सन्दीप प्रकरण एक चर्चा

उच्च अदालतबाट सन्दीप लामिछानेले सफाइ पाएपछि सामाजिक सञ्जालमा व्यक्त सन्दीप पक्षीय प्रतिक्रियाहरूले हुनेखाने र सक्ने पुरुषले फेरिफेरि केटीहरू लिएर हिड्नु ,रमाइलो गर्नु र उखु झैँ चुसेर मिल्काउनु गलत हैन भन्ने पितृसत्तात्मक धारणालाई बल दिएको छ ।
यस मुद्दामा गौशाला २६ र सन्दीप दुबै खराब प्रवृत्तिका देखिन्थे । दुबै खराब हुँदाहुँदै पनि सन्दीप उमेर र व्यवहारले परिपक्क थिए । उनले गलत गर्नु र आलाकाँचाले गलत गर्नु फरक कुरा थियो । आलाकाँचालाई प्रभाव र प्रलोभनमा पारेर शोषण गरेकाले सन्दीप बढी दोषी हुन् तर उच्च अदालतको भूमिका पनि पितृसत्तात्मक समाजका निरीह महिला जस्तै निरीह नै देखियो ।
खराबलाई जति धोइपखाली गरे पनि वा लिपपोत गरे पनि त्यसको गुण खराब नै हुन्छ र खराब मानसिकताले खराबलाई नै साथ दिइरहेको हुन्छ । आज सन्दीपको पक्षमा सामाजिक सञ्जालमा देखिएको ‘उत्सव’ पनि ‘पुरुषले जे गरे पनि छुट पाउनुपर्छ’भन्ने खराब मानसिकताको उपज हो ।
सन्दीपको फैसलामाथि आएका प्रतिक्रियाहरू सर्वसाधारण देखि सेलिब्रेटीसम्मका बौद्धिकता र नैतिकताको मापक यन्त्र बनेको छ । डाक्टर देखि नेतासम्म, चिया गफ देखि सदनसम्म, प्राध्यापकदेखि चुलाचौकासम्मको प्रतिक्रियाहरू नियाल्दा महिला हिंसामाथिको धारणा छताछुल्ल नै भएको छ । न्यायको तराजु बराबर हुन नसकेकोमा भन्दा बौद्धिक र समाजले पत्याएका व्यक्तिहरूको विकृत सोचले बढी दु:ख लागेको अवस्था हो ।
अहिलेसम्म महिलालाई उपभोगको साधन ठान्ने चेतनामा टसको मस भएको रहेनछ हाम्रो समाज !
हामी राजनैतिक परिवर्तनका कुरा गर्छौ । सामाजिक र सांस्कृतिक परिवर्तनका कुरा गर्छौ तर व्यवहार र सोचाइ जहाँको तहीँ र जस्ताको तस्तै रहेको यथार्थ आज देखियो । बाउन्न प्रतिशत महिलालाई तेत्तीस प्रतिशत अधिकार छुट्याएर महिलामाथि न्याय गरेको ध्वाँस दिने लोकतान्त्रिक सरकार ‘महिलालाई प्रयोग गर र फ्याँक’ भनेर प्रशिक्षित गरिरहेछ र ताली ठोकेर समर्थन गर्नेहरूको भीड लागिरहेछ । यो भीड पितृसत्ताको लागि आफ्नै छोरीहरू उखुको खोस्टा बनेकोमा समेत ताली ठोक्न पछि पर्दैनन् भन्ने आज पक्का भयो ।
छि: आखिर छि: नै हो जसलाई सुनको थालमा राखोस् या टपरीमा । समाजका छि:हरूप्रति गर्व गर्नेहरू मानव सभ्यतालाई विकृत पारिरहन्छन् र सभ्य समाज निर्माणका बाधक बनिरहन्छन् । समाजमा उनीहरूको अस्तित्व रहेसम्म न त सिमान्तकृत वर्ग र समुदायले न्याय पाउँछ न समाजले समृद्धिको मार्ग पहिल्याउँछ ।
सन्दीपको केशले यही बताइरहेछ ।
२०८१/२/३