काठमार्डौं । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको वैकल्पिक केन्द्रीय सदस्यबाट ६ महिना निलम्बनमा परेका जितेन्द्र दाहाल अर्कै पार्टीमा गएपछि क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले सम्पूर्ण जिम्मेवारीबाट हटाएको छ । पार्टीका कार्यवाहक महासचिव गौरवले जारी गरेको वक्तव्यमा एकता महाधिवेशन सकिएलगत्तै पार्टी विरोधी गतिविधिमा लागेपछि उनलाई पार्टी सदस्यता कायम रहने गरी ६ महिनाका लागि निलम्बन गरिएको र त्यही अवस्थामा अर्कै पार्टीतिर लागेपछि सम्पूर्ण जिम्मेवारीबाट हटाइएको व्यहोरा सार्वजनिक जानकारी गराइएको छ ।

वक्तव्यमा भनिएको छ, “पार्टीको राष्ट्रिय एकता महाधिवेशनद्वारा निर्वाचित वैकल्पिक केन्द्रीय सदस्य जितेन्द्र दाहाल महाधिवेशन सकिएको लगत्तै पार्टी विरोधी गतिविधिमा लागेकोले उनलाई स्पष्टीकरण सोधिएको थियो । आफ्ना पार्टी हितविपरीतका गतिविधिलाई ढाकछोप गरी उनले दिएको लिखित स्पष्टीकरण चित्तबुझ्दो नभएको मात्र होइन, उनीप्रति पार्टीले नै गलत सोचेको भन्ने आरोप लगाएको स्थितिमा उनलाई साधारण सदस्यता कायम रहने गरी पार्टीका सम्पूर्ण जिम्मेवारीबाट ६ महिनाका लागि निलम्बन गरिएको व्यहोरा आन्तरिक परिपत्रमार्फत् पार्टीपंक्तिमा जानकारी गराइएको थियो । तर उनले पार्टी अनुशासन मानेर काम गर्नुको साटो अर्को पार्टीसँग यही पौष २० गते एकता गरेको भन्ने वक्तव्य समेत आइसकेको स्थितिमा उनलाई पार्टी सदस्यतासहित सम्पूर्ण जिम्मेवारीबाट हटाइएको व्यहोरा सार्वजनिक जानकारी गराइन्छ ।”

प्रतिक्रिया

सम्बन्धित खवर