शनिबारीय साहित्य ः कथा
*** ***
पन्ध्र बर्ष पराया मुलुकमा बसेपछि तोयानाथ गाउँ फर्किए । बाआमाको राय अनुसार मलेशियामा पसिना बेचेर जोगाएको कमाइले शहरभन्दा केही पर भिरालो परेको मटिलो जग्गामा कमाएको नगद खन्याए । बाआमाको जायजेथा प्रशस्त थिएन र पनि कृषिकर्ममा ज्याला निमेक गरेर निर्वाह चलाएका थिए । बाआमाले सल्लाह दिए– ‘हामीसित कृषिकर्मको शीप छ सोही काम गरेर जीवन निर्वाह गरौँ ।’ ‘कृषि उत्पादनको लागी जमिन र पाखुरामा मनग्गे जाँगर भएपछि सफलता हात लाग्छ’ बाको सल्लाह यही हुन्थ्यो । आफ्नै नाउँमा सात रोपनी खेत र पाएक परेको पाखो जग्गामा घडेरी खरीद गरेपछि एकहल गोरू, बाख्रापाठा र दुहुनो भैँसी समेतले एउटा गृहस्थ राम्रैसित चलेको थियो । तोयानाथकी श्रीमती पनि निकै जाँगरिली थिइन् । गोठका पशुको हेरचाह र खेतिपातीमा विशेष दखल राख्थिन् । दैनिक पाँच/सात लिटर दूध, सालिन्दा पाँच/सातवटा घोर्ले खसी, हिउँदे बालिमा प्रशस्त तरकारीको बेचबिखनले आम्दानीको स्रोत नियमित बन्दै आएको थियो । बूढा बाआमाले घरको हेरचाह गरिदिएपछि खेतिपातीको काममा तोयानाथको दम्पत्तिलाई निकै सजिलो थियो । उत्पादित बस्तु बजार पु¥याउनु बीउमलको व्यवस्थापन गरि उत्पादन बढाउनु उनीहरूको दिनचर्या बन्दथ्यो । छोरो नजिकैको विद्यालय जान्थे ।
तोयानाथ बेलाबेला छोरोको पढाइको स्थिती बुझ्न विद्यालय पुग्थे । ‘पढाइमा औसत विद्यार्थी भन्दा अब्बल छ’ शिक्षकहरू बेलाबेला छोराको रिपोर्ट दिन्थे ।
तोयानाथ प्रगतिशील चेतनामा विश्वास गर्थे । धार्मिक रुढीले उनको चेतनामा प्रवेश पाएको थिएन । उनी मिहिनेती र इमान्दार थिए । गाउँका दुःखी गरिबमाथि दया र श्रद्धाको भाव राख्दथे । उनकी श्रीमती पनि उस्तै चेतनशील थिइन् ।
छोरो दसवर्षको थियो । बाआमाको अनुरोधमा गएको हिउँदमा सामान्य किसिमले छोराको ब्रतबन्ध गरे । उनीहरूले आफ्नो बिबाह पनि सामान्य किसिमले समापन गरेका थिए । तामझाम र बडप्पनमा उनीहरूको स्वभाव थिएन । तोयानाथको स्वभाव सहयोगी, बिबेकी र गाउँ छिमेकी सबैको पत्यौराभित्र पर्दथे । ‘हाम्रो हर्ज खाँचोमा तोयासँग सजिलै सारतार हुन्छ’ छिमेकीहरू भन्दथे । छिमेक वरपर कसैमाथि होची अर्घेली भए उनी आफैँ अघि सरेर न्याय दिलाउँथे । उनको उपस्थितिले गाउँलेहरू राहतको महसुस गर्दथे ।
भदौको आखिरी दिनहरू हुँदै थियो । दुइदिन अघिदेखि भारी वर्षा भैरहेको थियो । गाउँका साना खोल्सीहरू पनि जँघार तर्न हम्मेहम्मे थियो । छोरालाई खाना खुवाएर तोयानाथले विद्यालय पु¥याएर आएपछि बाआमा र आफू खाना खान बसे । ठुलो भुइँचालो आए जसरी जमिन हल्लियो र भिरालो जमीन स्वाट्टै बगेर तल खोलामा घोप्टिन पुग्यो । त्यो भिरालो पाखोमा भएका दस घरका पशुधन, श्रीसम्पत्ति र विद्यालय गएका केटाकेटी बाहेक घरमा रहेका जहान बच्चा सबै पहिरोमा पुरिए र बेपत्ता भए । विद्यालय गएकाहरू विद्यालयमै थुनिए । एउटा सिङ्गो गाउँ पालिकाको नक्साबाट गायब भयो । यस बाहेक कयौँ गाउँ र शहरबजारका क्षेत्रहरू बाढी पहिरोको प्रभावमा परे । राहत र उद्दारमा लाग्न बाँचेका छिमेकिहरूसँग पनि साधन र श्रोतको अभावमा कसो गर्ने के गर्ने भन्ने द्विबिधामा परे । वडा सदस्यले मृतकको सङ्ख्या र क्षतिको विवरण लेखेर पालिकामा पठाए । पालिकाले माथिल्लो निकायमा रेफर ग¥यो । तीन दिनपछि सरकारका मन्त्रीहरूले हेलिकप्टरबाट निरीक्षण गरेर फर्किए । सरकार प्रमुखले घोषणा गरे ‘प्रति मृतक पच्चिस हजार किरिया खर्छ दिइने छ’ ।
वडामा बैठक बस्यो । पण्डित रघुनाथ वडा सदस्य थिए । उनकै सक्रियतामा पालिकाबाट डोजर ल्याएर पहिरोमा पुरिएकाहरूको लास उत्खनन् भयो । लाशहरू लहरै राखिए । उनै वडा सदस्यले पहिचान गरेर आआफ्नो रिति अनुसारको सामुहिक अन्त्येष्टी गरे । हिन्दू परिवारमा कर्मकाण्डको विधि अगाडि आएर उभियो । ‘अब अन्त्य कर्मकालागि सामुहिक किरिया गर्नुपर्छ’ उनै वडा सदस्यले निर्णय सुनाए । ‘प्राकृतिक बिपत्तिमा परेर ज्यान गुमाएकाहरूको किरिया कर्म नगर्दा नि हुन्छ’ स्थानीय शिक्षक रामजीले भने । ‘त्यसो हो भने राज्यले उपलब्ध गराउने किरिया खर्च हामी लिन्नौ भन्ने कागज गराउनुस् र राज्यको राहत लिन्नौ भनाउनुस् ।’ वडा अध्यक्षले प्रतिवाद गरे ।
‘काज किरिया त गराऔँला तर बस्ने घर नै छैन कहाँ कोरा बार्ने त’ ? गल्लिमुनी सान्दाइले प्रश्न गरे ।
‘मन्दिर लैजाने त्यहीँको धर्मशालामा कार्य सम्पन्न गर्ने, आखिर जहाँ बसे पनि चाहिने सामान किनेरै ल्याउने न हो’ पण्डित अर्थात वडा सदस्यले भने । ‘हुन्छ कसैको पनि किरिया नगरौँ त्यसमाथि तोयानाथका परिवारको चाहीँ काज किरिया गर्दै नगरौँ’ शिक्षक रामजीले अडान लिए । ‘जसले जीवन पर्यन्त रुढिवादका बिरुद्ध लडे आज उनको आस्थामाथि घात गर्नु हुँदैन’ शिक्षक रामजीले जोडदिए । ‘परम्परा र विश्वासको मान्यतालाई भाँड्ने काम नगरौँ समाजले मानिआएको चलन छोड्नु हुन्न सबैको किरिया मन्दिरमै गरिन्छ ।’ वडा सदस्य कड्किए । ‘सदस्यको कुरा ठिकै हो’ वरपरका केही मानिसहरूले सही थापे । ‘बिपदको बेला धर्म संस्कृति पनि जनघाती हुन्छ, हामीले यस्को पछि लाग्नु बिज्ञान सम्मत हुँदैन’ शिक्षक रामजीले अडान लिए ।
सरकारले प्रति मृतक पच्चिसहजारका दरले राहत अनुदान दियो । आफ्ना यजमानको नाउँमा आएको राहत रकम उनै सदस्यले बुझे । आफैँ पुरोहित भएकाले सो रकमको खटनपटन पनि उनैबाट भयो । पैह्रिएको गाउँभन्दा पर एउटा मन्दिर थियो र सो मन्दिर संरक्षण समितिको अध्यक्ष वडासदस्य आफैँ थिए । उनले मन्दिरको पटाङ्गिनीनमा लहरै डिकुरो उठाए र किरियापुत्रीहरूलाई आफ्ना मृतकको नाम सम्झन भन्दै एकदुई संस्कृतका हरफ भट्याए र दसदिने कर्म पूरा गरे । आफ्ना यजमानको किरियाकर्मका लागि आएको अनुदानले मन्दिरको भेटी, दान दक्षिणा र पुरोहितको पारिश्रामिक भन्दै आफ्नै खोकिलोमा राखे र उनले हिसाब यसरी फर्छौट गरे ।
‘प्रति किरियापुत्रीको खाना कपडाको लागी दसहजार, मन्दिरको शुल्क प्रति किरियापुत्री पाँच हजार र पुरोहित शुल्क प्रति किरिया दश हजार गरि अनुदान फछ्र्यौट गरे र सबैको सामु भने ‘पित्रिहरूको उद्वार भयो’ ।
गाउँमा गाइँगुइँ सुनियो ‘वडा सदस्यले राहत रकममा चलखेल गरे’ ।
हल्ला केही दिनपछि सेलायो ।
दशैँको चहलपहल बढ्दै गयो । शहरतिर रोजगारी र पढाइमा अल्झिएका युवाहरू गाउँ फर्किए । वडा सदस्यको कर्तुतबारेको मुद्दा फेरि उठ्यो । मन्दिर नजिकैको चौतारोमा युवा विद्यार्थी र गाउँले भेला भए । भेलामा शिक्षक रामजीले वडासदस्यको ज्यादतिबारे बोले । ‘हामीले देखे बुझेको अन्याय सहेर बस्नु हुँदैन, दोषिलाई कार्वाही हुनुपर्दछ ।’
‘यिनलाई अख्तियारमा मुद्दा हाल्नु पर्दछ’ एउटा बिद्यार्थीले प्रस्ताव गरे ।
‘त्यो अख्तियारले काम गर्दैन जनताले नै दण्ड दिनु पर्दछ’ शहरमा मजदुरी गर्ने अर्को युवाले भने ।
चौतारोको भेलापछि गाउँले र विद्यार्थीको हुल वडा कार्यालयतिर सोझियो ।
उनीहरूले कार्यालय घेराउ गर्दै नारा लगाए ‘भ्रष्ट वडा सदस्यलाई कार्वाही गर’ ! आफूलाई घेरा हाल्न आएको खबर सुनेर वडा सदस्य सदरमुकाम हानियो ।
‘पछि छानबिन गर्दै गरौँला अहिले यतै सुरक्षित भएर बस्नुस्’ जिल्लाधिकारीले वडा सदस्यलाई राहत दिए ।
वडा सदस्य भागेको सुचना आएपछि उत्तेजित भीडबाट एकजना मजदुरले भने– ‘सत्ता र संस्कार दुबै जनघाती हुन् यिनलाई भस्म नगराउँदासम्म न्यायिक समाज बन्दैन । हामी छिनोफानो गरि छाड्छौं’ ।
असोज २३, २०८१