दोर्ण के.सी. , ईश्वरी प्रसाद गैरे
भदौ १३, तुलसीपुर ।
क्रान्तिकारी कम्युनिष्ट पार्टी, नेपालका केन्द्रीय सचिवालय सदस्य हिरामणी दुःखीले नेपाल बैदेशिक चक्रब्युहमा फसिसकेको हुँदा नेपाल मुक्त गर्न स्वाभिमानी नेपालीहरू एक पटक एकजुट भएर जुरुक्क उठ्नुपर्ने र यी दलालहरुलाई लखेटेर देशलाई स्वाधीन बनाउन अहिलेको आवश्यकता रहेको बताएका थिए ।
सभालाई सम्बोधन गर्दै पार्टीका केन्द्रीय सचिवालय सदस्य हिरामणी दुःखीले गत वर्ष यी दलालहरुले राष्ट्रघाती एमसीसी कार्यान्वयन तर्फ अगाडि बढाएको हुँदा यसलाई तत्काल रोक्नका लागि जनदबाब दिन आँधिबेहरी सृजना गर्न जनताका माझ एक महिने अभियान लगेर गाउँ बस्तीहरुमा पार्टी गएको समेत बताएका थिए । यस अभियानमा सबै शोषित–पीडित जनताले सहयोग गर्नुपर्ने र संगठनमा गोलबन्ध हुनुपर्ने हिरामणी दुःखीको धारणा रहेको थियो । उनले ललिता निबास काण्ड, सुन काण्ड, भुटानी शरणार्थी तथा भ्रष्टाचारको जालो भित्र सरकार फसेको र उनीहरुलाई संरक्षण गर्दै आएको कुरा राख्दै सम्पूर्ण नेता तथा कार्यकर्ताहरू एकजुट भएर लाग्नुपर्ने भएका थिए । क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल दाङ जिल्ला समिति र नेपाल कम्युनिष्ट पार्टी पश्चिम दाङ जिल्ला समतिले बुधबार दाङको तुलसीपुरमा एमसिसी कार्यान्वयनका विरुद्ध संयुक्त आयोजनामा तुलसीपुरमा आयोजित बिरोध प्रदर्शन पछिको कोणसभालाई सम्बोधन गर्दै क्रान्तिकारी कम्युनिष्ट पार्टी, नेपालका केन्द्रीय सचिवालय सदस्य दुःखीले सो कुरामा जोड दिएका हुन् ।
त्यस्तै नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य प्रदिप सीले अमेरिकी साम्राज्यवादका विरुद्ध राष्ट्रिय मुक्तीको युद्ध उत्तम रहेको बताएका थिए । कोणसभालाई सम्बोधन गर्दै नेता प्रदिपले भने– ‘अमेरिका नेपालमा एमसिसी मार्फत सेना ल्याएर आउँदैछ । अमेरिकी साम्राज्यवादले नेपाललाई युक्रेन बनाउन खोज्दैछ । एमसिसी मार्फत चिनलाइ घेर्ने रणनीति र यहाँका प्राकृतिक स्रोतसाधनहरु कब्जा गर्ने रणनीति अमेरिकाले बनाउँदैछ । एमसिसि घातक छ भन्दा भन्दै यहाँका दलालहरुले कार्यान्वयन प्रक्रिया बढाएका छन् जो राष्ट्रिय स्वाधीनता विरुद्ध छ । अब हाम्रो अगाडि अमेरिकी साम्राज्यवादका विरुद्ध राष्ट्रिय मुक्ती युद्ध लड्नुको विकल्प छैन भन्दै आफ्नो धारणा राखेका थिए ।’ कोणसभाको सहजीकरण नेकपा पश्चिम दाङका सचिव निर्मल सीले गरेका थिए ।