कृष्ण सेन ‘इच्छुक’ समाजवादी यर्थाथवाद अर्थात् प्रगतिवादी धाराका एक सशक्त साहित्यिक सर्जक हुन्, कवि हुन् । उनका सांस्कृतिक, राजनीतिक र पत्रकार व्यक्तित्व पनि छन् । महान् उद्देश्य र आस्थाका लागि एउटा स्रष्टाले कसरी आफूलाई समर्पित र बलिदान गर्न सक्छ भन्ने कुराका उनी एक आदर्श नायक हुन् । जेल, नेल र यातना कृष्ण सेन इच्छुककाे जीवनको अभिन्न अङ्ग बन्याे । उनी ०३९ देखि ०४४ सालसम्म दाङ कारावासमा छ वर्ष, ०५६ सालमा काठमाडौंको भद्रबन्दी गृहमा १ वर्ष र सिराहा तथा राजविराजमा २ वर्ष गरी नौ वर्षसम्मकाे जेल जीवन बिताएका थिए । सङ्कटकालका बेला ०५९ साल जेठ छ गते काठमाडौँबाट धोकापूर्ण ढङ्गबाट समातिएका सेनको ७ दिनपछि अर्थात् ०५९ साल जेठ १३ गते महेन्द्र पुलिस क्लबमा चरम यातना दिएर हत्या गरिएकाे थियाे ।
०३२ सालदेखि कविता प्रकाशन गर्न थालेका कृष्ण सेन साहित्य सन्ध्या पुरस्कार (२०५७), पारिजात सिर्जनशील साहित्य पुरस्कार (२०५९), कृष्णमणि साहित्य पुरस्कार (२०५९) र प्रेस सेनानी पुरस्कार (२०६५) बाट सम्मानित भएका थिए ।
मार्क्सवाद–लेनिनवाद–माओवाद र त्यसको नेपाली प्रयोगप्रति सधै प्रतिबद्ध भएर निरन्तर जनताकाे पक्षमा कलम चलाए । वर्षौवर्षदेखि सामन्ती शोषणको जुवा र वैदेशिक हस्तक्षेपबाट शोषणमुक्त वर्गविहीन उदात्त साम्यवादी समाज सेनको दीर्घकालीन सपना थियो । काव्यिक साहित्य सिर्जनासँगै कठिनभन्दा कठिन अवस्थामा जनपक्षीय मिसन पत्रकारिता पनि गरे । जनादेश (साप्ताहिक) र जनदिशा (दैनिक) का सम्पादक भए । नेपाल पत्रकार महासङ्घकोे केन्द्रीय पार्षद र दक्षिण एसियाली पत्रकार सङ्घका सदस्य पनि भए ।
इतिहासको यस घडीमा (कविता सङ्ग्रह) का मुख्य कविता, शोकान्जली (शोककाव्य) र बन्दी र चन्द्रागिरी (लामो कविता) सेनले बन्दी गृहमै लेखेका हुन् । उनले ०३२ सालदेखि कविता प्रकाशन गर्न थालेका हुन् । मातृभूमि (साप्ताहिक) मा प्रकाशित ‘भोलिप्रति’ उनको पहिलो कविता हो । ‘शोकाञ्जली’ (२०४८), ‘इतिहासको यस घडीमा’ (२०५६) र ‘बन्दी र चन्द्रागिरि’ (२०५७) मृत्यु अगाडि प्रकाशित कृतिहरु हुन् । माथि उल्लेखित रचना र यसबाहेक विभिन्न पत्रपत्रिकामा छरिएर रहेका फुटकर कविता र गद्य रचनाहरू इच्छुक रचनावली (भाग १, २, ३) मा सङ्कलित छन् । भाग १ मा ‘बन्दी र चन्द्रागिरि’ र ‘शोकाञ्जली’ छन् भने भाग २ मा ‘इतिहासको यस घडीमा’, ‘बन्दी आवाज’ र ‘आरम्भिक कविता’ अन्तर्गत फुटकर कविता सङ्कलित छन् । भाग ३ मा इच्छुकका गद्य रचनाहरू, चिठीपत्र, अन्तर्वार्ता आदि सङ्कलित छन् ।
नेपालमा ००७ साल, ०१७ साल, ०४६ साल र ०६३ सालमा राजनीतिक परिवर्तनहरू भए । ०६५ सालमा त गणतन्त्र पनि आयो तर यहाँको अर्ध–सामन्ती र अर्ध औपनिवेशिक सामाजिक तथा आर्थिक संरचनामा कुनै परिवर्तन आएन । यही स्थिर पृष्ठभूमि नै इच्छुकको लेखनको पृष्ठमूमि हो । वर्गीय प्रतिबद्धता, विचारधारात्मक प्रतिबद्धता र साङ्गठनिक प्रतिबद्धताको एकत्व नै इच्छुकका लेखकीय प्रतिबद्धता हुन् । वर्गसङ्घर्ष, उत्पीडित जनताका दुःख, कष्ट र पीडा, राष्ट्रिय स्वाधीनता, दमन र प्रतिरोध, जनयुद्ध, त्याग, वीरता र उत्सर्ग आदिलाई उनले कविताको अन्तर्वस्तु बनाए । त्यति मात्र होइन, मधेस, थारु, बँधुवा मजदुर, दलित, महिलाजस्ता उत्पीडित समुदायलाई सेनले कवितामार्फत् वर्गसङ्घर्षको केन्द्रमा ल्याउने प्रयास गरेका छन् । सेनका कवितामा अभिव्यक्त विद्रोह चेत नेपाल र नेपाली जनताको मुक्ति र स्वतन्त्रतासँग मात्र होइन, सिङ्गो उत्पीडित मानव समुदायको मुक्ति र स्वतन्त्रतासँग जोडिएको छ । त्यो साम्यवादी आदर्श र भविष्यको अभिन्न अङ्ग बनेर प्रकट भएको छ ।
उनी शव्द र कर्ममा एक भए, एउटै जीवन बाँचे, दोहोरो वा दुई किसिमको जीवन बाँचेनन् । यो नै उनको मूल विशेषता हो । बहुआयामिक व्यक्तित्व, शब्द र कर्मप्रतिकाे एकत्व, साम्यवादी महान उद्देश्य र आस्थामा समर्पित, त्यही आस्था र उद्देश्य प्राप्तिका निम्ति प्रतिक्रियावादी व्यवस्थाकाे दमनका विरुद्ध निरन्तरकाे अविचल प्रतिराेध र श्रमजीवी सर्वहारा वर्गकाे मुक्तिका निम्ति सचेततापुर्वक उच्च बलिदान । साहित्यिक, राजनीतिक तथा पत्रकारिता आन्दाेलनका एक आदर्श स्कुल । कवि, साहित्यकार, पत्रकार कृष्णसेन इच्छुककाे स्मृति दिवसमा उहाँकाे महान बलिदानकाे उच्च सम्मानसहित हार्दिक श्रद्धाञ्जली ! उहाँका शब्द, कर्म र बलिदानकाे उच्च मुल्यबाेध गराैं । पदचाप पछ्याउँदै अगाडि बढाै ! उहाँका अधुरा सपना र संघर्ष पूर गर्ने संकल्प गराै !