काठमाडौँ । नेकपा (एमाले)का उपाध्यक्ष समेत रहेका संविधानसभाका अध्यक्ष एवं पूर्व सभामुख सुवासचन्द्र नेम्बाङको निधन भएको छ । काठमाडौंको बालुवाटारस्थित आफ्नै निवासमा हृदयघात भएपछि अस्पताल लैजाने क्रममा निधन भएको अस्पतालले जनाएको छ ।
उनलाई त्रिवि शिक्षण अस्पतालमा लगिएको थियो । अहिले उनको पार्थिव शरीर त्रिवि शिक्षण अस्पतालमा छ । उनको निधनको खबरपछि एमाले नेताहरु शिक्षण अस्पताल पुगेका छन् । नेम्बाङ २०६४ साल र २०७० सालको दुवै संविधानसभाका अध्यक्ष थिए । उनी हाल इलाम–२ बाट प्रतिनिधि सभामा निर्वाचित सांंसद हुन् । उनी ७० वर्षका थिए । एमाले अध्यक्ष केपी शर्मा ओली लगायतका नेताहरु अहिले त्रिवि शिक्षण अस्पताल पुगेका छन् ।
एमाले उपाध्यक्ष समेत रहेका संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङको पार्थिव शरिरलाई श्रद्धाञ्जलीका लागि एमाले पार्टी कार्यालय च्यासलमा राखिने भएको छ । नेम्बाङको सोमबार राति निधन भएको थियो ।
एमाले उपमहासचिव विष्णु रिमालका अनुसार केहीबेरमा नेम्वाङको पार्थिव शरीर पार्टी कार्यालय, च्यासलमा पुर्याइनेछ । १२ बजेपछि श्रद्धाञ्जलीको कार्यक्रम राख्ने एमालेको तयारी छ । नेम्वाङका दुई छोरा विदेशमा रहेकाले उनीहरू आएपछि मात्र अन्त्येष्टि गरिने बताइएको छ । नेम्वाङ तत्कालीन माओवादी जनयुद्धप्रति सकारात्मक धारणा राख्दथे र जनयुद्धकालीन मुद्दालाई सत्यनिरुपण आयोगबाट टुंग्याउनुपर्ने धारणा पनि राख्दै आएका थिए । पछिल्लो पटक सत्यनिरुपण आयोगबाट जनयुद्धकालीन मुद्दा टुंग्याउनका लागि संविधान संशोधनका लागि उनकै नेतृत्वमा सुझाव समिति बनाउने गृहकार्य भइरहेको थियो ।