भदौ १ काठमान्डौ ।
नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी)को केन्द्रीय समितिको बैठक यही साउन २८ गतेदेखि ३१ गतेसम्म बस्यो । उक्त बैठकमा पार्टी महासचिव किरणले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमाथि व्यापक बहस र छलफलपछि एक मतले पारित गरेको जानकारी पार्टी महासचिवकिरणव्दारा हस्ताक्षेरित निम्न प्रेस विज्ञप्तिमाफत दिइएको छ :
प्रेस–विज्ञप्ति
यही २०७८ साल साउन २८ गतेदेखि ३१ गतेसम्म महासचिव कमरेड किरणको अध्यक्षतामा नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी)को केन्द्रीय समितिको बैठक बस्यो । उक्त बैठकमा लिइएका महत्वपूर्ण निर्णयहरुलाई निम्नानुसार सार्वजनिक गरिएको छ :
१. बैठकको सुरुमा विश्व सर्वहारा क्रान्ति, राष्ट्रिय मुक्ति आन्दोलन, विभिन्न जनआन्दोलन र दश वर्षीय जनयुद्धमा सहादत प्राप्त गर्ने सम्पूर्ण ज्ञात अज्ञात वीर अमर सहिदहरुप्रति एक मिनेट मौनधारण गरी भावपूर्ण श्रद्धाञ्जली अर्पण गरियो ।
२. बैठकमा महासचिव कमरेड किरणले अहिले विकसित हुँदै गइरहेको अन्तर्राष्ट्रिय तथा राष्ट्रिय परिस्थिति, पार्टी कामको समीक्षा र आगामी कामको दिशा सम्बन्धी विषयमा आधारित राजनीतिक प्रतिवेदन प्रस्तुत गर्नुभयो । बैठकमा विचार–विमर्स तथा छलफल गरी आवश्यक थपघट तथा परिमार्जन सहित उक्त प्रतिवेदन सर्वसम्मत रुपमा पारित भयो ।
३. राजनीतिक प्रतिवेदनमा विश्वमा साम्राज्यवादी तथा विभिन्न अन्तर्राष्ट्रिय शक्ति केन्द्रहरुका बीचको आपसी अन्तर्विरोध, श्रम तथा पुँजीका बीचको अन्तर्विरोध र साम्राज्यवाद तथा उत्पीडित राष्ट्रहरुका बीचको अन्तर्विरोध चर्किंदै गएको र कोभिड–१९ महामारीका कारण उत्पन्न विश्वव्यापी स्वास्थ्य तथा आर्थिक सङ्कटले विश्वका उपरोक्त अन्तर्विरोधहरुलाई अझै विष्फोटक बनाउँदै लगेको कुरा औंल्याइएको छ । साथै, अफगानिस्तानमा अमेरिका तथा त्यसको सैन्य गठबन्धन नेटो पराजित भएको कुरा उक्त दस्ताबेजमा उल्लेख गरिएको छ ।
४. उक्त प्रतिवेदनमा सरकारमा आसीन कम्युनिस्ट नामधारी डबल नेकपाभित्रको अन्तर्कलह, दुई–दुई पटकको संसद विघटन तथा पुनस्र्थापना, अदालतको परमादेशद्वारा पार्टीको विखण्डन तथा देउवा गठबन्धन सरकारको निर्माण, आकाङ्क्षी धेरै भएर मन्त्रीहरु नियुक्त गर्न नसकेको स्थिति र गठबन्धनभित्र बढदै गएको कचिङ्गल आदि नेपालमा संसदवादी तथा संशोधनवादी राजनीतिक दलहरु मात्र नभई संसदीय व्यवस्था नै असफल बन्दैगएको कुराका परिणाम हुन् भन्ने निष्कर्ष निकालिएको छ । यस स्थितिमा पार्टीले उठाउँदै आएको सङ्घीय जनगणतन्त्र र तदनुरुपको सरकारको नारालाई जनताका बीचमा सशक्त ढङ्गले प्रचार गर्ने कुरा प्रतिवेदनमा जोड दिइएको छ ।
५. क्रान्तिका लागि वस्तुगत परिस्थिति परिपक्व बन्दै गएको तर आत्मगत परिस्थिति भने कमजोर रहेको स्थितिमा छिरलिएका सच्चा क्रान्तिकारी शक्तिलाई एकताबद्ध तुल्याउनका लागि पार्टीले माक्र्सवाद–लेनिनवाद–माओवाद वा विचारधारा मान्ने र नयाँ जनवाद तथा वैज्ञानिक समाजवाद अङ्गीकार गर्ने क्रान्तिकारी कम्युनिस्ट सङ्गठन, समूह एवम् व्यक्तित्वहरुलाई संवादको प्रक्रियामा अगाडि बढ्न हार्दिक आह्वान गर्ने कुरा उक्त प्रतिवेदनमा उल्लेख गरिएको छ ।
६. उक्त प्रतिवेदनमा महङ्गी, चरम बेरोजगारी, अभाव तथा गरिबी, भ्रष्टाचार, कमिशनतन्त्र, देशी तथा विदेशी प्रतिक्रियावादीको शोषण, उत्पीडन तथा हस्तक्षेप आदिका कारण मजदुर, किसान तथा निम्न पुँजीपति वर्गसहित आम जनताका आजीविकाका समस्या अत्यन्तै भयावह र विकराल बन्दै गएको कुरा औंल्याउँदै ओली सरकारको समृद्ध नेपाल र सुखी नेपालीको नारा पुरै उदाङ्गो बन्न गएको र शेरबहादुर देउवा पनि यही सङ्कटग्रस्त व्यवस्थाको असफल प्रतिनिधि हुनाले वर्तमान गठबन्धन सरकारबाट पनि राष्ट्रियता, जनतन्त्र तथा जनजीविकाका समस्या हल हुन नसक्ने कुराको ठोकुवा गरिएको छ ।
७. उक्त प्रतिवेदनमा मजदुरहरुमाथि थोपरिएको ठेकेदारी तथा करार प्रथाको खारेजी, समुचित तलव तथा अन्य सुविधा, निष्काशनको विरोध, स्वदेशमै रोजगारी तथा बेरोजगार भत्ताको व्यवस्था; क्रान्तिकारी भूमिसुधार तथा सुकुम्वासी, हलिया, कमैयाहरुका लागि जमिनको व्यवस्था; महिला, दलित, मुस्लिम तथा अपाङ्गका लागि विशेषाधिकारको व्यवस्था; सहिद परिवार, बेपत्ता तथा घाइते अपाङ्ग योद्धा एवम् बहिर्गमित सेनाका मागहरुको सम्बोधन; शिक्षा तथा स्वास्थ्य क्षेत्रको राष्ट्रियकरण; किसानहरुलाई समुचित अनुदान तथा कृषि औजार एवम् मल–बीउ आदिको व्यवस्था; महिला बलात्कार तथा हत्याको विरोध; दलितहरु प्रतिको छुवाछुत प्रथाको अन्त्य; भ्रष्टाचार, कमिशनतन्त्र तथा महङ्गीको विरोध आदि विषयलाई लिई सङ्घर्षको विकास गर्ने कुरा उठाइएको छ ।
८. केन्द्रीय समितिको बैठकमा भारतद्वारा कब्जा गरिएको लिम्पियाधुरा सहितको सम्पूर्ण भूभाग फिर्ता, एमसीसीको विरोध, दार्चुला तुइन काण्डको विरोध लगायतका राष्ट्रिय स्वाधीनतासँग सम्बन्धित विषयलाई लिएर सङ्घर्षको विकास गर्न जोड दिइएको छ ।
९. पार्टीले पहिल्यैदेखि उठाउँदै आएको पहिचान सहितको सङ्घीयता र स्वायत्त शासनको मागलाई लत्याएर भूगोलका आधारमा सङ्घीय संरचना निर्माण गर्ने वर्तमान प्रतिक्रियावादी व्यवस्थाले गरेको अन्यायपूर्ण निर्णयको विरोध गर्दै पार्टीले उक्त मागलाई पुन: सशक्त रुपमा उठाउने र नेपालमा पहिचान सहितको सङ्घीय संरचनाको स्वरुपबारे गहन अध्ययन गरी त्यसको खाका छिटै प्रस्तुत गर्ने कुरा प्रतिवेदनमा उल्लेख गरिएको छ ।
१०. संयुक्त मोर्चा तथा कार्यगत एकतालाई प्रभावकारी ढङ्गले अगाडि बढाउने कुरा प्रतिवेदनले औल्याएको छ ।
११. अन्त्यमा, महासचिव कमरेड किरणले बैठक सफल तुल्याउन सहयोग गर्नु हुने सबै कमरेडहरुलाई धन्यवाद दिँदै र लिइएका निर्णयहरुको कार्यान्वयन गर्न जोड गर्दै बैठकको समापन गर्नुभयो ।
मिति : भदौ १, २०७८

किरण
महासचिव
नेकपा (क्रान्तिकारी माओवादी)

प्रतिक्रिया

सम्बन्धित खवर