काठमाडौं । महानगरपालिका वडा नम्बर १९ पुरनचौरमा एकै परिवारका ७ जनाको पहिरोमा पुरिएर मृत्यु भएको छ भने पोखरा–३२ चैनपुर र मादी–११ मा बेपत्ता २ जनाको पनि शव फेला परेपछि मृतकको संख्या ११ पुगेको छ। पोखरा–३२ स्थित आरती ओझाको घर पहिरोले पुरिँदा १८ वर्षीया अनिता ओझा, ९ वर्षीय प्रतिक सुवेदी र ११ वर्षीया अनुस्का ओझाको पनि शव फेला परेको छ ।
यसैगरी मादी गाउँपालिका वडा नम्बर ११ मा पहिरोमा पुरिएर वेपत्ता भएकी ८० वर्षीया माइतीकुमारी गुरुङको पनि शव फेला परेको प्रहरीले जनाएको छ ।
बिहीबार राति खसेको पहिरोमा पुरिएर पोखरा–१९ पुरन्चौरमा ४७ वर्षीय कुलबहादुर परियार, उनको पत्नी ४३ वर्षीया मनकुमारी, ८५ वर्षीया आमा लक्षिमा, छोरी १५ वर्षीय प्रशना, २० वर्षीया प्रभा, ज्वाइँ २५ वर्षीय अस्मित र तल्लाकोट बस्ने राधिका परियारको ज्यान गएको छ।
यसैबिच, नारायणगढ–मुग्लिन सडकको सिमलतालमा लेदोसहितको पहिरोले बगाउँदा दुईवटा बस त्रिशूली नदीमा बेपत्ता भएका छन् । ती बसमा चालकसहित ६५ जना रहेका बताइएको छ । घटनास्थलमा पुगेका चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार आज बिहान साढे ३ बजे दुईवटा बस त्रिशूलीमा खसेका हुन् । उनका अनुसार काठमाडौंबाट रौतहटको गौर जाँदै गरेको गणपति डिलक्स र वीरगञ्जबाट काठमाडौं आउँदै गरेको एञ्जल बस त्रिशूलीमा खसेका हुन् ।
प्रमुख जिल्ला अधिकारी यादवका अनुसार गौर जाँदै गरेको बसमा ४१ र काठमाडौँ जाँदै गरेको बसमा २४ जना रहेका थिए । उनले ती बसमा रहेका यात्रुको यकिन विवरण प्राप्त भइ नसकेको बताए । जिल्ला प्रहरी कार्यालय चितवनले खोज तथा उद्धारमा ७५ जनाको पखटाइएको र त्रिशूलीमा बस खोज्न गोताखोर पनि झिकाइएको जनाएको छ ।
काठमाडौंबाट रौतहटको गौर आइरहेको गणपती डिलक्स बसका तीन जना यात्रुले भने हामफालेर आफ्नो ज्यान जोगाउन सफल भएका छन् । रौतहटको देवाही गोनाहीका दुई जना र वृन्दावन नगरपालिकाको सिसवा धमौराका एक जना छन् । उनीहरुलाई बस खसेको स्थानबाट उद्धार गरेर अर्को बसमा चढाइ नारायणगढ पुर्याइएको छ । ती यात्रुले बस खस्न थालेपछि आफू क्याबिनतिरको झ्यालबाट हाम फालेर ज्यान जोगाएको बताएका छन् । अरु दुई जनाले पनि त्यसैगरी ज्यान जोगाएका छन् ।