विश्व सर्बहारा बर्गका महान नेता लेनिनको निधन भएको हिजो जनवरी २१ ( माघ सातगते) १०० वर्ष पुगेको छ । उहाँको निधन सन् १९२४ जनवरी २१ मा ५३ वर्षको उमेरमा भएको थियो । विश्वभर हिजो लेनिन शताब्दी स्मृति दिवस मनाइएको छ र उहाँका योगदानहरुको स्मरण गरिएको छ । व्लादिमिर इल्यिच लेनिनको जन्म सन् १८७० को अप्रिल २२ मा रुसमा भएको थियो । माक्र्स, एङ्गेल्सले प्रतिपादन गर्नुभएको क्रान्तिकारी दर्शन र वैज्ञानिक समाजवादको विकास र प्रयोगमा उहाँको ठूलो योगदान रहेको छ । उहाँले नै विश्वमा पहिलो पटक माक्र्सवादलाई सही किसिमले प्रयोग गरेर शोषित पीडित जनताको राज्यसत्ताको स्थापना गर्नुभएको थियो । लेनिन बास्तवमा विश्व समाजलाई आमूलरुपमा अग्रगामी परिवर्तनको मार्गदर्शनगर्ने आधुनिकतम दर्शन माक्र्सवादका सफल प्रयोगकर्ता मानिनु हुन्छ । संसारभर उहाँको नेतृत्वमा रहेको बोल्सेभिक पार्टीका योगदानहरुको आज पर्यन्त स्मरण गर्नेगरिन्छ । किनकि लेनिनकै नेतृत्वमा रुसमा समाजवादी क्रान्ति सम्पन्न भएको थियो । उहाँ माक्र्सवादका व्याख्याता र लेनिनवादका प्रवर्तक तथा माक्र्सवादका पहिलो प्रयोगकर्ता समेत मानिनुहुन्छ । लेनिनले पूँजीवादको मरनासन्न अवस्था साम्राज्यवाद हो र साम्राज्यवादी युग साम्राज्यवाद र सर्वहाराबर्गबीचको भीषण बर्गसंघर्ष युग होभन्दै साम्राज्यवाद वैज्ञानिक समाजवादी क्रान्तिको पूर्वबेला होभन्ने संश्लेषणसमेत गर्नुभएको थियो । रुसि सर्वहारा क्रान्तिमार्फत विश्व सर्वहारा बर्गको सत्ता साम्यवादका उदयकर्ता लेनिनका योगदानहरु आज पनि त्यतिकै सान्दर्भिक र चर्चित रहेका छन् । इतिहासको अध्ययनगर्दा के थाहा हुन्छभने पहिलो पटक रुसमा सन् १८८३ मा माक्र्सवादी समूहको विकास भएको थियो । जुन प्लेखानोभको नेतृत्वमा गठन गरिएको मजदूर मुक्ति संगठन थियो । त्यहिनै रुसमा स्थापित कम्युनिष्ट पार्टी थियो । जसलाई लेनिनले नै नयाँ ढंगले विकास गर्नुभएको थियो । लेनिनवादलाई माक्र्सवादको गुणात्मक विकासको दोश्रो चरण मानिन्छ । पूँजीवादले साम्राज्यवादमा प्रवेशगर्नु उत्पादन शक्ति, सर्वहारा आन्दोलन तथा ज्ञान विज्ञानका बिविध क्षेत्रमा थप प्रगतिहुँदै जानु तथा त्यस प्रकारको नयाँ परिस्थिति अनुरुप माक्र्सवादलाई नयाँ ढंगले विकसित गर्नुपर्ने ऐतिहासिक आवश्यकताका बीचबाट लेनिनवादको जन्म भएको पाइन्छ । लेनिनवाद भनेको साम्राज्यवाद र सर्वहारा क्रान्तिको युगको माक्र्सवाद होभनेर पछि स्टालिनले समेत व्याख्या गर्नुभएको थियो । छोटकरीमा भन्ने होभने लेनिनवाद सर्वहारा क्रान्तिको सिद्धान्त तथा कार्यनीति र विशेषत: सर्वहारा बर्गको अधिनायकतन्त्रको सिद्धान्त र कार्यनीति हो । माक्र्सवादी सिद्धान्त र विश्व दृष्टिकोणकाबारेमा लेनिनका महत्वपूर्ण ब्याख्या र बिश्लेषणहरु रहेका छन् ।
लेनिनवादको सिद्धान्तले माक्र्सवादको विकास गरेको पाइन्छ । जसमा भौतिकवाद र द्वन्दवादकासाथै क्रान्तिकारी सिद्धान्त र कार्यनीतिमा मुख्यत: बर्गसंर्घष, सर्वहारा बर्गको अधिनायकत्व र सर्वहारा बर्गका राजनीतिक संगठनहरुको प्रश्नमा लेनिनका शिक्षाहरु अजेय रहेका छन् । वैज्ञानिक समाजवादको निर्माणमा त लेनिनका शिक्षाहरु आज पर्यन्त अनुकरणिय रहेका पाइन्छन् । लेनिनवादले माक्र्सवादको विकासमा उचाइ थपेको स्पष्ट छ । त्यसैगरी लेनिनले गरेको द्वन्दवादी पद्धतिको व्याख्या, विश्लेषण सटिक रहेको छ । उहाँले द्वन्द्वात्मक भौतिकवादको ज्ञानसिद्धान्तमा प्रतिविम्बितको सिद्धान्त ज्ञानको वक्रता तथा बहुविधताबारे पनि राम्रो ब्याख्या र बिश्लेषणा गर्नुभएको छ । लेनिनवादी संगठनात्मक सिद्धान्त धेरै महत्वपूर्ण रहेको छ । जस अन्तरगत जनवादी केन्द्रीयताको सिद्धान्तलाई वैज्ञानिकीकरण गरिएको छ । त्यसैगरी ऐतिहासिक भौतिकवादको क्षेत्रमा समाज विकासका उत्प्रेरक शक्तिको अवमूल्यनगर्ने आत्मपरकतावाद, चेतनाको भूमिकालाई नकार्ने स्वस्फूर्तवाद, जनताको भूमिकालाई निषेधगर्ने अराजकतावाद, सामाजिक चिन्तन र सामाजिक सत्तालाई एउटै ठान्ने तथा उत्पादक शक्तिको सिद्धान्तको पूजागर्ने संशोधनवादका विरुद्ध लेनिनले आफ्नो समयकालमा कडा संर्घषनै चलाउनु भएको पाइन्छ । त्यसबारे उहाँले बिभिन्न कोणबाट ब्याख्या र बिश्लेषण गरेर विश्वको ज्ञान भण्डारमा योगदानसमेत दिनुभएको छ । साम्राज्यवादको सारतत्वलाई एकाधिकार पूँजीवादकारुपमा औल्याएर सर्वहारा क्रान्तिको सिद्धान्तलाई परिमार्जनगर्ने, साम्राज्यवादको युगमा युद्धको अपरिहार्यता र हिंसापूर्ण क्रान्तिको अनिवार्यतालाई व्यवस्थितरुपमा सैद्धान्तिकरणगर्ने काममा पनि लेनिनको उल्लेखनीय भूमिका रहेको पाइन्छ । त्यसैगरी लेनिनले माक्र्सवादी लेनिनवादी विश्व दृष्टिकोणलाई क्रान्तिको कार्यदिशासँग गाँस्ने, बर्गदुश्मन तथा संशोधनवादका विरुद्ध बर्गसंर्घष दुइलाइनको संर्घषका समस्याहरुको समाधानगर्दै वैज्ञानिक समाजवादको स्थापना तथा निर्माणगर्ने काममा पनि महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको थियो । लेनिनले तत्कालीन रुसी परिवेशमा माक्र्सवादको सफलतापूर्बक प्रयोग गर्नुभएको थियो । जसबाट माक्र्सवादी दर्शनमा लेनिनवादलेसमेत स्थान ओगट्न सफल भएको थियो । तत्कालीन सोभियत रुसमा सम्पन्न भएको अक्टोबर क्रान्तिको सफलताले सिंगो विश्वलाईनै प्रभावित गरेको थियो । जसबाट नेपाल लगायत छिमेकी चीन र भारतसमेत प्रभावित भएका थिए । सो सफलताले विश्वका सबै मुलुकलाई तरंगित गरेको थियो । सोभियत रुसकै प्रेरणा र सहयोगबाट चीनमा नयाँ जनवादी क्रान्ति सम्पन्न हुनसकेको थियोभने विश्वभरीनै कम्युनिष्ट पार्टीहरुको स्थापना हुनपुगेको थियो । आज पनि विश्वमा साम्राज्यवाद र सर्वहाराबर्गका बीचमा संघर्ष चलिरहेको छ । त्यसैले लेनिनका योगदानहरु अद्यापि महत्वपूर्ण मानिन्दै आएका छन् ।
भ्लादिभिर इल्यिच लेनिनको बाल्यअवस्था र यौवन रुसको सिम्बिस्र्क शहर (हालको उल्यानोमस्क) मा बितेको थियो । लेनिनका बाजे निकोलाई उल्यानोभ निझेगरद गुबोर्नियका बासिन्दा हुनुहुन्थ्यो । उहाँ रुसी भूदास हुनुहुन्थ्योभने लेनिनको पिता इल्या निकोलाएभिच उल्यानोभ उच्च शिक्षा हाँशिल गर्नुभएका एक शिक्षित व्यक्ति हुनुहुन्थ्यो । लेनिनकी आमा मारिया अलेकसान्द्रभ्ना एक डाक्टरकी छोरी हुनुहुन्थ्यो । त्यसैले लेनिनले घरमै राम्रो शिक्षा पाउनु भएको थियो । लेनिनकी आमा बिभिन्न विदेशी भाषाकी ज्ञाता तथा साहित्य र संगीतप्रति चासो राख्नुहुन्थ्यो । लेनिन बाल्यअवस्थादेखिनै साहसी र जिज्ञासु रहेको पाइन्छ । शिक्षामा उहाँ तिष्ण हुनुहुन्थ्यो । भनिन्छ सानै उमेरमा उहाँले पुस्किन, लेभेन्तम, गोगल, तुर्गेनेभ, तिक्रासभ, साल्तिकोभ–सौद्रिन र टालस्टायकका कृतिहरु पढिसक्नु भएको थियो । लेनिनले बेलिन्स्की, गेर्चेन, चेर्निसेभ्स्की दोब्रोल्यूबोभ र पिसारेभजस्ता क्रान्तिकारी डेमोक्र्याहरुका रचनाहरु पनि पढ्न भ्याइसक्नु भएको थियो । जुन कृतिहरु त्यतिबेला प्रतिबन्धित रहेका थिए । सानैदेखि लेनिन जेठो दाजु अलेक्सान्दरका भनाई र काम गराईको अनुशरण गर्नुहुन्थ्यो । उहाँबाटै लेनिनले माक्र्सवादी साहित्यको प्रारम्भिक ज्ञान समेत हाँशिल गर्नुभएको मानिन्छ । सन् १८८७ को मार्चमा दाजु अलेक्सान्दर पिटर्सबर्गमा गिरफ्तार हुनु भएको थियो । उहाँमाथि रुसी जार अलेक्सान्दर तृतीयाको हत्याको षडयन्त्रमा सामेल भएको आरोप लगाइएको थियो । सोही बर्षको मे महिनामा अलेक्सान्दरलाई श्लिसेलबुर्ग किल्लामा फाँसी दिइयो । त्यहीँबाट लेननले आफ्नो जीवन सम्पूर्णरुपमा क्रान्तिकारी संघर्षमा लगाउने संकल्प गर्नुभएको मानिन्छ ।
लेनिनलेनै ठोस परिस्थितिको ठोस विश्लेषण माक्र्सवादको आत्मा भएको ठहर गर्नुभएको थियो । लेनिनले आफ्ना रचनाहरुमा माक्र्सवाद कुनै निर्जीव जडसूत्र, बनिबनाउ, पूर्ण, अपरिवर्तनीय सिद्धान्त नभएर कामको सजीव मार्गदर्शक सिद्धान्त होभन्ने कुरा उल्लेख गर्नुभएको छ । लेनिन पार्टी निर्माण र परिचालनका निम्ति जनवादी केन्द्रीयताको सिद्धान्त अर्थात लेनिनवादी संगठनात्मक सिद्धान्तका प्रतिपादकसमेत हुनुहुन्छ । लेनिनले समाज विज्ञानको विकासको नियमलाई ऐतिहासिक भौतिकवादी द्वन्दवादको आधारभूत सिद्धान्तका आधारमा सटिक ढंगले ब्याख्या र बिश्लेषण गर्नुभएको छ । लेनिनले सबैखाले क्रान्तिको आधारभूत प्रश्न राज्यसत्ताको प्रश्न हो । त्यसलाई राम्ररी बुझिएनभने क्रान्तिमा बुद्धिमतापूर्ण सहभागिता हुन सक्दैनभन्ने ठहरसमेत गर्नुभएको थियो । आज विश्व कम्युनिष्ट आन्दोलन रक्षात्मक अवस्थामा पुगेको छ । यसो हुनुमा माक्र्सवाद र लेनिनवादको प्रयोगमा भएका कतिपय त्रुटीहरु प्रमुख कारण रहेका छन् । आज पनि विश्व साम्राज्यवादले कम्युनिष्ट पार्टीका मूल्य, मान्यता र आदर्शमाथि तीब्रप्रहार गरिरहेको छ । सोभियत संघको बिघटनपछि विश्व कम्युनिष्ट आन्दोलनले ठूलो धक्काको महशुस गरेको छ । तर पनि विश्वभर माक्र्सवाद–लेनिनवादको प्रयोगका लागि प्रयासहरु भैरहेका छन् । विश्व साम्राज्यवाद र संशोधनवादका बिरुद्ध निर्मम संघर्ष आजको प्रमुख आवश्यकता भएको छ । जसका लागि महान लेननको स्मरण जरुरी छ ।