काठमाडौँ । जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु गरी शुक्रबार राति गएको भूकम्पका कारण अति प्रभावित जाजरकोट र रुकुम पश्चिमका कम्तीमा ४ सय १५ विद्यालयमा क्षति पुगेको छ । कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयका अनुसार पूर्ण र आंशिक गरी जाजरकोटका ३ सय ४९ र रुकुम पश्चिमका ६६ विद्यालयमा क्षति पुगेको हो ।

करिब एक सय विद्यालय पूर्ण रूपमा क्षति भएको प्रारम्भिक विवरण प्राप्त भएको मन्त्रालयका सचिव भोजराज काफ्लेले जानकारी दिए । भवनसँगै केही विद्यालयका आईसीटी ल्याब, पुस्तकालय, घेराबार र सोलार सिस्टममा समेत क्षति पुगेको तथ्यांक छ । भूकम्प प्रभावित जिल्लाबाट मंगलबारसम्म क्षतिको विवरण पठाउन मन्त्रालयले जिल्लास्थित शिक्षा विकास तथा समन्वय इकाइलाई सर्कुलर गरेको छ । कम प्रभावित अन्य जिल्लाबाट शिक्षण संस्थाको विवरण आउन बाँकी रहेको मन्त्रालयले जनाएको छ ।

भूकम्पमा परी मृत्यु हुनेमध्ये जाजरकोटमा एक शिक्षकसहित ११ विद्यार्थी र रुकुम पश्चिममा १३ गरी २४ जना विद्यार्थीको मृत्यु भएको त्यहाँस्थित शिक्षा इकाइले जनाएका छन् । जाजरकोटका इकाइ प्रमुख रमेश मल्लले भूकम्पमा परी निजी स्रोतमा कार्यरत एक शिक्षकको मृत्यु भएको जनाए । २ शिक्षक र ३१ विद्यार्थीसमेत घाइते रहेको उनले बताए । मल्लका अनुसार जाजरकोटमा ९२ विद्यालय भवनका ३ सय ६६ कक्षाकोठा पूर्ण रूपमा र २ सय ५७ भवनका ४ सय ७६ कक्षाकोठामा आंशिक क्षति पुगेको छ । ४३ शौचालयमा पूर्ण र ९० वटामा आंशिक क्षति भएको इकाइले जनाएको छ । ‘विद्यालयमा पुगेको क्षतिको प्रारम्भिक विवरण मात्रै आएको छ,’ उनले भने, ‘पूर्ण विवरण आएपछि विद्यालय सञ्चालनबारे निर्णय लिन्छौं ।’ जाजरकोटामा ४ सय ३२ विद्यालय छन् । ११ विद्यालयका आईसीटी ल्याब, एक पुस्तकालय, ७ विद्यालयका घेराबार र ४ विद्यालयको सोलार सिस्टममा पूर्ण क्षति भएको इकाइले जनाएको छ ।

रुकुम पश्चिमको शिक्षा इकाइ प्रमुख ताराप्रकाश पुनले पूर्ण क्षति पुगेका १५ विद्यालयका ३ हजार ६ सय विद्यार्थी प्रभावित भएको बताए । उनका अनुसार एकरएक जना शिक्षक र विद्यार्थी घाइते छन् । २, ४ र ६ कोठे विद्यालय भवनहरूमा पूर्ण र आंशिक असर पुगेको छ । ‘क्षतिको विवरण स्थानीय तहबाट संकलन भइरहेको छ,’ पुनले भने, ‘विद्यालयहरू दसैंतिहारको बीचमा बिदा नै थिए । मंसिर ४ देखि सञ्चालन हुने तालिका छ । संघ, प्रदेश र स्थानीय तहको समन्वयमा कहिलेदेखि कसरी सञ्चालन गर्ने निर्णय गर्छौं ।’ रुकुम पश्चिम २ सय ८८ वटा विद्यालय सञ्चालनमा छन् । क्षति पुगेका विद्यालयमा कक्षा सञ्चालन गर्न वैकल्पिक व्यवस्था गर्नुपर्ने इकाइ प्रमुखहरूले बताएका छन् ।

कर्णाली प्रदेशका मुख्य सचिव चूडामणि पौडेलले प्रभावित क्षेत्रमा उद्धारको काम सकिएर राहत र पुनःस्थापनाको काम थालिएको जनाए । ‘जिल्ला र स्थानीय तहमा तिहारलगत्तै विद्यालय सञ्चालन गर्ने गरी तयारी थाल्न प्रदेश सरकारले निर्देशन पनि दिइएको छ,’ उनले भने । शिक्षा तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशक दीपक शर्माले भूकम्पले प्रभावित जिल्लाबाट शिक्षण संस्थामा पुगेको क्षतिको विवरण संकलन भइरहेको जनाए । ‘विद्यालय भवन पूर्ण रूपमा भत्केको, चिरा परेर बस्न नसक्ने भएको, स्थानीयले आश्रय स्थलमा प्रयोग गरेको खबर आएको छ,’ उनले भने, ‘सकभर चाँडो विद्यालय सञ्चालन गर्न स्थानीय तहसँग समन्वय र पहल भइरहेको छ ।’ क्षति पुगेका विद्यालयले वैकल्पिक व्यवस्था गरेर कक्षा सञ्चालन गर्नुपर्ने शर्माले जनाए । त्यसका लागि स्रोत केन्द्रहरू तोकेर पठनपाठन गराउन सकिने उनको भनाइ छ । ‘छिट्टै विद्यालय खोल्न सकभर विद्यालयलाई भूकम्पपीडितको सेल्टर नबनाउन आग्रह गरेका छौं ।’

गृह मन्त्रालयको विपद् पूर्वतयारी तथा प्रतिकार्य शाखाले जाजरकोट, रुकुम पश्चिम, रुकुम पूर्व, सल्यान, रोल्पा, नवलपरासी पूर्व, दाङ, बैतडी, जुम्ला र प्यूठानसहित ११ जिल्लालाई प्रभावितमा राखेको छ । यी जिल्लाका घर र विद्यालयमा भूकम्पले क्षति पुर्‍याएको छ । प्रहरीका अनुसार पूर्ण र आंशिक गरी करिब ३ हजार ८ सय ९१ घरमा क्षति पुगेको छ । कर्णालीमा ३ हजार २६ सामुदायिक र २ सय १७ वटा निजी विद्यालय छन् । सोमबार साँझ पनि जाजरकोटको रामीडाँडा केन्द्र भएर भूकम्पको धक्का महसुस भएकाले भौतिक संरचनामा थप क्षति भएको हुन सक्ने अनुमान गरिएको छ । नेपाल शिक्षा समूह कर्णाली प्रदेशले क्षति पुगेका विद्यालयमा अस्थायी कक्षाकोठा निर्माण गर्न त्रिपाल, प्लास्टिकलगायत सामग्री सहयोग गर्ने निर्णय गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर