साताको साहित्य : कविता
***
असमान रेखाहरू,
अन्धो इतिहासले कोरेछ,
आत्मघाती मनोदशाले
आदिम रहस्यहरू
विभत्स भावमा
अन्त्यहिन गारेटो जस्तो
निःसहाय अन्धकारमा
खनिएको दासताको खाडलजस्तो
शब्दको वस्त्रमा बसेर
निर्धन मानसिकतामा
क्षितिजबाट नियालिरहेको छु
त्यसको दूरी नापेर
मेट्ने कोसिस गरिरहेको छु ।
मेरो अन्तरआत्माबाट उब्जेका
उकुसमुकुस भावनाहरू पोखुँ भन्छु
अटेसमटेस वेदनाहरू लेखुँ भन्छु
समानताका रेखाहरू कोरुँ भन्छु
कलम उठाउँदै कागज फिजाउँदै
आज म समानताको खोजी गर्दैछु
जुन रेखाहरू दूरदृष्टिवाला नरपिचासले कोरेको छ
ती अस्पष्ट अध्यारा जातीय रेखाहरू
वर्गविभेदका रेखाहरूबिचको दूरी खुम्च्याउने कोसिस गर्दैछु ।
असमानताका रेखाहरूले
चाँदनीलाई फेरा हालेका छन्
त्यो छोप्न हत्केला फिजाउँछु,
मलाई विश्वास अनि भ्रम पनि छ
सायद ……….
ढाकियो, छोपियो,
त्यो टल्कने उच्च जातको रेखा
उच्च खानदान उच्च वर्गको रेखा
म हात हटाउँछु
फेरि उही दुर्दशा
यी कालजयी अजम्बरी ऐतिहासिक रेखाहरू
मेट्न असम्भव छ
किनकि त्यो
अन्धो इतिहासले कोरेको छ ।
फेरि मनमा तरङ्ग पैदा हुन्छ —
सानो बिम्ब वा रूप कोर्नका लागि
त्यो कालो क्रूर पक्षपाती इतिहास
न्यानो घामको वरिपरि घुमिदिन्छ
प्रकाशवृत्तमा साँघुरिँदै
अन्धकार चुमिदिन्छ ।
मलाई अट्टहास लाग्छ –
सन्निपातको रोगीझैँ विलापिन्छु
म भौँतारिन्छु
आलिसान महलहरूले नियालिरहेका छन्
गफीइरहेका छन्
यो भौँतारिरहेको मानवलाई
अन्धो इतिहासको कालो खोस्टो ओढाउन जरुरी छ
म लज्जित भएको मानव
मनरूप फेर्न विवश हुन्छु
नाङ्गिदै भनिदिन्छु
ए ! महामहिमहरू ………..
मलाई अहिंशा चाहिएको छ
मलाई न्याय चाहिएको छ
मलाई सुरक्षा चाहिएको छ
मलाई दुःख र बर्बरता भन्दा
एक मुठी मुक्ति चाहिएको छ
नकि
सूर्यको सम्मुख हुँदा छातीमा मात्र होइन
पिठ्युमा पनि न्यानो चाहिएको छ
मलाई आफ्नो मुल्य र अस्तित्व चाहिएको छ ।
वर्गविभेद र जातभातको साँधमा पिसिएको म
रुढिवादी सोँच र कुरीतिको दलदलमा भासिएको म
रक्तपिपासु मानवले चिथोरेर मरेतुल्य भएको म
गगनचुम्बी महलमा बस्न चाहन्न
मानवले मानवलाई हेर्ने समान दृष्टि चाहन्छु
म मुक्त हुन चाहन्छु ।
जुन नितान्त कालो देह
पत्थरले बनाएको मन्दिर
नितान्त निःहत्था जल
धरातलबाट पलाएको
त्यो पवित्र जल
कसरी भेदभाव गर्न सक्छ ?
कसरी उँच्चनिच गर्न सक्छ ?
त्यसैले जवाफमा –
दुबो, पानी र फूल लिएर
निर्दोष मन्दिरमाथि चढाउन चाहन्छु
पवित्र जलसँग मेरा मानवीय हातहरूले
स्पर्श गर्न चाहन्छु ।
फेरि पुस्तौँदेखि पीडित म
आज पूर्वज चिथो¥याईँबाट आक्रान्त छु ,
त्यसैले भूतको सजाय वर्तमानले किन भोग्ने ?
समवेदनाको पीडा र सङ्कट कति खेप्ने ?
यहाँ जीवन जिउन शाश्वत सत्यलाई लुकाइ
सानो सोँचाइमा खुम्चिनु होइन
अन्धकारको सन्नाटामा छटपटिनु होइन
अन्त्यहीन निस्पट अँध्यारो ध्वंशको सुरुङ होइन
कालो धुवाँ, तुवाँलो, हुस्सुले छापिएको सडक होइन ।
ठुलै अनर्थ भइसकेको मेरो जीवनले
नयाँ बालकको प्रतीक्षा गरेको छ
ऊ सिक्ने छ
समान स्वतन्त्र र मुक्तिको भाषा
तवमात्र अन्धो इतिहास मेटिने छ
जब बालकले नयाँ इतिहास रच्ने छ ।
२०६८ ठाँटीकाँध— ३, दैलेख































