कक्षा संचालनमा एकरुपता ल्याउने बिषयमा बर्दघाट नगरपालिका र प्याब्सनबीच जुहारी चल्दै

कक्षा संचालनमा एकरुपता ल्याउने बिषयमा बर्दघाट नगरपालिका र प्याब्सनबीच जुहारी चल्दै

नवलपरासी – बर्दघाट नगरपालिकाले कक्षा ११ र १२ लाई दिवा सत्रमा सञ्चालन गर्न गरेको निर्देशन प्रति नीजि तथा आवासिय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) बर्दघाट नगरले असन्तुष्टि जनाएको छ । आज (मंगलबार) प्याब्सन बर्दघाटले पत्रकार सम्मेलनको आयोजना गरी तत्कालै कक्षा ११ र १२ को कक्षा दिवा सत्रमा सञ्चालन गर्न कठिन रहेको जनाएको हो । यस बिषयमा बर्दघाट नगरपालिका र प्याब्सनबीच जुहारी चल्दै आएको छ ।
प्याब्सन बर्दघाटले देशकै केन्द्र बिन्दु काठमाडौं, पोखरा, नारायणगढ, बुटवल लगायत देशै भरी बिहानी सत्रमा कक्षा सञ्चालन भइरहेको भन्दै तत्काललाई बर्दघाट नगरका संस्थागत विद्यालयहरुमा दिवा सत्र सञ्चालन गर्न व्यवहारीक कठिनाई रहेको जनाएको छ ।
बर्दघाट नगरपालिकाले जबरजस्ती दिवा सत्रमै सञ्चालन गर्नुपर्ने अन्यथा अनुमति खारेजी गरिने व्यहोराको पत्र पठाई विद्यालयहरुको योगदानको अवमुल्यन गर्ने कार्य गरेको प्याब्सन बर्दघाटका अध्यक्ष सञ्जय ढुंगानाले बताउनुभयो ।
पुर्वाधार पुरा गरेका विद्यालयले तोकिएको पाठ्यभार नघट्ने गरी विद्यार्थी संख्याका आधारमा एकै दिनमा एक भन्दा बढी सिफ्टमा कक्षा सञ्चालन गर्न सक्ने भन्ने व्यवस्था रहेको प्याब्सनले जनाएको छ । प्याब्सनका पूर्व अध्यक्ष ईन्द्र गुरुंगले नगरको पत्रचारलाई अबज्ञा गर्दै आफूहरु अदालत सम्म जाने जानकारी गराउनुभयो । विहानी सिफ्टमा पाठ्यभार अनुसारको पाठ्यघण्टा मिलाई स्थानिय स्तरमै अध्ययन गर्ने अवसर प्रदान गर्दै आइरहेको संस्थागत विद्यालयहरुलाई निरुत्साहन गर्ने कार्यले शिक्षाको विकासमा टेवा पुग्ने कुनै सम्भावना नरहेको प्याब्सनका पदाधिकारीहरुको भनाई रहेको छ ।
यस अघि क्रान्तिकारी कम्युनिस्ट पार्टी निकट बिद्यार्थी संगठन अखिल (क्रान्तिकारी) नगरमा शैक्षिक एकरुपता ल्याउनुपर्ने लगायतका माग गर्दै शिक्षा शाखामा तालाबन्दी गरेको थियो । तालाबन्दी पछि क्रान्तिकारी र नगरबीच ४ बुदें सहमति भएको थियो । सो सहमतिमा कक्षा ११ र १२ को पठनपाठन एकरुपता गर्ने उल्लेख छ ।