आजका सन्दर्भमा बृहत् बाम एकताको प्रश्न

आजका सन्दर्भमा बृहत् बाम एकताको प्रश्न

नेपालमा ०६३ को परिवर्तनपछि केही समूहद्वारा एकातिर देशलाईनै आर्थिक, सामाजिक र राजनीतिकरुपमा अस्तब्यस्त बनाउँदै बिघटनमा पु¥याउने प्रयास भैरहेको छभने अर्कातिर यहाँको कम्युनिष्ट शक्तिलाई छिन्नभिन्न बनाउँदै बिघटनमा पु¥याउने प्रयास पनि भैरहेको देखिएको छ । त्यस्तो अभियानमा लागेका कतिपयले त आगामी १५ बर्षभित्रमा नेपालमा कम्युनिष्ट पार्टी नै नरहने बिचारको प्रक्षेपण पनि गरेका छन् । मानौं उनीहरुको त्यस्तो योजना छ । मुख्यत नेपालमा जनयुद्धलाई धोखा दिएर साम्राज्यवादीहरुको पाउमा लम्पसार परेकाहरुले उक्त प्रयास गरेका हुन् । यस्तो अवस्थामा हाल आएर तिनै शक्तिले ‘लचिलो खालको बृहत बाम एकता’को कुरालाई प्रचारमा ल्याएका छन् । सुन्दा कर्णप्रिय भएपनि त्यसका पछाडिको यथार्थता तितो र कठीन रहेको छ । खासमा त्यति औचित्यपूर्ण पनि देखिएको छैन । नेपालमा धेरै लामो समयदेखि बाम एकता एक आकर्षक नारा रहँदै आएको छ । तर ब्यवहारमा त्यसको ठीक बिपरित भैरहेको छ । यसरी बृहत् वाम एकताले सार्थकता पाउन नसक्नुका पनि आधारभूत कारणहरु रहेका छन् । जसको समयसापेक्षा छलफल हुनसकेको छैन । मुख्यरुपले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले भाषणमा बेलाबखत ‘पूर्वमाओवादीहरुको एकता’ र ‘लचिलो खालको बाममोर्चा’ लगायतका कुराहरु भन्नेगरेको सुनिन्छ । पछिल्लो समयमा सो पार्टीका उपाध्यक्ष अग्नी सापकोटा र माओवादी केन्द्र निकट बन्ने प्रयासमा रहेका नेकपाका महासचिव नेत्रबिक्रम चन्दले पनि नेपालको कम्युनिष्ट संगठनको पुनरगठन र मिल्नेहरुसँग खुकुलो प्रकारको मोर्चा बनाएर वामपन्थी एकतागर्ने लगायतका कुराहरु गर्नेगरेको देखिएको छ । तर उहाँहरुले पनि त्यसलाई केवल प्रचारको बिषयमात्र बनाउनु भएको छ । पूर्व एमालेका नेता वामदेव गौतमले पनि बेलाबखत ‘वाम एकता’को कुरा उठाउने गर्नुभएको देखिन्थ्यो । हाल उहाँ त्यस्तो भाषण गरेर थाक्नु भएजस्तो देखिएको छ । बामदेव गौतमबाट नेपालको कम्युनिष्ट आन्दोलनले धेरै धोखा पाएका कारण उहाँ किनारा लाग्नुको अर्को उपाय छैन । पछिल्लो समयमा बाम एकताको कुरागर्ने कसैले पनि त्यसका आधारहरुकाबारेमा खास बुँदाहरु अगाडि सार्नुभएको देखिएको छैन । बिना आधार र बिना प्रयास कुनै पनि कुराहरु अगाडि बढ्न सक्तैनन् । नेपालमा कतिपय समूहहरुलाई नामले मात्र पनि कम्युनिष्ट पार्टी वा शक्ति मान्न नसकिने अवस्था रहेको छ । नेपालका सन्दर्भमा देशीय सामन्तवादी र अन्तराष्ट्रिय साम्राज्यवादी शक्तिसँग घाँटी जोडेका र उनीहरुका बिरुद्ध कठीन संघर्ष गरिरहेकाहरुका बीचमा एकता हुनुभनेको आकाश र जमिन अथवा नदीका दुई किनारालाई एक गराउनुजस्तै हो । यसलाई हालको अवस्थामा सार्बजनिक र बृहत् छलफलको विषय बनाइनु उपयुक्त हुन्छ । किनकी त्यसोगर्दा नाममात्रका र अवसरवादी नेताहरुको ब्यापक भण्डाफोर हुन्छ ।
आजको प्रमुख आबश्यकता पनि त्यही नै हो । पूर्व माओवादीहरुको मात्र एकता भन्नेकुरा आफैमा बिवादास्पद छ । किनकि यतिबेला पूर्व माओवादीका जति समूहहरु रहेका छन् ती सबैमा अन्य कम्युनिष्ट पार्टीका नेता तथा कार्यकर्ताहरुसमेत घुलमिल भएका छन् । हाल माओवादी केन्द्र, नेत्रबिक्रम चन्द नेतृत्वको नेकपा र क्रान्तिकारी कम्युनिष्ट पार्टी, नेपाललगायतका सबै समूहमा तत्कालीन जनयुद्धमा भाग नलिएका अन्य कम्युनिष्ट पार्टीका नेता तथा कार्यकर्ताहरुको संख्या पनि उल्लेख्य भैसकेको छ । जसलाई दूधको दूध, पानीको पानी भनेजसरी छुट्याउन सकिने अवस्था छैन । नेपालको हालको अवस्था र स्थितिमा पूर्वमाओवादीहरुका बीचमामात्र एकता भनियोभने त्यो बिभिन्न पार्टीमा कलह बढाउने र टुटफुट गराउने कुरामात्र हुन्छ । हुन त पुष्पकमल दाहालहरुले गर्नखोजेको पनि त्यहीनै हो । खासरुपमा पूर्वमाओवादीहरु समेत यतिबेला बैचारिक र सांगठानिकरुपमा बिभाजित छन् । कतिपयले हालसम्म पनि माओवादको झण्डा, नीति तथा कार्यक्रमलाई उठाइरहेका छन्भने कतिपयले पार्टीको नाममा माओवादी कायमै राखेपनि कम्युनिष्ट बिचार र दर्शन बिरोधी गतिबिधिमा सामेल भएको देखिएको छ । उनीहरुले नेपालका सन्दर्भमा माओवादी र नेपाली कांग्रेस अथवा एमाले भनेका उस्तै पार्टी हुन्भन्ने खुलेयाम प्रचार पनि गरिसकेका छन् । जनयुद्धकालीन माओवादीको मुख्य नेतृत्व मानिएका अध्यक्ष पुष्पकमल दाहाल यतिबेला नेपाली कांग्रेस र एमालेसँगको सहकार्यमा रहनु भएको छ । उहाँको प्रयास जसरी पनि सत्ता र शक्तिमा टिक्नेमामात्र केन्द्रित रहेको छ । उहाँले ‘बिचारको खेल’ छाडेर संभावनाको अवसरवादी खेल खेल्न थालेको धेरै भैसकेको छ त्यो भनेको माक्र्सवादलाई छाडेर अवसरवादलाई अंगाल्नु हो । उहाँले ०६३ को राजनीतिक परिवर्तनपछि संसदीय बहुदलीय ब्यवस्थालाई पूर्णरुपमा स्वीकार गरेको अवस्था छ । डा. बाबुराम भट्टराईले घोषितरुपमा नै कम्युनिष्ट राजनीति र पार्टी दुबै परित्याग गरिसक्नु भएको छ । उहाँ पनि प्रकारान्तरले नेपाली कांग्रेसलगायतका दक्षिणपन्थी पार्टीहरुको निकटमा पुग्नुभएको देखिन्छ । अर्कातिर क्रान्तिकारी कम्युनिष्ट पार्टी, नेपाललगायतका केही घटकहरु वर्तमान ब्यवस्थाकै आमूल परिवर्तनको पक्षमा रहेका छन् । उनीहरुले आफ्नो दस्तावेजमै माओवादी केन्द्रलाई दक्षिणपन्थी पार्टी भनेका छन् । ०६२ मा दिल्लीमा भएको १२ बुँदे सहमति, ०६३ मा भएको शान्ति संझौता, संविधानसभाको निर्वाचन, ०७२ को संविधान र त्यसअनुसार देशमा लागूगराइएको बिद्यमान राजनीतिक ब्यवस्थालाई अमान्य घोषणा पनि गरेका छन् । क्रान्तिकारी कम्युनिष्ट पार्टी, नेपालले ०७२ को संविधानलाई देशमा ‘बिद्यमान सबै समस्याहरुको जड’ भएको ठहर गरेको छ । यस्तो अवस्थामा पूर्वमाओवादीहरुको मात्र एकता कल्पना बाहिरको कुरा भैसकेको छ । हालको अवस्थामा सो नारा दिनुभनेको भैरहेको एकतालाई पनि भाँड्ने कुरामात्र हुन्छ ।
हुन त पुष्पकमल दाहालहरुले अगाडि सारेको बाम एकता भनेको एमालेलगायतका संसदवादी कम्युनिष्ट पार्टीहरुसँगको एकताको कुरा होभन्ने आफैमा स्पष्ट छ । तर उहाँकै पटक, पटकको अवसरवादी गतिबिधिलेगर्दा एमालेसमेत दाहालसँग पार्टी एकता त के फेरी सामान्य मोर्चा बनाउनसमेत तयार भैरहेको छैन । कतिपय कार्यक्रममा एमालेका अध्यक्ष केपी ओलीले आफूहरु सैद्धान्तिक नभएर पपुलिष्ट कम्युनिष्ट भएकोसमेत बताइसक्नु भएको छ । पुष्पकमलको गन्तब्य पनि त्यसैतर्फको हो । तर उहाँको ‘बोली र ब्यवहारको खासै ठेगान नहुने’ भएकाले एमालेहरुले समेत पत्याउन सकिरहेका छैनन् । कुनैबेला पुष्पकमलकै आड भरोषामा वामदेव गौतमको चुरीफुरी चर्को थियो । हाल उहाँ नेपालको राजनीतिबाटै किनारा लागिसक्नु भएको छ । ०७८ पछि दाहालकै आड भरोषाले माधव नेपालहरुको चर्को चुरीफुरी रहेको देखिन्थ्यो । अब उहाँ पनि ठेगान लाग्दै र नेपालको राजनीतिबाट किनारा लाग्दैगएको देखिएको छ । जसपाका अध्यक्ष उपेन्द्र यादवको हबिगत सबैले देखिसकेका छन् । अब समयमै सतर्क नहुने होभने नेत्रबिक्रम चन्दहरुको हबिगत शुरुहुनेवाला छ । ०८० असारमा गठन भएको समाजवादी मोर्चा छिन्नभिन्न भएको अवस्था छ । सो मोर्चा कस्ले किन बनाएको थियो र कस्का कारणले कसरी छिन्नभिन्न भयो ? भन्ने पनि दिनको घाम जतिकै छर्लङ्ग छ । त्यसैले अबका दिनमा पहिलो कुरा त संसदवादी र क्रान्तिकारी कम्युनिष्टहरुकाबीचमा कार्यगत एकता समेत हुनसक्दैन ।
पार्टी एकता कल्पना बाहिरकै कुरा हो । यदि साँच्चै लचिलो खालको बाम मोर्चा बनाएर अगाडि बढ्ने नै होभने त्यसका केही शर्तहरु हुनसक्छन् । जसकाबारेमा क्रमशः छलफल पनि गर्न सकिन्छ । त्यो भनेको सबैभन्दा पहिले पुष्पकमल दाहाल संसदीय सत्ताबाट बाहिर आउनु पर्दछ । उहाँहरुले नै गराएको ०७९ मंसिर चारको निर्वाचनमार्फत नेपाली जनताले माओवादी केन्द्रलाई सरकारमा जाने जनादेशनै दिएका थिएनन् । त्यतिबेलाको जनादेश भनेको माओवादी केन्द्र प्रमुख प्रतिपक्षमा रहेर जनपक्षीय कुराहरु उठाउने भन्नेनै हो । यदि सो जनादेशलाई शिरोपर गरेर प्रमुख प्रतिपक्षमा रहेको भए, माओवादी केन्द्रको पार्टी संगठनको अवस्था अर्कै भैसकेको हुने थियो । धेरै कम्युनिष्ट पार्टीहरुका बीचमा सहमति र सहकार्यको वाताबरण बनेको हुने थियो । अझै पनि मुख्यत पुष्पकमल दाहालले कम्युनिष्ट पार्टीहरुका बीचमा गरेको धोखाघडी र ०७९ मंसिर चारको निर्वाचनमा जनताले दिएको जनादेश बिपपिरत गएकोलगायतका बिषयमा आत्मालोचनागर्दै संसदीय सत्ताबाट बाहिरिने होभने छलफलको वाताबरण बन्नसक्छ । शुरुमा सबै कम्युनिष्ट पार्टीहरुको बृहत भेलाको आयोजना हुनुपर्छ । सो भेलामा आउने आलोचना र समालोचना सुन्न र त्यस्तो भेलाबाट निकालिएको निष्कर्ष पालनागर्न सबै तयार हुनुपर्दछ । त्यसपछि मात्र लचिलो खालको बाममोर्चाको अवधारणा बन्नसक्छ । अन्यथा कोही कसैले ‘बेहोस’ भएजसरी बेलाबखत बाम एकताको कुरा उठाएर सस्तो लोकप्रियता हाशिलगर्ने प्रयासगर्नुको कुनै अर्थ छैन ।