संसारलाई अक्टोबर क्रान्ति चिनाउने पत्रकार जोन रिड

संसारलाई अक्टोबर क्रान्ति चिनाउने पत्रकार जोन रिड

क्रान्तिकारी पत्रकार जोन रीडको जन्म सन् १८८७ को अक्टोबर २२ का दिन संरा अमेरिकाको ओरिगनमा एक धनी परिवारमा भएको थियो । उनका बुबा चाल्र्स जेरोमी रीड व्यापारी एवम् समाजसेवी थिए । उनी थियोडोर रुजवेल्टका प्रशंसक थिए । क्याम्पस जीवनमा रीड पौडीबाज समूह र नाट्यमण्डलीका सदस्य थिए । उनी ‘हवार्ड मासिक’ एवं ‘लामपुन’को सम्पादकमण्डल सदस्य पनि थिए । उनी कवि तथा कुशल वक्ता थिए । सन् १९१० मा हवाई विश्व विद्यालयमा पढाइ सकिएपछि रीड बेलायत र स्पेनको भ्रमणमा निस्के । भ्रमणपछि संरा अमेरिका फर्केलगत्तै उनले वामपन्थी पत्रिकाहरुमार्फत् पत्रकारिता शुरु गरे । उनले काम गरेका पत्रिकाहरुमध्ये प्रभावशाली समाजवादी पत्रिकाहरु ‘नयाँ समीक्षा’ र ‘जनता’ पनि पर्दछन् । सन् १९१३ मा रीडले आफ्नो पहिलो कवितासंग्रह ‘सानगर’ प्रकाशित गरे ।
न्यु जर्सीको पाटरसनका रेशम मजदुरहरुलाई हड्ताल गर्न उक्साएको आरोपमा उनलाई गिरफ्तार गरियो । उनले चार वर्ष जेलमा बिताए । त्यसपछि उनले कामदार जनताको पक्षमा ‘पाटरसन हडतालका नायक’ पुस्तक लेखे । त्यसपछि पनि हड्ताल गर्न उक्साएको भन्दै पटक–पटक गिरफ्तार गरियो । सन् १९१० दशकको आरम्भिक वर्षहरुमा रीड मेक्सिकाली क्रान्तिको समाचार संकलन गर्न मेक्सिको पुगे । उनी चार महिना मेक्सिकोको पञ्चो भिल्लामा बसे ।
मेक्सिकाली क्रान्तिकारी संघर्षको बारेमा उनले लेखेका पुस्तक ‘द्वन्द्वग्रस्त मेक्सिको’ सन् १९१४ मा प्रकाशित भयो । प्रथम विश्वयुद्धको समयमा जोन रीडले ‘महानगर पत्रिका’ को युद्ध संवाददाताको रुपमा काम गरे । त्यतिबेला वामपन्थी विचार बोकेका उनका कतिपय समाचारहरु छापिएनन् । सो क्रममा उनले जर्मनी, सर्बिया, रोमानिया, बुल्गेरिया, रुस लगायताका देशहरुमा भएका युद्धहरुको समाचार सम्प्रेषण गरे । त्यसै अवधिमा आधारित भएर लेखिएको पुस्तक ‘पूर्वी युरोपको युद्ध’ सन् १९१६ मा प्रकाशित भयो । उनले त्यतिबेला जे देखे, त्यसले उनलाई निराश तुल्यायो किनभने त्यहाँ क्रान्तिकारी उत्साह थिएन । आफ्नो एउटा मृगौलाको शल्यक्रिया गर्न उनी अमेरिका फर्के । सन् १९१६ मा उनले उड्रो विल्सनलाई समर्थन गरेर देशलाई युद्धमा धकेल्ने काला शक्तिहरुबाट सचेत रहन चेतावनी दिए । तर उनी जे होला भनी डराएका थिए, त्यही भयोविल्सनले जर्मनीविरुद्ध युद्ध घोषणा गरे ।

सन् १९१७ मा रीडले पत्रकारका लुइस ब्रान्टसँग विवाह गरे । संरा अमेरिकामा एकजना पत्रकारका रुपमा रीडको कमाइ रामै्र थियो तर उनी रुस जान चाहन्थे । माक्स इस्टम्यान र अरु केही साथीहरुको सहयोगमा उनले रुसमा जान पैसा जम्मा गरे । सन् १९१७ को शरदमा उनी आफ्नी श्रीमती ब्रान्टसँग सेन्ट पिटर्सवर्ग पुगेर ‘जनता’ पत्रिकाको लागि रुसी संघर्षबारे समाचार सम्प्रेषण गरे । रुसमा वोल्शेविकहरुसँग उनको परिचय उनका कम्युनिष्ट पक्षीय र युद्धविरोधी लेखहरुमार्फत भयो । यसै समयमा रुसमा भएको समाजवादी क्रान्तिमा आधारित रहेर ‘संसारलाई हल्लाइदिएका ती दश दिन’ पुस्तक लखे । यो पुस्तक विश्व प्रसिद्ध बन्यो ।
सन् १९१८ मा उनले वाल्ट विट्म्यानबाट प्रभावित भएर महत्वाकांक्षी कविताहरु ‘अमेरिका’ लेखे । त्यसै समयमा उनी राजनीतिमा सक्रियतापूर्वक लागे । सन् १९१९ मा उनले नयाँ कम्युनिष्ट पत्रिकाका निम्ति लेख्न थाले र ‘मजदुर आवाज’ को सम्पादन गर्न थाले । त्यो वर्षको गर्मी याममा शिकागोमा भएको अमेरिकाका समाजवादी पार्टीहरुको सम्मेलनमा सहभागी बने । त्यो सम्मेलनमा भद्रगोल भयो र दुईवटा कम्युनिष्ट पार्टी गठन भयो । त्यसमध्ये कम्युनिष्ट कामदार पार्टीका रीड स्वयम् एकजना नेता थिए । आफ्नो पार्टीको आधिकारिकताको निम्ति उनले ‘कम्युनिष्ट अन्तर्राष्ट्रिय’ सँग सम्पर्क राख्नुपर्ने महसुस गरे । त्यसपछि उनी रुस पुगे । शरदमा उनले फिनल्याण्डको खाडी हुँदै तुर्कु पुगे । त्यहाँबाट उनी फिनल्याण्डको राजधानी हेलसिन्की पुगे । त्यहाँ उनको सम्पर्क लेखिका हिल्ला उलिजोकीसँग भयो । उनको लिडिया स्टालसँग पनि भेट भयो । स्टाल पछि फ्रान्समा रुसी गुप्तचरको आरोपमा गिरफ्तार गरिए । तिनी भूमिगत फिनिस कम्युनिष्ट संगठनसँग नजिक थिइन् । रीड र तिनको सहकार्य जीवनभर चालू रह्यो ।
सन् १९१७–१८ को छोटो समयमा रीडले फिनल्याण्डको भ्रमण गरेका थिए । तर सन् १९१९ मा फर्किंदा फिनिस अधिकारीहरुले सिमाना आवतजावतमा कडा जाँच गर्न थाले र विदेशी एवं क्रान्तिकारीहरुमाथि कडा निगरानी राख्न थालियो । त्यो वर्षको नोभेम्बरमा रीड रुसमा थिए र उनले सोभियत नेता लेनिनसँग पटकपटक भेटे । लेनिनलाई उनले ‘संसारलाई हल्लाइदिएका ती दश दिन’ पुस्तक दिए । लेनिनले सो पुस्तकको खुला हृदयले प्रशंसा गरे । उनी लाटभिया हुँदै रुसबाट बाहिर जान खोज्दै थिए तर सो क्षेत्रमा क्रान्तिकारीहरु र प्रक्रियावादीबीच संघर्षका कारण फर्कन सकेनन् । उनी फिनल्याण्ड हुँदै फर्किने क्रममा पक्राउ परे । चोरी निकासीको आरोपमा उनलाई फिनल्याण्डले मुद्दा चलायो तर संरा अमेरिकी आग्रहअनुसार उनलाई अमेरिका पठाइयो । त्यहाँ उनीमाथि ‘आपराधिक अराजकता’ को आरोप थोपरियो । जेलमा उनले कविताहरु लेखे र उपन्यासहरु लेख्न आरम्भ गरे, तर ती कुनै उपन्यास पूरा हुन सकेनन् । जूनमा उनलाई रिहा गरियो । उनी पुनः सेन्ट पिटर्सवर्ग पुगे । उनले तुर्कुमा तीन महिना आराम गरे ।

मस्कोमा भएको कम्युनिष्ट अन्तर्राष्ट्रियको सम्मेलनबाट उनी कार्यसमिति सदस्य निर्वाचित भए । विश्व समाजवादी आन्दोलनमा उनको योगदान अत्यावश्यक भएको समयमा उनी वाइफस रोेगले पीडित भए । अन्ततः सन् १९२० अक्टोबर १९ का दिन मस्कोमा उनको निधन भयो । उनको क्रान्तिकारी व्यक्तित्वबाट प्रभावित भएर संरा अमेरिकाभरि जोन रीड क्लबहरु गठन भए । उनको नाममा ‘लालहरु’ नामको चलचित्र बन्यो । जोन रीड लिखित ‘संसारलाई हल्लाइदिएका ती दश दिन’ पुस्तकले रुसी समाजवादी क्रान्तिलाई विश्व समक्ष प्रचार गर्न मात्र सहयोग गरेन, बरु संसारभरि नै समाजवादी क्रान्तिको ध्वजा फहराउन ठूलो योगदान ग¥यो ।