खारा एक क्रान्तिको बिम्ब । जहाँ क्रान्तिकारीको दियो जलेको थियो । सयौं योद्धाहरूका रगतले सिँचित भएको ठाउँ । जुन गाउँमा ६ जनालाई एउटै लाइन लगाएर एउटै गोली हानेर हत्या गरिएको र १० जना समेत गरी सोह्र जनाको सामुहिक हत्या गरिएको थियो । ८० वटा घरगोठ आगजनी गरी श्वेत आतङ्क मञ्चाएको थियो तत्कालीन पुलिस प्रशासनले । त्यो दृश्यले उहाँको मनमष्तिष्कमा राज्यप्रति घृणा र क्रान्तिकारीहरू प्रति गहिरो माया बढेको थियो ।

२०५२ सालमा जनताको मुक्तिका लागि जनताद्वारा गरिएको जनयुद्धको समयमा राज्यद्वारा गरिएको दमन, हत्या हिँसा देशभित्र सीमित थिएन । विश्वका कुनाकुनामा खारा घटना चर्चित थियो ।

त्यही शोसित पीडित समाजभित्र २०३९ असार २९ गते बुबा भिमबहादुर वली र आमा रामली वली (बेलमती) को कोखबाट तत्कालीन खारा – ९ जिवाङ, हालको त्रिबेणी गाउँपालिका वडा नम्बर – ५ जिवाङमा कान्छो छोराका रुपमा जन्मिएका थिए सहिद चन्द्रप्रकाश वली (कमरेड चैतन्य प्रकाश वली) ।

सानै उमेरदेखि हक्कि निडर स्वाभावका चन्द्र स्थानीय जिबाङ स्कुलमा प्रारम्भिक शिक्षा हासिल गर्दैगर्दा तत्कालीन राज्यको दमन देख्नु भएका चैतन्य माओवादी जनयुद्धको सकारात्मक प्रभाव उहाँको मनमष्तिष्कमा गडिसकेको थियो । माध्यमिक शिक्षा त्रिबेणी माध्यमिक विद्यालय सिमरुतुमा भएको थियो । सोही विद्यालयमा अध्ययनरत रहँदारहँदै अखिल (क्रान्तिकारी)मा जोडिनु भएको उहाँ जिबनको अन्तिम दिनसम्म आउँदासम्म अ.ने.रा.स्व.वि.यु. एरिया अध्यक्ष, बैकल्पिक जिल्ला सदस्य, तत्काल नेपाल कम्युनिस्ट पार्टी (माओवादी) गाउँ कमिटी सदस्य हुनुहुन्थ्यो ।

छोटो समयमा उहाँले एरिया स्तरका सबै विद्यालयमा पुगेर अखिल (क्रान्तिकारी)को झण्डा मुनि सयौं विद्यार्थी गोलबन्द गराउनु भएको थियो । स्थानीय स्तरमा हुने सामाजिक कार्यमा सानैदेखि सकृय चैतन्य सानै उमेरमा चर्तित हुनुहुन्थ्यो । उहाँको भूमिका योगदान देश र जनताको लागि निरन्तर पार्टी र क्रान्तिमा सिङ्गो जीवन समर्पण गरेर हिडेको मुक्ति र मृत्युको कसम खाएर रातो टीका निधारमा लगाएर आजिबन पार्टीको लागि भनेर समर्पित भएको एक लाल योद्धाको रुपमा परिचित हुनुहुन्थ्यो ।

देशमा चलेको महान् जनयुद्धकै क्रममा २०५८ साल मङ्सिर ८ गते तात्कालीन शाही सैन्य क्षेत्रमा माओवादीले आक्रमण गर्‍यो । त्यसपछि सरकारले देशभर सङ्कटकाल जारी गर्‍यो । जनतामा लादिएको सङकटकालपछि बौलाएको तत्कालीन शाही नेपाली सेनाले गाउँगाउँमा अप्रेशन गरेर फासिवादी व्यवहार प्रदर्शन गरिरहेको थियो । अखिल (क्रान्तिकारी) ले २०५८ फालगुन १४ गते मा.वि. मुरुमा सहिद दिलबहादुर रम्तेलको स्मृति कार्यक्रम आयोजना गरेको थियो । उक्त कार्यक्रम सञ्चालन गरी १५ गते बिहान पार्टीको कार्यक्रममा सहभागी हुन जाँदै गर्दा सिआईडी तथा स्थानीय सुराकी मार्फत सेल्टर लिएर बसेको स्थानबाट चैतन्यलाई शाही नेपाली सेनाले गिरफ्तार गर्‍यो । गिरफ्तारीपछि सोही दिन सतिपोलेमा रहेको सैनिक ब्यारेकको एक टुकुटीले निगालो र बासको तिखोतिखो टुप्पो बनाएर सोही बासको भालाले घोचिघोचि रक्ताम्य बनाउँदै निर्ममतापूर्बक यातना दिए । सोही यातनापश्चात मुरु खोलामा हत्या गरेको थियो ।

उहाँको हत्या पश्चात तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (माओवादी) का स्थानीय नेता तथा कार्यकर्ताहरूले उहाँको शवमा पार्टीको झण्डा ओढाएर अन्तिम बिदाई गरी अन्तेष्ठी गरे । अन्त्यष्ठीपछि घर परिवारलाई कमरेड चैतन्यले शाहदत प्राप्त गरी सहिद भइसक्नु भएको सुचना पुर्‍याएका थिए ।

हाल उहाँका बुबा दाजु मनबहादुर वली, भाउजू मिना वली र भतिजाहरू समेत तुलसीपुर – ७मा बसाइँसराई गर्नु भएको छ ।
प्रस्तुति : ईश्वरीप्रसाद गैरे

प्रतिक्रिया

सम्बन्धित खवर