चैत्र २४ सम्म संघर्षका कार्यतालिका बनायो क्रान्तिकारी कम्युनिस्ट पार्टी प्रदेश ३ ले, आज वायुसेवा निमगममा भएको भ्रष्टाचारका विरुद्ध धर्ना र विरोधसभा

चैत्र २४ सम्म संघर्षका कार्यतालिका बनायो क्रान्तिकारी कम्युनिस्ट पार्टी प्रदेश ३ ले, आज वायुसेवा निमगममा भएको भ्रष्टाचारका विरुद्ध धर्ना र विरोधसभा

काठमाडौं । पार्टीको घोषित संघर्षका कार्यक्रम अनुसार क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल प्रदेश ३ ले संघर्षका कार्यक्रमको तालिका सार्वजनिक गरेको छ । घोषित कार्यतालिका अनुसार आज माघ २१ गते वायुसेवा निगममा भएको अनियमितता र भ्रष्टाचारको विरुद्धमा न्यूरोड गेटमा विरोध प्रदर्शनको आयोजना गरिएको छ । धर्ना र विरोधसभालाई प्रदेश ३ का नेताहरुले सम्बोधन गर्नुभएको छ ।

घोषित संघर्षका कार्यक्रम अनुसार माघ २३ गते विद्याुत प्राधिकरण कार्यालयमा एमसीसी परियोजनाका विरुद्ध संघर्षरत लप्सीफेदीका जनताहरुको मागलाई समेत समावेश गरी ज्ञापन पत्र बुझाउने कार्यक्रम रहेको छ भने माघ २४ गते सर्वोच्च अदालतको कार्यादेशको कार्यान्वयन गर्न माग गर्दै सरकारका विरुद्ध भूतपूर्व गोर्खाहरुको संगठन विगेसोले विरोधसभा गर्ने कार्यक्रम रहेको छ ।

त्यसैगरी माघ २६ गते लैनचौरस्थित एनसेलको प्रधान कार्यालयमा तालाबन्दी गर्ने कार्यक्रम रहेको छ । सोही दिन देशका अन्य ठाउँमा भएका एनसेलका कार्यालयहरुमा पनि तालाबन्दी गर्ने कार्यक्रम रहेको सम्बद्ध स्रोतले जनाएको छ ।

त्यसैगरी क्रान्तिकारी कम्युनिस्ट पार्टीले सहकारीहरुमा बढ्दो वित्तीय बद्मासी, भ्रष्टाचार र जनसर्वसाधारणको बचतमाथि गरिएको व्यापक हिनामिनाको विरोधमा माघ २८ गते पुल्चोकस्थित सहकारी बोर्डको कार्यालयमा विरोध प्रदर्शनको कार्यक्रम तय गरेको छ ।
जनयुद्ध दिवसको पूर्वसन्ध्यामा क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले उपत्यका लगायत देशैभर दिपावली मनाउने कार्यक्रम यसअघि नै घोषणा गरिसकेको छ । सोही अनुसार प्रदेश ३ का जिल्लाहरुमा पनि जनयुद्ध दिवसको पूर्वसन्ध्यामा व्यापक रुपमा दिपावली गरिनेछ ।

फागुन १ गते अर्थात् जनयुद्धको २९ औं वर्षगाँठको अवसरमा उपत्यकाका तीन जिल्लाको जनशक्ति केन्द्रित गरी कुपण्डोलमा विशेष कार्यक्रमका साथ जनयुद्ध दिवस मनाउने सो पार्टीको प्रदेश ३ को कार्यालयले जनाएको छ ।
त्यसैगरी क्रान्तिकारी कम्युनिस्ट पार्टी प्रदेश ३ ले वैदेशिक रोजगारीमा जाने मजदुरहरुमाथि भइरहेको ठगी विरुद्ध वैदेशिक रोजगार विभागको कार्यालयमा फागुन ६ गते विरोध प्रदर्शन गर्ने कार्यक्रम तय गरेको छ ।

फाल्गुन १० गते भ्रष्टाचारी विरोध सभाको अयोजना गरिएको छ । राष्ट्रिय गौरव भनिएका ठूला आयोजनाहरुमा भएका भ्रष्टाचारका विरुद्ध प्रदर्शन र विरोध गर्ने कार्यक्रम तय गरिएको छ । यो विरोध प्रदर्शन तथा सभालाई उपत्यकाको तीनै जिल्लाको जनशक्तिलाई केन्द्रित गर्ने समेत सम्बद्ध स्रोतले जनाएको छ । उपत्यका बाहिरका जिल्लाहरुमा पनि भ्रष्टाचारी विरोधसभाको आयोजना गर्न सर्कुलर गरिएको छ ।

फागुन १४ देखि २१ सम्म सहिद तथा वेपत्ता योद्धा परिवारहरुसँग भेटघाट अन्तरक्रिया र सम्मान कार्यक्रमसहित सहिद सप्ताह मनाउने कार्यक्रम तय गरिएको छ भने फागुन २५ गते प्रदेशका तीन वटै उपप्रदेशमा आठ मार्च (महिला दिवस) भव्य रुपमा मनाउने निर्णय गरिएको छ ।

त्यसपछि सबै संघर्षका कार्यक्रमहरुको उत्कर्षको रुपमा चैत्र २४ गते केन्द्रीय संघर्षको कार्यक्रम अनुसार जनआन्दोलन दिवस मनाउन विशेष तयारी गर्ने निर्णय गरिएको सम्बद्ध पार्टीको प्रदेश कार्यालयले जानकारी दिएको छ ।