२०८१ मंसिर १३ गते भव्य रुपमा महाधिवेशनको उद्घाटन गर्ने निर्णय गर्र्दै क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको बैठक सम्पन्न

काठमाडौं । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको महाधिवेशन आयोजक समितिको आकस्मिक बैठक२०८१ मंसिर १३ मा भव्य रुपमा महाधिवेशनको उद्घाटन गर्ने निर्णय गर्दै सम्पन्न भएको छ । पार्टीका केन्द्रीय संयोजक मोहन वैद्य किरणको अध्यक्षता तथा सञ्चालनमा सम्पन्न बैठकले २०८१ मंसिर १३को महाधिवेशनलाई लक्षित गर्दै आर्थिक व्यवस्थापन, प्रचार प्रसार लागतसँग सम्बन्धित विषयमा महत्वपूर्ण निर्णय गरेको पार्टी हेडक्वार्टरले जनाएको छ ।

बैठकमा ‘कञ्चन’ प्रवृत्तिको रुपमा देखापरेको दक्षिणपन्थी संशोधनवाद, अवसरवाद परस्त चिन्तनको व्यापक चिरफार भएको थियो । संयोजक किरणले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमाथि आफ्ना कुरा राख्दै पार्टीका कार्यालय सदस्य, सचिवालय सदस्य र आयोजक समितिका सदस्यहरुले गैरमाक्र्सवादी चिन्तनधारा तथा संशोधनवादी र अवसरवादी धारा र प्रवृत्तिको कडा आलोचना र भण्डाफोर गरिएको थियो ।

बैठक चलिरहेको बेला पार्टीका विरुद्ध गुटबन्दीमा लागेका तीनजना सचिवालयका सदस्यलाई कारबाही गरिएको थियो । अवसरवादी, संशोधनवादी र प्रतिक्रियावादीहरुको चर्को घेराबन्दीहरुलाई पराजित गर्दै क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले नयाँ जनवादी क्रान्तिको कार्यभार पूरा गर्दै वैज्ञानिक समाजवादी क्रान्तिको दिशामा दृढतापूर्वक अगाडि बढ्ने उद्घोष गरेको छ । आगामी महाधिवेशनबाट राजनीतिक कार्यदिशा, सामरिक कार्यदिशामा थप विकास गर्दै क्रान्तिको कार्यभार पूरा गर्न नयाँ ढंगले पार्टीलाई सुदृढ, एकतबद्ध र जुझारु रुपमा अगाडि बढाउने पनि संकल्प गरेको छ ।