नक्सा सच्याई नेपालको सार्वभौमिकताको सम्मान गर्न चीन सरकारलाई क्रान्तिकारी कम्युनिस्ट पार्टीको आग्रह

नक्सा सच्याई नेपालको सार्वभौमिकताको सम्मान गर्न चीन सरकारलाई क्रान्तिकारी कम्युनिस्ट पार्टीको आग्रह

काठमाडौं । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालले चीन सरकारले हालै जारी गरेको नयाँ नक्सामा नेपालको नयाँ नक्सा प्रयोग नगरेर पुरानै नक्सा राखिएकोमा एक प्रेस वक्तव्य जारी गर्दै पार्टीको गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । र, चीन सरकारलाई उक्त नक्सा सच्याई नेपालको सार्वभौमिकता तथा भौगोलिक अखण्डताको सम्मान गर्न हार्दिक अनुरोध समेत गरेको छ ।

वक्तव्यमा जनगणतन्त्र चीन सरकारलाई स्मरण गराउँदै भनिएको छ, “सन् १९६२ मा भएको चीन–भारत युद्धको बेलादेखि भारत सरकारले केही समयको लागि उपयोग गर्ने सर्तमा नेपाल, भारत र चीनको त्रीदेशीय सिमानाको नजिक नेपालकोे कालापानीमा सैन्य अखडा खडा गरेको थियो । भारत सरकारले वर्षौंसम्म पनि कालापानीबाट सेना नहटाएको र पुरै लिपुलेक, कालापानी र लिम्पियाधुरा क्षेत्रमा पक्की सडक लगायत स्थायी संरचना बनाएर नेपाली भूमि अतिक्रमण गरेको स्थितिमा २०७७ जेठ ५ गते नेपाली संसदवाट पारित गराई नेपाल सरकारले जेठ ७ गते उक्त क्षेत्र समेटिएकोे नेपालको वास्तविक राजनीतिक नक्सा जारी गरेको थियो ।”

वक्तव्यमा भनिएको छ, “ परन्तु, यही भदौ ११ गते चीन सरकारले प्रकाशित गरेको राजनीतिक नक्सामा नेपालको उक्त भूभाग लिपुलेक, कालापानी र लिम्पियाधुरा क्षेत्र नेपालमा नसमेटिएकोप्रति हाम्रो पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ । यो स्थितिमा हाम्रो पार्टी चीन सरकारलाई उक्त नक्सा सच्याई नेपालको सार्वभौमिकता तथा भौगोलिक अखण्डताको सम्मान गर्न हार्दिक अनुरोध गर्दछ ।”

पार्टीका प्रवक्ता कञ्चनले जारी गरेको वक्तव्यको अन्त्यमा भनिएको छ, “यस सम्बन्धमा उक्त राजनीतिक नक्सा जारी गरिसकेपछि संयुक्त राष्ट्रसंघ लगायत सम्बन्धित देशहरुमा कूटनीतिक माध्यमबाट नेपाल सरकारले त्यसको जानकारी नदिएको हुनसक्ने भनी केही नेपाली संचार माध्यमहरुले आशंका व्यक्त गरेका छन् । यदि यो कुरा सही हो भने वास्तविक नक्सा जारी गरेको देखाएर नेपाली जनताका सामु देशभक्त भएको बहाना गर्ने र त्यसको आधिकारिक जानकारी नदिएर भारतीय शासक वर्गलाई नचिढ्याउने तत्कालीन ओली सरकारको घोर राष्ट्रघाती र जनतालाई गुमराहमा पार्ने काम हो । हाम्रो पार्टी यसको तीव्र विरोध गर्दछ र कूटनीतिक माध्यममार्फत् राष्ट्रसंघ सहित सम्बन्धित सबै देशहरुलाई नयाँ नक्सा सम्बन्धी निर्णयको जानकारी दिन र त्यसको कार्यान्वयन गराउन वर्तमान नेपाल सरकारसँग जोडदार माग गर्दछ ।”

यस्तो छ वक्तव्यको पूर्णपाठ :
“हाम्रो पार्टी जनगणतन्त्र चीन सरकारलाई के स्मरण गराउन चाहन्छ भने सन् १९६२ मा भएको चीन–भारत युद्धको बेलादेखि भारत सरकारले केही समयको लागि उपयोग गर्ने सर्तमा नेपाल, भारत र चीनको त्रीदेशीय सिमानाको नजिक नेपालकोे कालापानीमा सैन्य अखडा खडा गरेको थियो । भारत सरकारले वर्षौंसम्म पनि कालापानीबाट सेना नहटाएको र पुरै लिपुलेक, कालापानी र लिम्पियाधुरा क्षेत्रमा पक्की सडक लगायत स्थायी संरचना बनाएर नेपाली भूमि अतिक्रमण गरेको स्थितिमा २०७७ जेठ ५ गते नेपाली संसदवाट पारित गराई नेपाल सरकारले जेठ ७ गते उक्त क्षेत्र समेटिएकोे नेपालको वास्तविक राजनीतिक नक्सा जारी गरेको थियो । परन्तु, यही भदौ ११ गते चीन सरकारले प्रकाशित गरेको राजनीतिक नक्सामा नेपालको उक्त भूभाग लिपुलेक, कालापानी र लिम्पियाधुरा क्षेत्र नेपालमा नसमेटिएकोप्रति हाम्रो पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ । यो स्थितिमा हाम्रो पार्टी चीन सरकारलाई उक्त नक्सा सच्याई नेपालको सार्वभौमिकता तथा भौगोलिक अखण्डताको सम्मान गर्न हार्दिक अनुरोध गर्दछ ।
यस सम्बन्धमा उक्त राजनीतिक नक्सा जारी गरिसकेपछि संयुक्त राष्ट्रसंघ लगायत सम्बन्धित देशहरुमा कूटनीतिक माध्यमबाट नेपाल सरकारले त्यसको जानकारी नदिएको हुनसक्ने भनी केही नेपाली संचार माध्यमहरुले आशंका व्यक्त गरेका छन् । यदि यो कुरा सही हो भने वास्तविक नक्सा जारी गरेको देखाएर नेपाली जनताका सामु देशभक्त भएको बहाना गर्ने र त्यसको आधिकारिक जानकारी नदिएर भारतीय शासक वर्गलाई नचिढ्याउने तत्कालीन ओली सरकारको घोर राष्ट्रघाती र जनतालाई गुमराहमा पार्ने काम हो । हाम्रो पार्टी यसको तीव्र विरोध गर्दछ र कूटनीतिक माध्यममार्फत् राष्ट्रसंघ सहित सम्बन्धित सबै देशहरुलाई नयाँ नक्सा सम्बन्धी निर्णयको जानकारी दिन र त्यसको कार्यान्वयन गराउन वर्तमान नेपाल सरकारसँग जोडदार माग गर्दछ ।”