काठमाडौं । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल निकट मजदुर संगठन अखिल नेपाल क्रान्तिकारी ट्रेडयुनियन महासंघको चार महिने ‘कारखानामा जाऔं’ अभियान जारी छ । कामदार तथा मजदुरहरुमाथि हुने सबैखाले अन्याय बिरुद्ध सशक्त उत्रँदै दवावमार्फत उत्पन्न श्रमविवाद हल गर्ने काम पनि महासंघले सँगसँगै गर्दै आएको छ ।
महासंघले श्रमिक मजदुरहरुको निमित्त उचित ब्यवहारिक सामाजिक सुरक्षाको माग गर्दै आएको छ । त्यसैगरी बजार महंगीको अनुपातमा पारिश्रमिक वृद्धि गरिनुपर्ने र बैज्ञानिक तलवमान कायम गरिनुपर्नेमा समेत महासंघले बिशेष जोड दिदै आएको छ । महासंघले अभियानको क्रममा मजदुर जागरणसँगै कारखानामा काम गर्ने मजदुरहरुलाई संगठित पनि गर्दै पनि आएको छ । अभियानकै क्रममा माघ १५ गते काठमाडौंको थापाथली स्थित निर्माणाधिन भवनमा कार्यरत निर्माण मजदुरहरु संगठित भएका छन् ।
नेपाल राष्ट्र बैंकको उक्त भवनमा कार्यरत इलेक्ट्रिकल वायरिङ,फल्सिलिङ्ग ,बोर्ड पार्टेशन,प्लम्विङ्ग र अन्य विभिन्न प्रकृतिका मजदुरहरु महासंघको घटक संगठन निर्माण मजदुर संघमा एक कार्यक्रमका बीच संगठित भएका हुन् ।
क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका केन्द्रीय सचिवालय सदस्य कमरेड आकाश, केन्द्रीय सदस्य कमरेड सुरेश र पार्टी निकट महासंघको प्रदेश–३सम्मेलन आयोजक समिती संयोजक कुमार घताने, सहसंयोजक सरोज न्यौपाने, प्रदेश समिति सदस्य शेर बहादुर मगर लगायतको उपस्थिति रहेको उक्त कार्यक्रमले पदम ब्लोनको नेतृत्वमा ११ सदस्यीय इकाई कमिटी निर्माण गरेको हो । इकाई किमिटिमा संगठित हुनु भएका मजदुरहरुमा पदम ब्लोन–संयोजक र सदस्यहरुमा गणेश तामाङ, दिलिप के.सि., जित बहादुर थापा, लिला वाइवा, विशाल खत्री, राम बहादुर राई, बिबेक राई, देवराज राई, सञ्जय राई, सुवास राई रहेका छन् ।
नवगठित इकाइ कमिटिलाई अभियानमा उपस्थित नेताहरु सुरेश र कुमारले अभियानबारे थप प्रष्ट पार्दै प्रशिक्षण मन्तव्यसहित बधाइ तथा शुभकामना दिनुभएको थियो।