तीजको सन्दर्भ :
***
तीजको दिनमा आउ दिदी बहिना
मादलु तालमा नाच बरिलै
झुम्कने सारी डाँडैकाे चौतारी
तीजमा माइत बास बरिलै ।
आजैकाे दिन हाे जन्मेकाे घरकाे
एक मुठी चामलै खान्छु बरिलै
आमाकाे माया बाबाको छायाँ
छाेडेर भाेलि नै जान्छु बरिलै ।
भान्सामा मासु आँखामा आँसु
के काम लाग्याे र दर बरिलै
बाजेको धन बाबाको भवन
के काम माइतीकाे घर बरिलै ।
घाँटीमा गहना छातीमा वेदना
के काम बाहिरी हाँसाे बरिलै
श्रीफुल भिरेर आँसुमा डुबेर
के काम कम्मरे नाचाे बरिलै ।
दिदी र भिनाकाे आम्दानी मजाको
आफ्नो त स्याउले छाप्राे बरिलै
दिदैकाे घरमा चाैरासी व्यञ्जन
आफ्नो त थालमा पाप्राे बरिलै ।
मैतालु चेलीकाे श्रीफुल टल्कियाे
आफ्नो त शिरमा नाम्लो बरिलै
विदेशी भिनाकाे बाइक गुर्कियाे
आफ्नाकाे हातमा दाम्लाे बरिलै ।
अरू नि आउलान् सुनचुरा लाउलान्
आफ्नो त पैतलु खाली बरिलै
सङ्गीले साेध्लान् खै गेडी भन्लान्
आफ्नो त पुरानै सारी बरिलै ।
२०८०/०६/०१ तीजकाे दिन
साथमा एक पेन्टिङ