भारतीय दूताबासले आफूखुशी २० करोड बाँड्न पाउने सम्झौताको विरुद्ध सडकमा उत्रियो क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल, कलंकीमा कोणसभा सम्पन्न

भारतीय दूताबासले आफूखुशी २० करोड बाँड्न पाउने सम्झौताको विरुद्ध सडकमा उत्रियो क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल, कलंकीमा कोणसभा सम्पन्न

काठमाडौं । ‘उच्च प्रभावयुक्त सामुदायिक विकास आयोजना’ का नाउँमा भारतीय दूतावासले नेपालमा २० करोडसम्मका परियोजना आफूखुसी बाँड्न सक्ने भनी गरिएको सम्झौताका विरुद्ध क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल सडकमा उत्रिएको छ । सो पार्टीले काठमाडौंको कलंकीमा यो सम्झौता खारेजीको माग गर्दै विरोध कोणसभा आयोजना गरेको हो ।

कलंकी चोकमा आयोजना गरेको कोणसभालाई क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालकी नेतृ तथा क्रान्तिकारी महिला संगठनकी सहसंयोजक शारदा महतले दलाल संसदवादी शासकहरुले आफ्नो निहित सत्तास्वार्थका लागि देशको स्वाधीनता र सार्वभौमिकतालाई नै दाउमा हालेको आरोप लगाउनु भयो । उहाँले २० करोडका परियोजना भारतीय विस्तारवादले नेपालमा आफूखुशी बाँड्नु भनेको उसले नेपालमा आफ्नै सरकार चलाउनु जस्तै भएको भन्दै यो राष्ट्रघाती सम्झौतालाई तत्काल खारेज नगर्ने हो भने नेपालको स्वाधीनता पूर्णरुपमा गुम्ने स्थिति आउने दावी गर्नृुभयो ।

उहाँले संसदीय व्यवस्थाका नालायकी र फासिवादी चरित्रका कारण रोजगारी माग्दा दुई युवाहरुलाई गोली हानी हत्या गरेको भन्दै अब दलाल संसदीय व्यवस्थाका विरुद्ध सम्पूर्ण देशभक्त, वामपन्थी र क्रान्तिकारी शक्तिहरु एकजुट भएर संघर्षमा उत्रनुपर्ने बेला आएको बताउनु भयो ।

त्यसैगरी कोणसभालाई क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालका सचिवालय सदस्य तथा अखिल (क्रान्तिकारी)का इन्चार्ज हरिकृष्ण गजुरेलले यो राष्ट्रघाती, भ्रष्ट र नालायक दलाल संसदीय व्यवस्थाको अत्य गर्न अब संघर्ष गर्नुको विकल्प नरहेको भन्दै आम शोषित उत्पीडित जनतालाई संघर्षमा उत्रन अपिल गर्नुभयो ।

कार्यक्रमलाई नेता बन्धुदेव पाण्डेले समेत सम्बोधन गर्नुभएको थियो । कोणसभाको सञ्चालन नेता ज्ञानेन्द्र प्रजापतिले गर्नुभएको थियो । कार्यक्रममा दलाल संसदीय व्यवस्थाका विरुद्ध चर्को नाराबाजी भएको थियो ।