एमसीसी परियोजना खारेजीको निम्ति संयुक्त ट्रेड युनियन संघर्ष समितिको जुलुससहितको प्रदर्शन, एमसिए–नेपालको कार्यालय यसरी गरियो घेराउ (फोटोफिचर)

काठमाडौं । भोलिदेखि कार्यान्वयन गर्न लागिएको एमसीसी परियोजना खारेजीको माग गर्दै संयुक्त ट्रेड युनियन संघर्ष समितिले मंगलबार एमसीसी–नेपालको कार्यालय घेराउ गरेको छ । ‘गो ब्याक एमसीसी, नो एमसीसी’, अमेरिकी साम्राज्यवाद– मुर्दावाद, दलाल संसदीय व्यवस्था–मूर्दावाद लगायतका गगनभेदी नारा लगाउँदै रत्नपार्क शान्तिबाटिकाबाट भोटाहिटि, जमल, दरबारमार्ग हुँदै निकालिएको जुलुस याक एण्ड यतिमा रहेको एमसीए–नेपालको कार्यालय घेराउमा परिणत भएको थियो ।


घेराउ कार्यक्रमलाई संयुक्त ट्रेड युनियन संघर्ष समितिका नेताहरुले सम्बोधन गर्नुभएको थियो । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालका नेता समेत रहनु भएका अखिल नेपाल क्रान्तिकारी ट्रेड युृनियन महासंघका अध्यक्ष दिनेश शर्मा, अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघका अध्यक्ष विनोद थापा, अखिल नेपाल प्रगतिशील महासंघ (पिकोन्ट)का अध्यक्ष केदार गिरी, राष्ट्रवादी श्रमिक संगठनका अध्यक्ष किरण देउवा, अखिल नेपाल ट्रेड युनियन महासंघ (अन्टुक)का केन्द्रीय सदस्य टेकहरी न्यौपाने र अखिल नेपाल ट्रेड युनियन महासंघका महासचिव राजकुमार थापाले सम्बोधन गर्नुभएको थियो ।


कार्यक्रममा बोल्दै वक्ताहरुले एमसीसी सम्झौता खारेज नगरिए आम देशभक्त तथा क्रान्तिकारीहरु सशक्त प्रतिरोध संघर्षमा उत्रने उद्घोष गर्नुभएको थियो । एमसीए नेपाल घेराउ कार्यक्रमको सञ्चालन अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघका महासचिव बसन्त बोगटीले गर्नुभएको थियो ।