काठमाडौं। आज २९ औं विश्व आदिवासी दिवस । नेपाललगायत विश्वभर आदिवासी जनजातिको पहिचान र अधिकारका लागि विभिन्न कार्यक्रम गरी यो दिवस मनाइँदैछ ।
विश्वभर आदिवासी जनजातिको योगदानको कदर गर्दै संयुक्त राष्ट्रसंघको आह्वानमा हरेक वर्ष अगष्ट ९ तारिख (साउन २४) मा यो दिवस मनाउने गरिएको छ । अन्तर्राष्ट्रिय आदिवासी जनजाति दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदै छ ।
अखिल नेपाल आदिवासी जनजाति महासंघले आज विभिन्न झाँकीसहितको जुलुस प्रदर्शन गर्ने र राष्ट्रिय नाचघरमा विशेष समारोहका बीच २९ औ आदिवासी दिवस मनाउने भव्य तयारी गरेको छ ।
‘सम्पूर्ण उत्पीडित आदिवासी जनजातिहरु एक होऔं ! आत्मनिर्णयको अधिकार सिद्धान्तः स्वीकार्दै पहिचानसहितको संघीयता स्थापना गरौं !!’ भन्ने मूल नाराका साथ मनाउन लागिएको विशेष समारोहलाई क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालका अध्यक्ष मोहन वैद्य किरण लगायत सम्बद्ध पार्टीका शीर्ष नेतृत्व र आदिवासी जनजाति आन्दोलनका नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
कार्यक्रममा विभिन्न जात जातिका साँस्कृतिक पहिचान झल्कने झाँकीहरुको समेत प्रदर्शन गरिने अखिल नेपाल आदिवासी जनजाति महासंघका अध्यक्ष पवनमान श्रेष्ठले जानकारी दिनुभएको छ ।






























