काठमाडौं । नेपालको राष्ट्रिय स्वाधीनता र सार्वभौमिकतामाथि भारत र चीन दुवैबाट खतरा उत्पन्न भएको क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका कार्यवाहक महासचिव सीपी गजुरेल गौरवले बताउनु भएको छ । नेपाली भूमि लिपुलेकमा भारत र चीनको मिचाहा प्रवृत्तिको विरुद्धमा आइतबार काठमाडौंमा आयोजित विरोध प्रदर्शन तथा विरोध सभालाई सम्बोधन गर्दै गौरवले नेपाली भूमि लिपुलेकमा चीन र भारत दुवैले अतिक्रमण गरेको गम्भीर आरोप लगाउनु भयो ।
उहाँले भन्नुभयो, “आजसम्म चीनले नेपाली भूमिमाथि कसैले अतिक्रमण ग¥यो भने नेपालको पक्षमा बोल्ने गर्दथ्यो तर अहिले भारसँग मिलेर अतिक्रमणमा सहभागी भयो । नेपालको राष्ट्रिय स्वाधीनतामाथि उत्पन्न भएको यो नयाँ खतरा हो ।” नेपाल सार्वभौम देश भएको तर चीनले पनि नेपाल मामिलामा भारतको देखासिखी गर्दै नेपाली भूमि नेपाललाई नै नसोधी प्रयोग गर्ने सहमति गर्नुले चीनलाई बुझ्ने विषयमा पनि गम्भीर प्रश्न खडा भएको बताउनु भयो ।
उहाँले देशमा यतिबेला चलेको संविधान संशोधनको बहसका विषयमा पार्टीको गंभीर ध्यानाकर्षण भएको भन्दै वर्तमान संविधानको पूर्ण खारेजी र संघीय जनगणतान्त्रिक संविधान निर्माणका लागि सडकबाट आवाज बुलन्द गर्न देशका मजदुर तथा किसान सहित आम उत्पीडित जनसमुदायमा हार्दिक आव्हान समेत गर्नुभयो ।
यो वर्तमान व्यवस्था पहलेको भन्दा पनि बद्नाम र खत्तम भएको भन्दै अहिले देशको सिंगो अर्थतन्त्र विचौलियाको हातमा पुगेको स्पष्ट पार्नुभयो । आफ्ना घिनलाग्दो कुरुप मुखुण्डो छोप्न अहिले सरकारले थ्रेसहोल्डको नयाँ मापदण्ड ल्याएर दुई दलीय व्यवस्थाको निरंकुशतातिर देशलाई लैजाने षड्यन्त्र भइरहेको पनि चर्चा गर्नुभयो ।
उहाँले थ्रेसहोल्डबाट अब प्रचण्डको पनि संसदीय राजनीति सिद्धिएको दावी गर्दै उहाँले अहिलेको दलाल संसदीय व्यवस्था, सत्ता र संविधानबाट देशमा विद्यमान कुनै पनि समस्या समाधान नहुने भन्दै उहाँले वर्तमान संविधान संशोधन नभएर पूर्णरुपमा खारेजी हुनुपर्ने र संघीय जनगणतन्त्रमा आधारित नयाँ जनसंविधान लेखनको प्रक्रियामा अगाडि बढ्न पर्ने आवश्यकतामाथि विशेष जोड दिनुभयो ।
उहाँले संसदीय व्यवस्थाको समूल अन्त्य गरी नयाँ जनवादी व्यवस्थाका लागि जनयुद्ध लडेका सबै माओवादी घटकहरुले पनि यस विषयमा गम्भिर भएर सोच्ने बेला भएको र अब संघीय जनगणतन्त्रको दिशामा अगाडि बढ्न तयार हुन पनि अपिल गर्नुभयो ।
रत्नपार्क शान्तिबाटिकाबाट सुरु भएको विरोध जुलुस भद्रकाली, सहिदगेट, सुन्धरा, न्यूरोड, विशालबजार हुँदै जनबहालमा पुगेर विरोधसभामा परिणत भएको थियो । विरोध जुलुसमा संविधान संशोधन होइन, पूर्ण रुपमा खारेजी गर, संघीय जनगणतन्त्रको स्थापना गर, लिपुलेक द्विपक्षीय सहमति खारेज गर, त्रिपक्षीय सहमति कायम गर, राष्ट्रिय स्वाधीनताको रक्षा गर, दलाल भ्रष्टहरु मूर्दावाद लगायतका नाराहरु लगाइएका थिए ।
विरोधसभाको अध्यक्षता पार्टीका नेता रामसिंह श्रीसले गर्नुभएको थियो भने सञ्चालन पार्टीका नेता हेमन्तप्रकाश ओलीले गर्नुभएको थियो । कार्यक्रममा नेताहरु हरिभक्त कडेल, सिताराम तामाङ, रामबहादुर बुढा लगायतले विरोध मन्तव्य राख्नुभएको थियो ।
विरोध प्रदर्शनको पूर्वसन्ध्यामा क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले शनिबार साँझ काठमाडौंमा मशाल जुलुस समेत प्रदर्शन गरेको थियो ।
यसैबिच, क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका कार्यवाहक महासचिव गौरवले लिपुलेकमामाथि गरिएको अतिक्रमणका विरुद्ध प्रेस वक्तव्य निकालेर समेत सशक्त विरोध जनाउनु भएको थियो ।
उक्त वक्तव्यमा भनिएको छ, “गत डिसेम्बर १८, २०२४ मा भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोबल र चिनीया विदेशमन्त्री वाङयीका बीच बेजिङमा भएको ६ सुत्रीय समझदारी प्रति हाम्रो पार्टीको गंभीर ध्यानाकर्षण भएको छ । उक्त समझदारीको एउटा बुँदामा कैलाश मान सरोवर तीर्थयात्रा चालुगर्ने र सीमा नदीमा दुई देशीय सहयोगका कुरा उल्लेख गरिएका छन् । त्री–देशीय सिमानामा पर्ने मान सरोबार जाने बाटो र सीमा नदीका सम्बन्धमा नेपाललाई बेवास्तागरी दुई देशले मात्र सहमति गर्नु नेपालको राष्ट्रिय स्वाधीनताका विरुद्ध छ । हाम्रो पार्टी भारत तथा चीनको यस प्रकारको मिचाहा प्रवृत्तिको वरोध गर्दछ र आउने दिनमा त्री–देशीय सरोकारका विषयमा सम्झौता वा सहमति गर्नु परे नेपाल सहित त्रीपक्षीय वार्ताबाट मात्र होस् भन्ने दुवै छिमेकी देशका सरकारसँग विशेष माग गर्दछ ।”
हालै कार्यवाहक महासचिव गौरवले देशको समग्र अवस्था र संविधान संशोधनबारे पनि वक्तव्यमार्फत् पार्टीको धारणा सार्वजनिक गर्नुभएको थियो । सो वक्तव्यमा भनिएको छ, “देशमा यतिबेला चलेको संविधान संशोधनको बहसले हाम्रो पार्टीको गंभीर ध्यानाकर्षण गरेको छ । यसबारे पार्टीको धारणा सार्वजनिक गर्न यो प्रेस–वक्तव्य जारी गरिएको छ ।
नेपालमा २००७ सालदेखि जनसंघर्ष, जनयुद्ध लगायत विभिन्न जन आन्दोलनहरु हुँदै आएका छन् । ती नै संघर्षका बलमा पटक–पटक नयाँ संविधान लेखिएका छन् र शासन व्यवस्थामा आंशिक रुपमा केही सकारात्मक राजनीतिक परिवर्तन पनि भएका छन् । तर ती राजनीतिक परिवर्तन पछि निर्मित कुनै पनि संविधानले देशको अर्थ–सामाजिक अवस्थामा आधारभूत परिवर्तन गरेका छैनन् । राणाकालीन राज्यसत्ताको संरचना र कानुन अहिलेसम्म यथावत छन् । अर्थ–सामाजिक अवस्था तथा राज्यसत्तामा आमूल परिवर्तन नभएसम्म देश र जनताले भोग्दै आएका राष्ट्रिय स्वाधीनता, जनतन्त्र र जनजीविकाका यावत समस्याहरु कहिल्यै समाधान हुदैनन् । फलतः बारम्बार आन्दोलन र संविधान संशोधनका मुद्दा उठिरहन्छन् ।
नेपालको वर्तमान अर्थ–राजनीतिक समस्याको प्रमुख आन्तरिक कारण दलाल तथा नोकरशाही पुँजीवादी र सामन्त वर्गीय राज्यसत्ता हो भने वाह्य कारण मुख्यतः अमेरिकी साम्राज्यवाद तथा भारतीय विस्तारवाद हुन् । नेपालमा साम्राज्यवाद तथा विस्तारवादका दलालहरुको नेतृत्वमा रहेको संसदीय व्यवस्था तथा प्रतिक्रियावादी राज्यसत्ता अन्तर्गत हुने कुनै पनि प्रकारको संविधान संशोधनको नौटङ्की आन्दोलित जनतालाई भ्रममा पार्ने र नेपाललाई सधैं वाह्य शक्ति केन्द्रहरुको अखडा बनाइराख्ने भ्रमजाल बाहेक अरु केही होइन । यसकारण हाम्रो पार्टीले यो प्रतिक्रियावादी संविधानको संशोधन होइन यसको पूर्ण खारेजीे र संघीय जनगणतान्त्रिक संविधान निर्माणको माग गर्दछ ।
के कुरा प्रस्ट छ भने साम्राज्यवाद तथा विस्तारवादका दलाल प्रतिक्रियावादी शासकहरुले सजिलै जनगणतान्त्रिक संविधान निर्माण गर्न दिने छैनन् । यसका लागि देशका मजदुर तथा किसान सहित आम उत्पीडित जनसमुदायको संघर्षको दवाव आवश्यक हुन्छ । यस स्थितिमा हाम्रो पार्टीले मजदुर, किसान सहित आम उत्पीडित जनता र संपूर्ण देशभक्त, प्रगतिशील, वामपन्थी तथा क्रान्तिकारी शक्तिहरुसित वर्तमान संविधानको पूर्ण खारेजी र संघीय जनगणतान्त्रिक संविधान निर्माणका लागि सडकबाट आवाज बुलन्द गर्न हार्दिक अपील गर्दछ ।”
वर्गदृष्टिबाट