शनिबारीय साहित्य ः संस्मरण
काकरभिट्टाबाट पुर्ब जादै गर्दा २०४२ सालमा हिडेको पुल पुरानो भएछ । नयाँ पुल आठ लेनको रहेछ । एसियाली स्तरीय सडक बिकासको गति अग्रगामी भएको रहेछ मेचीपारी ।
मैले देखेको काकरभिट्टा र पानिपथ सिलगुडी बिकासको उत्कृष्टता नभए पनि नेपालभन्दा तुलनात्मक रुपमा धेरै बिकास निर्माण भएको रहेछ । हामीलाई दार्जिलिङ र सिक्किम घुम्नजाने रहर पहिलेदेखि नै थियो । त्यो अबसर मिलायो तुलसीपुर खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाले । नेपालकाे सहलगानीमा सञ्चालन भएका खानेपानी अबलोकन गर्ने, झापासम्मका देशका उत्कृष्ट खानेपानी संस्थाको भ्रमणमा काकरभिट्टा पुगेका थियौँ । एकतीस जनाको जम्बो टिमले सिक्किमसम्मको अबलोकन गर्ने राय राखेपछि निजी खर्चमा दुईदिने टुर जाने सरसल्लाह भयो ।
यही असाेज ८ गते बिहान काेशी पारिका गाडी वालाहरुसङ्ग छलफल गर्दा प्रतिव्यक्ति अठ्चालीस सय रुपैयाँको प्याकेजमा दुई दिन यात्रा गराउने सहमति भयो ।
बिहान सातबजे हाम्रो सानो महेन्द्रा जिपमा यात्रा सुरु भयो । हामी मेचिपारि पुगेपछि केही किलोमिटर एसियाली सडकमा हुइकिदै अगाडि बढिरहेको जिपको झ्यालबाट बाहिर हेर्थें । सडक वरपरका बस्ति, घर र मानिस सबै नेपाली भाषी रहेछन् । गाडी हुइकिदै छ । आफ्नो पहिचानमा नेपाली परम्परागत पुराना घरहरु, भेषभुसा नेपाली, रहनसहन नेपाली, बोलिचालि नेपाली देख्दा त्यो जिप यात्रा अबधिभर हामी नेपालकै पहाडी जिल्लामा भ्रमणमा छौ भन्ने अनुभुति हुन्थ्यो ।
जिप आफ्नो गतिमा हुइकदै एउटा गाउँमा गएर रोकियो । “ल खाजा खानुस” भन्दै जिप चालक ओर्लिए । हामी पनि ओर्लियौ र एउटा होटलमा पस्यौ । चिया पकौडा खाजा खायौं र जब हामी रुपैयाँ दिन थाल्यौं तबमात्र हामी भारतीय भुभागमा छौँ भन्ने अनुभुति भयो । त्यो ठाउँ नक्सालबाढी भन्दा रहेछन् ।
खाजापछि हामी गाडीमा चढ्याै र गाडी हुइकियो । एसियाली लोकमार्ग छोडेर साधुरो गल्तीतिर उकालो चढन थाल्यो । हामी उकालो चढदाचढदै चिया बगानहरु देखिन्थे । रमणीय बस्तीहरु, सरल जीवन, शिक्षा स्वास्थ यातायात सहज पहुँच गाउँगाउँमा । धेरैजसो मानिसहरुको सबैका घरमा कार जिप घर अगाडि पार्किङ गरेर राखेका देखिन्थे । मेची पश्चिम भन्दा मेची पुर्बका नेपाली भाषीहरुको जिबनस्तर धेरै माथि रहेको अनुभुती गर्दै उकालो साघुरो घुम्ती नै घुम्ती भएको सडक भएर हामी अगाडि बढिररह्याैँ । हामी झण्डै दुईघण्टा पछि खरसाङ पुग्यौं । त्यहाँ हामीले नेपालमा सुन्ने गरेको रेडियो खरसाङको रेडियो स्टेसन देख्याैँ । गुचमुच्च परेको पहाडी सहर पर्यटनका लागि एउटा गन्तव्यस्थल रहेछ । त्यहाँबाट जलपाइगुडी, पानीपथ सिलगुडी मेची नदि लगाएत अनेकौं समथल भुभाग देखिनेरहेछ ।
खरसाङमा पुगेर हामीले खाना खायौं । नेपाली खानापिना खाएपछि दार्जिलिङतिर हाम्रो जिप हुइकियो । पहाडी बस्ति सुबिधासम्पन्न ठाउँ, साँघुरो सडकमा पनि हजारौं गाडीहरु जाम नै नलागेर आआफ्नो गन्तव्यमा लम्किरहेका छन् । सबै अनुशासित तरिकाले गाडी हाक्दछन् । ओरालो झर्ने गाडीले उकालो चढदै गरेको गाडीलाई रोकेर साइड दिँदा रहेछन् । चालकहरु अनुशासित भएर गाडी हाँक्ने भए सडकमा ९९% जाम स्वतह हटदोरहेछ । सडकमा हामीले नेपालमा जस्तो सेतो टोपी र सेतो बेल्ड बाध्ने ट्राफिक कहि देखेनौ । कतैकतै भारतीय प्रहरीहरु देखिन्थे । हामी दार्जिलिङ पुग्यौं । जिप रोकियो । हामी झर्यौ । दार्जिलिङ शहर थोरै घुम्ने अबसर मिल्यो । त्यहाँको गोर्खा स्मृति पार्क, GORKHA WAR MEMORIAL, चिया बगान, तेन्जिङ स्टोन, दार्जिलिङको छुकछुके रेल, नेपालका राजाहरूले पढेको कलेजे, रमणीय स्थल अबलोकन गर्दै बेलुकी हामी सिक्किमका लागि हिड्याैँ । गाडी ओरालो झर्दै अगाडि बढ्यो । लगातार पाँच घण्टाको लामो यात्रापछि सिक्किमको सिमानामा रहेको नयाँ बजारमा पुग्यौं । त्यहाँ पुगेर पास बनाएर मात्र गान्तोक जान पाइँदोरहेछ । यहाँबाट आफ्नो परिचय खुल्ने सरकारबाट जारी गरिएको नेपाली नागरिकता, सवारी चालक अनुमतिपत्र, वा अन्य परिचयपत्रको फोटोकपी छोडेर एउटा पत्रमा सबै भ्रमण दलका सदस्यहरुको नामावली सहितको सिक्किम प्रबेशआज्ञा भिषा हानेपछि मात्रै सिक्किममा होटलमा बस्न सुरक्षाका लागि समस्या पर्दो रहेनछ । राति झण्डै दस बजेतिर सिक्किम पुगियो । दार्जिलिङबाट हिडेपछि राति भएकोले सडकका दृश्यहरु खासै अबलोकन गर्न पाइएन ।
हामीलाई पु-याउने जिपहरु दिनभर त्यहीँ बस्दा रहेछन् र सिक्किमका साना कारहरुले हामीलाई सिक्किममा हेर्नुपर्ने घुम्नुपर्ने रमणीय स्थलहरु, झरणा, ताल मुख्यमन्त्री निवास, राजदरबार, नाथुलापास, रुम्टेक मठ, हिमालय प्राणी उद्दान, ल्रुतचारटेन, समनसिष्टम झरणा, लगाएतका मुख्यमुख्य पर्यटकीयस्थल घुमाएर एक बजे हामी बसेका होटल नजिकै छोडिदिए । हाम्रो यात्रा टुङ्गियो । अब दुईघण्टा गान्तोक शहर घुम्ने समय थियो । त्यहाँको आकर्षक सडक mG सडक प्रमुखस्थल रहेछ । पयर्टकीयस्थल रहेछ । बाहिरबाट सिक्किम पुगेका मानिसहरु धेरै समय यहीँ सडकमा बिताउँदा रहेछन् । हाम्रो दुईघण्टाको सहर घुम्ने समय सकिएपछि हामी पुनः आआफ्नो गाडीमा बस्यौं र फर्कियौँ मेची पुल ।
गान्तोकबाट फर्कदा हामीले नदेखाएको नयाँ सहर बजार गाउँ हेर्दा टिष्टापुलमा पुग्यौं । जहासम्म कुनै समयमा नेपाली भुमि थियो । त्यहीँ टिष्टानदी पश्चिम नेपाल थियो इतिहास सम्झियौ गर्व गर्यौ । बर्तमान सम्झियौ हामी झस्कियौ । हाम्रो पुर्खा कसरी टिष्टा नदिसम्म पुगे ? अनेकौं कुराहरू मनमा खेलाउदै टिष्टाका फोटो तथा भिडियो बनाउदै हामी उकालो लाग्यौं । दार्जिलिङबाट ओरालो झर्दै नेपाल भारत सिमानामा भारतीय प्रहरी द्दारा हाम्रो परिचयपत्र चेकजाँच गरेर मेची पुलको बिच भागमा हामीलाई छाडेर गाडीहरु पुर्बतर्फ हुइकिए हामी पस्चिमतर्फ नेपाल प्रबेश गर्यौ ।
यसरी मेची पारि झण्डै दुई दिनको बसाइँमा हामीले भारतीय भुमिमा छौ भन्ने अनुभुति गरेनौं । नेपाली भाषा, नेपाली संस्कृति, नेपाली परम्परा, नेपाली माया, नेपाली परम्परागत पुराना घरहरु, भेषभुसा नेपाली, अतिथि सत्कार गर्ने चलन पनि नेपाली, चाडपर्व नेपाली अनुशासित मानिसहरु । जब मेरो गोजीमा हात हाल्छु र केही सामान किनेको बिल भुक्तानी गर्दा मात्रै भारतीय रुपैयाँ निकाल्नुपर्दा र कतैकतै सरकारी भबनमा भारतीय झण्डा फहराइएको देख्दा भारतीय भुमिमा छु भन्ने लाग्थ्यो अन्यथा नेपाली समाज झै लाग्यो ।






























