सशक्त प्रतिरोधी मन्तव्य र काव्यिक सिर्जना प्रस्तुतिसहित २६ औं सांस्कृतिक प्रतिरोध दिवस भव्य रुपमा मनाइयो (फोटोफिचर)

सशक्त प्रतिरोधी मन्तव्य र काव्यिक सिर्जना प्रस्तुतिसहित २६ औं सांस्कृतिक प्रतिरोध दिवस भव्य रुपमा मनाइयो (फोटोफिचर)

काठमाडौं । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल सम्बद्ध अखिल नेपाल जनसांस्कृतिक महासंघको आयोजनामा अनामनगर घट्टेकुलोस्थित इच्छुक सांस्कृतिक प्रतिष्ठानको सभाहलमा २६ औं सांस्कृतिक प्रतिरोध दिवस सशक्त प्रतिरोधी मन्तव्य र काव्यिक सिर्जना प्रस्तुतिका साथ भव्य रुपमा मनाइएको छ । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका अध्यक्ष मोहन वैद्य किरणको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रमको अध्यक्षता महासंघका संयोजक हिरामणि दुःखी र सञ्चालन सहसंयोजक खेम थपलियाको रहेको थियो ।


कार्यक्रममा बरिष्ठ सौन्दर्य चिन्तक निनु चापागाईं, क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका कार्यालय सदस्य तथा पार्टी प्रवक्ता धर्मेन्द्र बास्तोला, कार्यालय सदस्यहरु रामसिंह श्रीस, हेमन्तप्रकाश ओली, सीताराम तामाङ, दिनेश शर्मा सागर, उदय चलाउने दिपक, प्रा.डा. जगदीशचन्द्र भण्डारी, डा.रामप्रसाद ज्ञवाली, इच्छुक सांस्कृतिक प्रतिष्ठानका अध्यक्ष मित्रलाल पंज्ञानी, क्रान्तिकारी महिला संगठनकी नेतृ शारदा महत, एकीकृत दलित मुक्ति मोर्चाका संयोजक दर्शन नेपाली, क्रान्तिकारी युवा संगठनका कार्यालय सदस्य अविनाश कुँवर, सहिद तथा वेपत्ता योद्धा परिवार समाजका संयोजक पुष्कर श्रेष्ठ, अखिल क्रान्तिकारीका केन्द्रीय संयाेजक मिलन राई लगायतका नेताहरुको आतिथ्यता रहेको थियो ।


कार्यक्रममा सामना सांस्कृति परिवारका कलाकारहरुले गीत र नृत्य प्रस्तुत गरेका थिए भने कविहरु अशोक सुवेदी, छायादत्त न्यौपाने, अग्नीराज पौडेल अराप, रोजन रखाल, पुण्यप्रसाद आचार्य, लक्ष्मी माली, इन्दिरा अधिकारी, विष्णु न्यौपाने, माेदनाथ मरहट्टा, प्रकाशचन्द्र ढकाल, अविनाश कुँबर, दर्शन नेपाली, शिला योगी, गौरी देवकोटा, सुनिता बुढाथोकी, आस्था घिमिरे, नन्दिश अधिकारी, अनिल श्रेष्ठ, बलराम तिमल्सिना, प्रनिशा कटुवाल, उषाकिरण, बसन्त बोगटी र रामप्रसाद ज्ञवालीले प्रतिरोधी काव्यिक सिर्जना प्रस्तुत गर्नुभएको थियो ।

कार्यक्रममा मोहन वैद्य किरण, हेमन्तप्रकाश ओली सुदर्शन, निनु चापागाई, प्रा.डा.जगदीशचन्द्र भण्डारी र मित्रलाल पंज्ञानीले सशक्त प्रतिरोधी मन्तव्य प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा मन्तव्य राख्दै मोहन वैद्य किरणले सुरुमा देश र जनताको मुक्तिका निम्ति प्राणको आहुति दिनु भएका अनेकोट लगायत सम्पूर्ण सहिदहरुहरुप्रति श्रद्धाञ्जली अर्पण गर्नुभयो र सहिदहरुले देखाएको बाटोमा दृढतापुर्वक अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

उहाँअघि बोल्नुहुने निनु चापागाई र रामप्रसाद ज्ञवालीले प्रस्तुत कविताका विषयमा केही टिप्पणी गरेपछि उहाँले पनि कार्यक्रममा प्रस्तुत गरिएका कविताहरु अन्तर्वस्तुका हिसाबले सबल र रुप÷कला पक्षका हिसाबले अलि कमजोर रहेको बताउनु भयो । उहाँले कविहरुलाई अन्तर्वस्तुका साथसाथै रुप र कला पक्षमा पनि ध्यान पु¥याउन सुझाब दिनुभयो ।

प्रतिध्रुवीय कित्ताले प्रगतिवादलाई नकारात्मक रुपमा टिप्पणी गर्ने गरेको चर्चा गर्दै उनीहरुले रुपवाद र कलावाद पकड्ने तर अन्तरवस्र्तुलाई छाड्ने गरेको बताउनु भयो । अन्तर्वस्तु र रुपमध्ये जहिल्यै अन्तर्वस्तु प्रधान हुनुपर्नेमा उहाँको जोड थियो ।
उहाँले समाजवादी यथार्थवादमा आधारित साहित्य सिर्जना तथा काव्यिक सिर्जनाहरु सत्यम्, शिवम् र सुन्दरम्को मान्यतामा आधारित हुनुपर्ने भन्दै सत्यम (यथार्थ) शिवम्– (हित÷कल्याण) सुन्दरम् (कलात्मक÷आकर्षक) अर्थात् संज्ञानात्मक, संकल्पात्मक (लक्ष्य र व्यवहारको छनौट) र सौदर्यात्मकतामा विशेष जोड दिनु भयो ।

उहाँले क्रान्ति र प्रतिक्रान्तिका विषयमा पनि बोल्दै भन्नुभयो, “ क्रान्ति र प्रतिक्रान्ति भइरहन्छन् । क्रान्तिका लागि लगातार प्रयत्न गरिरहनुपर्छ । जित हारको लामो श्रृङखला रहिरहन्छ । माओले भनेजस्तै सर्वहारावर्गको अधिनायत्व अन्तर्गत निरन्तर क्रान्तिको सिद्धान्तलाई क्रान्तिकारीहरुले दह«ोसँग आत्मसात गर्नुपर्दछ ।” उहाँले क्रान्तिमा तीन जादुगरी हतियारको आवश्कता पर्ने भन्दै सांस्कृतिक जागरण पैदा नगरी क्रान्ति सम्पन्न गर्न नसकिने बताउनु भयो । उहाँले बन्दुक र कलमको एकत्वमा जोड दिनुभयो । नेपालको कम्युनिस्ट आन्दोलनमा पुरानो संसदीय व्यवस्थालाई टिकाउने र त्यसका विरुद्ध लड्ने गरी दुई धार रहेको विश्लेषण गर्दै जनतामा खाली संसदीय व्यवस्था टिकाउन खोज्ने संशोधनवादी र अवसरवादी कम्युनिस्टहरु मात्रै कम्युनिस्ट हुन् कि भन्ने भ्रम रहेको भन्दै संसदीय व्यवस्थाका विरुद्ध लड्ने कम्युनिस्ट धारलाई सशक्त रुपमा स्थापित गरेर लैजानुपर्ने आवश्यकता रहेकोमा जोड दिनुभयो ।

कार्यक्रममा नेता सुदर्शनले क्रान्ति सम्पन्न गर्न अहिले सूचना प्रविधि÷विज्ञान प्रविधि तथा डिजिटल युगमा युगसापेक्ष तीन जादुगरी हतियारको आवश्यकता पर्ने कुरामा जोड दिनुभएको थियो । उहाँले अनुशासित र आजको साम्राज्यवादसित लड्न सक्ने क्रान्तिकारी कम्युनिस्ट पार्टीको विकास, क्रान्तिकारी कम्युनिस्ट पार्टीको नेतृत्वमा चल्ने कलम र बन्धुकधारी सेनाको निर्माण र संयुक्त मोर्चा तथा वैकल्पिक सत्ता निर्माण गर्न मालेमावादका वैचारिक पथप्रदर्शनबाट अगाडि बढ्नुपर्ने आवश्यकता औल्याउनु भयो ।

त्यसैगरी निनु चापागाईं सांस्कृतिक प्रतिरोध दिवस मनाउनुको अर्थ त्याग, बलिदान, सौर्यको सम्मान, सहिदका आदर्शहरु पूरा गर्ने प्रतिबद्धता, वर्गवैरीका विरुद्ध निन्दा र भत्र्सना गर्नु रहेको भन्दै नेपालमा मात्र नभएर विश्व कम्युनिस्ट आन्दोलनमा पनि ‘नयाँ मान्छे’ निर्माण गर्ने प्रयत्न नगरिएकाले प्रतिक्रान्ति भएको विश्लेषण गर्नुभयो । उहाँले भन्नुभयो, “साँस्कृतिक रुपान्तरणमा जोड दिइएन । रुसमा सांस्कृतिक क्रान्ति नै भएन । चीनमा भयो तर ढिलो सुरु गरेकाले साँस्कृतिक क्रान्ति सफल भएन । नयाँ मान्छे कसरी बनाउने ? आफ्नै टाउकोमा आगो झोस्न सक्यौ ? साम्यवादी आदर्शबाट प्रेरित हुनुपर्ने हो कि होइन ? सांस्कृतिक योद्धाहरु निर्माण गर्नुपर्ने होइन ?” उहाँले कम्युनिस्ट बन्नु भनेको ‘पुर्ण र मुक्त मानिसको विकास’ गर्नु रहेको भन्दै राजनीतिक क्रान्तिको तयारी सँगसँगै साँस्कृतिक क्रान्तिमा पनि जोड दिनुपर्ने आवश्यकता औल्याउनु भयो ।

प्रा.डा. जगदीशचन्द्रले सांस्कृतिक प्रतिरोध दिवस मनाउनुको अर्थ क्रान्ति÷संघर्षप्रतिको प्रतिबद्धता व्यक्त गर्नु हो भन्दै सहिदका अवकल्पना, स्वप्न र विचारको तुफानलाई कुनै पनि शक्तिले रोक्न नसक्ने बताउनु भयो ।

त्यसैगरी मित्रलाल पंज्ञानीले क्रान्ति भनेको प्वाइन्ट अफ टाइम नभएर पिरियड अफ टाइम भएको भन्दै क्रान्तिको क्षणिक असफलताबाट क्रान्तिकारीहरु निराश हुन नहुनेमा जोड दिनुभयो । उहाँ क्रान्तिकारी संस्कृतिको बारेमा संक्षिप्त चर्चा गर्दै क्रान्तिकारी रुपान्तरणबिना क्रान्तिको नेतृत्व गर्न नसकिने कुरामा स्पष्ट पार्नुभयो ।

आफ्नो कविता प्रस्तुत गर्ने क्रममा रामप्रसाद ज्ञवालीले साहित्य तथा काव्यिक रचनाहरु क्रान्तिकारी पार्टी पंक्ति तथा जनपंक्तिमा उर्जा भर्ने खालका जोशिला हुनुपर्ने आवश्यकता औल्याउनु भएको थियो ।