दलाल पूँजीवादको कब्जामा परेको गणतन्त्र

नेपालको राजनीतिमा अचम्मलाग्दा घटनाक्रमहरुको विकास हुनेक्रम जारी छ । मुख्यत ०६३ पछिका घटनाक्रमहरुलाई हेर्दा केही पक्षहरुले नेपालमा पहिलो त देशलाई आर्थिक, सामाजिक र राजनीतिकरुपमा अलग, थलग गराएर सकेसम्म बिघटनमा पुर्‍याउने प्रयास गरिरहेका छन् । दोश्रो कम्युनिष्ट शक्तिहरुलाई अगाडि बढ्न नदिने प्रयास पनि गरिरहेको सहजै बुझ्न सकिन्छ । देशलाई अलग, थलग बनाउनका लागि संघीय शासनको प्रयोग गरिएको छ । खासमा नेपालमा लागू गराइएको संघीयता नक्कली हो । कम्युनिष्टहरुलाई अगाडि बढ्न नदिनका लागि कम्युनिष्ट राजनीतिका मर्म मर्ममाथि प्रहारगर्ने कामहरु भैरहेका छन् । यस्तो अवस्थामा आफूलाई क्रान्तिकारी बताउने तर ब्यवहारले क्रमश: बर्तमान सत्ताको नजिक बन्दैगएका एकजना नेतालेसमेत गतसाताको एक कार्यक्रममा नेपालको गणतन्त्र दलाल पूँजीवादको कब्जामा परिसकेको ठोकुवा गर्नुभएको थियो । जुन आजका सन्दर्भमा छलफल लायक बिषय भएको छ । सोही कार्यक्रममा दलाल संसदीय व्यवस्थाको अन्त्य नगरेसम्म समाजवाद ल्याउन नसकिने र वैज्ञानिक समाजवादी शिक्षासमेत लागूगर्न नसकिने कुराहरु पनि उठेका थिए । केहीबाट नेपालमा साम्राज्यवाद प्रत्यक्षरुपमै आइसकेकाले नेपाल छिमेकी र शक्ति राष्ट्रहरुको टकरावको किडास्थल बन्ने खतरामा रहेको चर्चा पनि भएको थियो । साम्राज्यवादलाई नेपालबाट परास्तगर्न माओवादी घटक, समाजवादी शक्ति सम्पूर्ण देशभक्त कम्युनिष्ट शक्तिहरु गणतन्त्रवादीहरु, सच्चा लोकतन्त्रहरुवादी शक्तिहरु एकैठाउँमा उभिएर सामनागर्दै देश जोगाउनुपर्ने कुरा पनि उठेको थियो । तर सोही शक्ति/समूह नेपालमा साम्राज्यवादी हस्तक्षेपलाई प्रबेश गराउने र हालको अवस्थामा साथ सहयोगगर्दै अगाडि बढाउनेहरुसँगै सहकार्यमा रहेको देखिएको छ । त्यही दलाल पूँजीवादको कब्जामा परेको गणतन्त्रका हिमायतीहरुले समाजवादको नारा पनि दिनेगरेका छन् । बिचार र ब्यवहार नमिल्ने केही समूहहरुको मोर्चा बनाएर त्यसलाई समाजवादी मोर्चाको नामाकरण पनि गरिएको छ । जसले स्पष्टरुपमा समाजवादलाई भाँड्ने कामहरु पनि तीब्ररुपमा भैरहेको स्पष्ट गरेको छ । बिद्यमान राजनीतिक ब्यवस्था दलाल पूँजीवादी व्यवस्थानै हो । हाल नेपालमा गणतन्त्रका नाममा जेजस्ता गतिबिधिहरु भैरहेका छन् ति खासमा गणतान्त्रिक खालका छैनन् । राजा नहुँदैमा मात्र सबै राजनीतिक ब्यवस्था गणतान्त्रिक हुन सक्दैनन् । दलाल पूँजीवादको चरित्र भनेकै साम्राज्यवादी शक्तिसँग साँठगाँठगर्नु हो ।
हाल देशमा बिद्यमान राजनीतिक ब्यवस्था र सरकार दुबै साम्राज्यवादबाट पालित–पोषित रहेको स्पष्ट छ । यहाँ सामन्ती तथा औपनिवेशिक अवस्था कायम रहँदासम्म दलाल पूँजीवाद कायम रहन्छभन्ने पनि स्पष्ट छ । त्यसैले कतिपय आफूलाई कम्युनिष्ट भन्न रुचाउने समूहहरुले जानजान नेपालमा नेपाली कांग्रेस र अन्तराष्ट्रियरुपमा भारतीय विस्तारवाद र अमेरिकी साम्राज्यवादसँग दीर्घकालीन गठजोड गरेका छन् । यतिबेला नेपालमा दलाल पूँजीवाद विरुद्धको संघर्ष तेज हुनसकेको छैन । बरु समाजवाद लगायतका भ्रम छरेर सोही शक्तिलाई टिकाउने र अगाडि बढाउने कामहरु भैरहेका छन् । त्यसैलेगर्दा मुख्यत नेपालको कम्युनिष्ट आन्दोलनसमेत दिग्भ्रमित बन्दै गैरहेको देखिएको छ । विश्वमा पछिल्लो समयमा जब कम्युनिष्ट राजनीतिले विश्वब्यापि आकार र प्रभाव धारणगर्दै गयो, तव पूँजीवाद पनि नयाँ स्वरुपमा देखापर्न थालेको छ । नेपालजस्तो अर्धसामन्ती तथा अर्धऔपनिवेशिक मुलुकमा सामन्तवाद र उपनिवेशवादको घनिष्ठ सम्बन्ध रहेको हुन्छ र त्यसैबाट दलाल पूँजीवादको उदय भएको पाइएको छ । देखिएको पनि छकि दलाल पूँजीवादी बर्ग परजीवि बर्ग हो । जसको अस्तित्व साम्राज्यवादमाथि निर्भर गर्दछ र साम्राज्यवादलाई साथ सहयोग पनि दिन्छ । दलाल पूँजीपति बर्ग साम्राज्यवादीहरुको अभिन्न सहयोगी हो । नेपालमा ०६२ मा जनयुद्धमाथि धोखेबाजी भएर बिद्यमान राजनीतिक ब्यवस्थाको रचना गरिएको हो । यसका रचनाकारहरुले आफूलाई खुलेयाम १२ बुँदे सहमतिको संगठककारुपमा परिचय दिन रुचाउँछन् । सोही कारणले होला उनीहरु आफूमाथिको आलोचनालाई मात्रपनि बर्तमान राजनीतिक ब्यवस्थामाथिको प्रहार ठान्ने गर्दछन् । खासमा कुनैपनि सरकारहरुको आलोचनागर्नु राजनीतिक ब्यवस्थाकै बिरोध गर्नु होइन । तर ०६३ पछि नेपालमा लागूगराइएको राजनीतिक ब्यवस्था विश्वमा चिनिएका साम्राज्यवादी/बिस्तारवादी मुलुकहरुको गठजोडमा बनेका कारण उनीहरु त्यसमा आफ्नो पनि अस्थित्वसमेत जोडिएको ठान्दछन् । इतिहासलाई पल्टाएर हेर्दा के स्पष्ट हुन्छभने दलाल पूँजीपति शब्दको प्रयोग १९ औँ शताब्दीमा चीनमा विदेशी कम्पनीका स्थानीय ब्यापारिक प्रतिनिधिहरुलाई चिनाउन गरिन्थ्यो । पछि विदेशी पूंजिसँग सम्बद्ध सबै क्षेत्रका पूँजीपतिहरुलाई समेटन ब्यापक पारिएको पाइएको छ । यि परिघटनाहरुले दलाल पूँजिपति भनेको विदेशी पूँजिपतिका स्थानीय एजेन्टमात्र नभएर स्थानीयरुपमा लगानीगर्ने विदेशी पूँजीपतिहरु समेत रहेको अथ्र्याएको छ । उपरोक्त परिभाषाले दलाल पूँजीपति बर्ग साम्राज्यवादी मुलुकका पूँजीपतिहरुका एजेन्ट हुन्भन्ने स्पष्ट गरेको छ । जसको चरित्र स्वदेशी उद्योग/ब्यवसायलाई बिस्थापित गरेर विदेशी र खासगरी साम्राज्यवादी मुलुक सम्बद्ध पूँजीलाई प्रश्रय दिनुहुन्छ । नेपालमा यसअघि विदेशी पूँजी सोझै आउने गरेको थियोभने अब त्यसलाई एजेन्टहरुमार्फत ल्याउने प्रयास भैरहेको छ । त्यसैका लागि बर्तमान सरकारले आगामी बैशाख १६ र १७ गते नेपालमा अन्तराष्ट्रिय लगानी सम्मेलन गराउँदै छ । सो सम्मेलनका लागि स्वतन्त्ररुपले विश्वब्यापि आह्वान नगरेर पहिले आफूलाई अनुकूलपर्ने बिभिन्न उद्योगपति तथा ब्यापारीहरुसँग सम्पर्कगर्ने र उनीहरुसँग कमिशनलगायतका कुराहरु मिलेपछिमात्र लगानी सम्मेलनमा आमन्त्रणगर्ने प्रयासहरु भैरहेका छन् । पछिल्लो समयमा नेपालको उद्योग/ब्यवसायको बिस्थापन तीब्र ढंगले भैरहेको छभने मुख्यत भारतीय र अमेरिकी धुरीमा रहेका उद्योगी ब्यवसायीहरुलाई नेपालमा लगानीगर्न प्रोत्साहित गरिँदैछ । खासमा त्यसका पछाडि विदेशी लगानीकर्ताको आबरणमा नेपालका नव धनाढ्य बनेकाहरुको कालोधनको प्रयोग हुने संभावना र संकेतहरु पनि देखिएका छन् । नेपालको सस्तो कच्चा पदार्थ र श्रमशक्तिलाई प्रयोग गरेर विदेशीलाई नाफा दिलाउने प्रयासहरु तीब्ररुपमा भैरहेको छ ।
विदेशबाट आउने पूँजी जुन प्रक्रियाबाट आए पनि त्यो साम्राज्यवादी देशहरुका पूँजीतिहरुको प्रत्यक्ष सेवागर्ने र स्थानीय सामन्तवादी ब्यवस्थासँग साँठगाँठ बढाउने खालको हुन्छ । त्यसैका लागि नेपालका शासकहरुले निर्वाचन र सत्तामा जानका लागि बिचारबिहीन गठबन्धन र बिभिन्न पदहरुमा आलोपालो प्रणालीको विकास गरेका छन् । उनीहरुले बेलाबखत आफ्नो हातबाट सत्ता गुमेको खण्डमा बिद्यमान राजनीतिक ब्यवस्था पनि संकटमा पर्ने समेत बताउने गरेको पाइन्छ । ०६३ को राजनीतिक परिवर्तनपछि नेपाल सुनियोजित ढंगले साम्राज्यवादीहरुको कब्जामा परेको छ । जसले आर्थिक, सामाजिक र राजनीतिकरुपमा नेपाललाई अलग, थलग गराउने तीब्ररुपमा काम गरिरहेको छ । संसारमा यसअघिनै असफल भैसकेका राजनीतिक ब्यवस्था र नीतिहरुलाई नयाँ आबरण दिएर नेपालमा स्थापित गराउने प्रयास भैरहेको छ । हालै नेपालका केही व्यापारिहरुले नै यहाँको उद्योग तथा वाणिज्य क्षेत्रमा भारतीय मूलका अर्बपति मारवाडीहरुको नियन्त्रण रहेको खुलाशा पनि गरेका थिए । उनीहरुले त्यसको बिरोध गरेजस्तो गरेर नेपालमा राजतन्त्र पुन: स्र्थापनाको सपना पनि देख्नथालेका छन् । मुख्यत नेपालमा क्रान्तिकारी कम्युनिष्ट पार्टी, नेपाल लगायतका केही समूहहरुले जनगणतन्त्रको नाम लिनासाथ उनीहरुमा अस्वाभाबिक ढंगले छटपटी बढेको देखिएको छ । नेपालमा हाल जुन गणतान्त्रिक ब्यवस्था रहेको बताइन्छ, त्यो खासमा नीतिगत हिसावले गणतन्त्रनै होइन । यो खासमा मयुरको प्वाँख लगाएको काग भनेजस्तो मात्र हो । जसलाई छोटो र स्पष्ट शब्दमा दलाल पूँजीवादको कब्जामा रहेको गणतन्त्र भन्न सकिन्छ । त्यसले शोषित पीडित नेपाली जनताको हितका लागि काम गर्दैनभन्ने आफैमा स्पष्ट छ ।