मोरङ / क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालले बुधबार साँझ विराटनगरमा भब्यरुपमा मशाल जुलुस प्रदर्शन गरेको छ । दलाल पुँजीवादी राज्यसत्ताको राष्ट्रघात र जनघातका विरुद्ध मशाल जुलुश प्रदर्शन गरिएको सम्बद्घ पार्टीले जनाएकाे छ ।
पार्टीका १ नं. प्रदेश संयोजक सङ्कुलको नेतृत्वमा विराटनगरस्थित संसारी माइस्थान मन्दिरबाट सुरुभएको जुलुश बजार परिक्रमा गरी विराटनगरको मेनरोड स्थित हनुमान चोकमा पुगेर कोण सभामा परिणत भएको थियो ।
कोण सभालाई सम्बोधन गर्दै सङ्कुलले जुलुश एउटा सुरुवात र झिल्को मात्र भएको बताउनु भयो । वहाँले देश र जनतासंग प्रत्यक्ष सरोकार राख्ने राष्ट्रियता, जनतन्त्र र जनजीविका सम्बन्धी सवालहरुमा राज्यले बेवास्ता गरे पार्टी सशक्तरुपमा संघर्षमा उत्रन बाध्यहुने चेतावनी समेत दिनुभयो ।
जुलुसमा स्वास्थ्य र शिक्षामा भएको व्यापारीकरण खारेज गर; सम्पूर्ण जनतालाई निःशुल्क स्वास्थ्य शिक्षा प्रदान गर !, क्रान्तिकारी भूमिसुधार लागू गर; सम्पूर्ण जमिनमा जनताको स्वामित्व कायम गर !, हरेक नागरिकलाई रोजगारी प्रदान गर; उद्यमका लागि सुलभ कर्जा प्रवाह गर !, सम्पूर्ण नेपालीलाई नागरिकता प्रदान गर; राष्ट्रघाती नागरिकता विधेयक खारेज गर !, विदेशीका लागि वर्क परमिट लागू गर; रेडकार्ड, ग्रीनकार्ड र पीआरको व्यवस्था गर !, लघुवित्त तथा लुटेरा बैङ्कहरू खारेज गर; राष्ट्रिय बैङ्कहरू विस्तार गर !, बैङ्कबाट हुने वित्तीय शोषण अन्त्य गर; मिटरब्याजी प्रणाली अन्त्य गर ! क्रान्तिकारी एकता विस्तार गरांै; दलाल नोकरशाही पुँजीवादी तथा सामन्तवर्गीय राज्यसत्ता अन्त्य गरौ !, क्रान्तिकारी एकता–जिन्दावाद ! सुुधारवाद, संशोधनवाद, अर्थवाद–मूर्दावाद !, क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल–जिन्दावाद ! जस्ता नाराहरु लगाइएका थिए ।
प्रहरीले मशाल जुलुशमाथि हस्तक्षेप गर्न खोजेको थियो तर जुलुसमा सहभागी पार्टीका नेता–कार्यकर्ता तथा जनताको प्रतिरोधका कारण प्रहरी पछि हट्न बाध्य भयो । जुलशमा सहभागी नेता–कार्यकर्ता तथा जनताले प्रहरीको हस्तक्षेपलाई सशक्तरुपमा प्रतिरोध गरेका थिए । जुलुसमा सहभागी नेता–कार्यकर्ता तथा जनता र प्रहरीको ठेलाठेलसमेत भएको थियो ।






























