लक्ष्मी घिमिरे
नवलपरासी (सुस्ता) – क्रान्तिकारी कम्युनिष्ट पार्टी, नेपाल जिल्ला संगठन समिति नवलपरासी पश्चिमले संगठनमा टुटेका कडीहरु पुनः जोड्दै गाउँ गाउँमा जनभेटघाट तीब्र बनाएको छ ।
सातै पालिकामा पालिका ईन्चार्ज र संयोजकहरुको कार्यबिन्यास गर्दै क्राकपाले जनएकतालाई जोड दिदै आधारभुत जनताका घरदैलोमा पुगेको हो ।
‘नेकपा(क्रान्तिकारी माओवादी) र नेकपा (बहुमत) बीच एकता भएपछि एकताको सन्देश लिएर तपाई माझ आएका छौ’– बर्दघाट, सुस्ता र प्रतापपुरको सीमा रहेको नौडिया गाउँमा भेटिएका जिल्ला ईन्चार्ज संकल्पले भन्नुभयो – ‘क्रान्तिकारीहरु फुट्न मात्र होइन जुट्न पनि जानेका छौ । त्यसैले पुराना टुटेका कडीहरु जोड्ने प्रयत्नमा आएका छौं । तपाई हामी उत्साही भएर जुटौ ।’
पार्टीका जिल्ला संयोजक समरले जिल्लाका हरेक वडामा संर्घष पु¥याउने ध्येयका साथ आफूहरु एकीकृत भएर लागेको जानकारी गराउनुभयो ।
उक्त भेटमा त्यस गाउँका पुराना नेता कार्यकर्ताहरुले बीच बीचमा पार्टीले आफूहरुसंग सम्पर्क नगरेकै कारण तटस्थ बस्नुपरेको बताएका थिए । सातैपालिकामा कार्यतालिका बनाएर जिल्ला हेडक्वार्टर भेटघाटमा आएपछि आन्दोलनलाई संगठित गर्ने आशा पलाएको सुस्ता गाउँपालिका ईन्चार्ज क्रान्तिले जानकारी दिनुभयो । ‘हामी बीचमा फर्कन सकेनौ अब हामी नयाँ ढंगबाट जनतामा आएका छौ यसले पक्कै पनि आशा जागृत गराउने छ ।’
पार्टीका प्रदेश सदस्य तथा रामग्राम नगर ईन्चार्ज जसकिसनले क्रान्तिकारी कम्युनिस्ट पार्टी प्रति मधेशका उत्पिडित जनता निकै आशावादी रहेको समेत औल्याउनुभयो । सुस्ता गाउँपालिकाको रेवरेतास्थित शहिद परिवार सीता अधिकारीले घरपरिवार र समाजका समस्या बुझ्न भनेर नेता कार्यकर्ताहरु गाउँ घरमा आउदाँ बेग्लै अनुभुति भएको सुनाउनुभयो । ‘यसैगरी सधै हामी माझ आउनुहोला’ – उहाँले भन्नुभयो –’ताकि हाम्रो समस्या सुनाउन पाइयोस् ।’































