यसरी पाल्पाको रामपुरमा जग्गाधनी प्रमाण पुर्जा वितरण सम्पन्न

यसरी पाल्पाको रामपुरमा जग्गाधनी प्रमाण पुर्जा वितरण सम्पन्न

 

काठमाडौ। पाल्पाको रामपुर नगरपालिका पाल्पाले अव्यवस्थित बसोबासीका लागि जग्गाधनी प्रमाण पुर्जा वितरणको काम सम्पन्न गरेको छ

। नगरपालिकाभित्र सात सय दुई घरघडेरीको जग्गाधनी प्रमाण पुर्जा वितरण भएको छ । नगरभित्रका सात सय ८३ मध्ये पहिलो चरणमा २०७९ पुस ८ गते एक सय ६४, दोस्रो चरणमा माघ १० गते ९८, तेस्रो चरणमा २०८० जेठ ५ गते तीन सय ५४, साउन १५ गते ८७ घरघडेरीलाई पुर्जा वितरण गरिएको छ ।

पाँच दशकअघिदेखिको समस्याका रूपमा रहेको अव्यवस्थित घरघडेरीलाई निकै चुनौतीका बाबजुद जग्गाधनी प्रमाण पुर्जा दिन सफल भएको रामपुर नगरपालिकाका प्रमुख रमणबहादुर थापाले बताएका छन् ।

नगरपालिकाका वडा नं ५, ६ र ७ का सात सय ८३ घरघडेरीमध्ये ९७ प्रतिशत काम सम्पन्न भई प्रमाण पुर्जा प्रदान गरिएको उनले जानकारी दिए ।

राष्ट्रिय भूमि आयोग पाल्पाका अध्यक्ष मोहनलाल गैरे र रामपुर नगरपालिकाका प्रमुख थापाले मालपोत तथा नापी कार्यालय रामपुरलाई जग्गाधनी प्रमाण पुर्जाको सोमबार नक्सा, श्रेस्ता हस्तान्तरण गरेका छन् ।

एक सय १४ रोपनी ११ आना बराबरको घरघडेरीवापत रु ११ करोड ७७ लाख ९३ हजार बराबरको राजस्व नेपाल सरकारको खातामा जम्मा भएको छ ।

हातमा प्रमाण पुर्जा नहुँदा आफूले दुःखले बनाएको घरघडेरी आफ्नो हो भन्ने ढुक्क नहुनु र पुर्जा बैंक तथा वित्तीय संस्थामा राखेर विभिन्न व्यापार–व्यावसायका लागि ऋण निकाल्न नपाउँदा स्थानीयले निकै सास्ती भोग्नुपरेको थियो ।

पुर्जा पाएपछि यहाँका स्थानीय खुसी छन् । विसं २०२५ ÷२६ देखि तत्कालीन गाउँ विकास समिति, स्कुल, क्याम्पसले रसिदको भरमा बिक्री गरेका घरघडेरीले जग्गाधनी पुर्जा नपाउँदा स्थानीयले धेरै चुनौती खेप्दै आइरहेका थिए ।

लामो समयपश्चात् रामपुर नगर सरकार र राष्ट्रिय भूमि आयोग जिल्ला समिति पाल्पा, राजनीतिक दल, सरोकारवालाको जोडबलमा जग्गाधनी प्रमाण पुर्जा वितरणको काम भएको हो ।