिन्ह खडा गराएको छ । समयमै नियमकारी निकायले नियमन नगर्दा र समाज समेत यस्ता अवान्छित क्रियाकलाप प्रति सचेत नहुनु जस्ता बिबिध कारणले यस्ता घटना हुने गर्दछ ।
हामी उक्त घटना प्रति दुःख ब्यक्त गर्दै मृतक प्रति श्रद्धान्जली र मृतकका परिवारप्रति समबेदना ब्यक्त गर्न गर्दछौ । अतः हाम्रो पार्टी घटनामा संलग्न जो सुकै भएपनि उचित अनुसन्धान र दोषी उपर कानुनी कारवाही माग गर्न चाहन्छ । साथै होटल तथा रेष्टुरेन्ट संचालनको नाउमा हुने अवान्छित गतिबिधि रोक्न, यस्ता घटना दोहोरिन नदिन जिल्लास्थित प्रहरी प्रशासन तथा सबै सरोकारवाला पक्षसंग अनुरोध गर्दछ ।’