काठमाडौं । १८ वर्षअघि भएको दोरम्बा हत्याकाण्डको स्मरण गर्दै नेकपा (क्रान्तिकारी माओवादी)ले वक्तव्य जारी गरेकाे छ । पार्टीको ३ नं प्रदेशका सचिव प्रवेशले एक वक्तव्य जारी गरी सहिदहरुप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्नु भएकाे छ । वक्तव्यमा नयाँ जनवादी क्रान्तिका लागि सहिदहरुले बगाएकाे रगत खेर जान नदिने उल्लेख गर्दै सहिदहरुकाे बलिदानकाे उच्च सम्मान गरिएकाे छ ।
२०६० साल साउन ३२ गते दोरम्बामा एउटा वैवाहिक कार्यक्रम र पार्टीको बैठकका लागि स्थानीय शिक्षक युवराज मोक्तानको घरमा भेला भएका माओवादी नेता कार्यकर्तालाई तत्कालीन शाही सेनाले घेरामा हालेर नियन्त्रणमा लिएको थियो । नियन्त्रणमा लिने क्रममा दोरम्बामा २ जना र नियन्त्रणमा लिएर केही घन्टा हिँडाएर डाँडाकटेरी पुर्‍याएपछि अरु १९ जनाकाे हत्या गरिएकाे थियाे । हत्या गरिएका मध्ये तत्कालीन माओवादीका जिल्ला जननसरकार प्रमुख बाबुराम लामासहितका उच्च नेता तथा कार्यकर्ता हुनुहुन्थ्याे ।
सरकार र तत्कालीन विद्रोही पक्ष माओवादीका प्रतिनिधिबीच दाङको हापुरेमा वार्ता भइरहेका बेला युद्धविराम थियो । युद्धविरामको समयमा रामेछापबाट दोरम्बा पुगेको शाही सेनाले माओवादी नेता कार्यकर्ताहरुलाई नियन्त्रणमा लिई हत्या गरेको भन्दै उक्त वार्ता माओवादीले एकतर्फी भंग गरेको थियो । उक्त घटनाको छानबिन आयोगले छानबिन गरी मानवअधिकारको दृष्टिले अमानवीय भएको जनाएको थियो । आयोग पूर्व न्यायाधीश कृष्णजंग रायमाझीको अध्यक्षतामा बनेको थियो ।

दोरम्बा घटनाको स्मरण गर्दै माओवादीहरुले डाडाँकटेरीमा हरेक वर्ष स्मृति दिवस मनाउने गरेका छन् । गत वर्ष घटनास्थलमा हत्या गरिएका सबै सहिदहरुकाे अर्धकदको सालिक स्थापना गरिएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर