काठमाडौं/२७, असार
आज विहान ८ ः३० बजे थापाथली स्थित नर्भिक अस्पतालमा निधन भएकी सीता दाहालको आजै दिउँसो पशुपति आर्यघाटमा राजकीय सम्मानका साथ अन्त्यष्टि गरिएको छ ।
नेकपा माओवादी केन्द्रकी केन्द्रीय सल्लाहकार सदस्य समेत रहेकी सीता दाहाल प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’की जीवन सङ्गीनी हुन् । प्रधानमन्त्रीकी श्रीमती भएकाले उनी फष्टलेडी हुनुको कारण आज बसेको नेपाल सरकारको आकस्मिक बैठकले उनलाई स्कर्टपति सहसेनानीको एक टुकडीद्वारा राजकीय सम्मान स्वरूप सलामी दिने निर्णय गरिएको थियो ।
सीता दाहालको निधन भएपछि उनको पार्थिव शरीरलाई श्रद्धाञ्जली दिनका लागि अस्पताचलबाट सिधै कोटेश्वर पेरिसडाँडा स्थित माओवादी केन्द्रको पार्टी कार्यालयमा लगेर दिउँसो १ बजेसम्म राखिएको थियो । जहाँ नेपालका करिव सबै राजनीतिक दलका शीर्ष नेताहरू तथा विभिन्न क्षेत्रका उच्च ओहोदाका व्यक्तित्वहरूले श्रद्धाञ्जली व्यक्त गरेका थिए ।

दिउँसो आर्यघाटमा लगेपछि त्यहाँ पनि श्रद्धाञ्जली दिनेहरूको घुइँचो लागेको थियो । उनको पार्थिव शरीरमा नेपाली झण्डा आढाउनुका साथै नेपाली सेनाको एक टुकडीले सलामी दिएपछि सीताको पार्थिव शरीरमा प्रधानमन्त्री प्रचण्ड र उनका दुई छोरीहरू रेणु र गंगाले दागबत्ती दिएका थिए ।
२०११ असार २१ गते कास्कीको हेम्जामा आमा हरिकला र बुबा महेश्वर पौडेलको कोखबाट जन्मिएकी सीता प्रचण्ड भन्दा उमेरले ५ महिना जेठी थिइन् । २०२६ सालमा प्रचण्डसँग विवाह भएपछि उनका तीन छोरी ज्ञानु, रेणु र गंगा तथा एक छोरा प्रकाशको जन्म भएको थियो । छोरी ज्ञानु र छोरा प्रकाशको ६ बर्स अगाडि नै निधन भइसकेको छ । विद्यार्थी कालमा पुष्पलाल समुहबाट कम्युनिस्ट आन्दोलनमा जोडिएका प्रचण्ड पछि मोहन विक्रम सिंह नेतृत्वको नेकपा चौममा जोडिएर पूर्णकालिन राजनीति गर्दै आएका प्रचण्डलाई सीताले राजनीतिक सल्लाहकारको भूमिकामा रहेर काम गर्नुका साथै प्रत्यक्ष रूपमा पनि पार्टी सङ्गठनमा जोडिएर निरन्तर श्रीमानसँगै राजनीतिक यात्रामा मृत्युपर्यन्त लागि रहिन् ।
छोराछोरीको मृत्युले सन्तान शोकमा रहेका प्रचण्ड यतिबेला जीवन साथी नै गुमाउनु परेपछि उनलाई पारिवारिक रूपमा मात्र नभई एक जना राजनीतिक सल्लाहकार पनि गुमाउनु परेको छ । मुलबाटो अनलाईन परिवार मृतक सीता दाहालप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दछ भने शोकसन्तप्त रहनुभएका प्रधानमन्त्री प्रचण्ड लगायत उहाँको परिवारजनप्रति गहिरो समवेदना प्रकट गर्दछ ।





























