साताको साहित्य : कविता
मर्दै गरेको निष्ठा बेचेर
सत्ताभोगको जोहो गरिरहेछन्
दुखियाहरुको दु:खमाथि टेकेर
बकाइदा सुखभोग गरिरहेछन्
प्यारीडाँडाका यारहरु।
सम्झिने मन छैन तिनलाई –
चिहानमा गाडिएका सपना
लिलाम गरिएका शाहदत
र, पल पल तर्साइरहने विगत।
प्रिय लाग्छ तिनलाई –
आफ्नै बाचाहरु छल्न
छेपारोसरी रंग बदल्न
र, सत्ता लिप्साको जुवा खेल्न
मर्दै गरेको निष्ठा बेचेर
सत्ताभोगको जोहो गरिरहेछन्
प्यारीडाँडाका यारहरु।
हुर्काए थवाङ र जेलवाङहरुले माओवाद
जन्मायो भटिन्डाको भूगोलले `प्रचण्डपथ´
माओवादमाथि सिउँरिएपछि `प्रचण्डपथ´
प्रदुषित भयो आर्गानिक माओवाद
र, शासन गर्यो भटिन्डाको भूगोलले
उन्मुक्त थवाङ र जेलवाङहरुमाथि
मर्दै गरेको निष्ठा बेचेर
सत्ताभोगको जोहो गरिरहेछन्
प्यारिडाँडाका यारहरु।
अंगालो मार्दै वर्गबैरीसँग
मिलाइरहेछन रक्तमुछेल हातहरु
टाउकाको मूल्य तोक्नेहरुसँग
सप्रेम साटिरहेछन गुलाबका फूलहरु
बन्धकी राखेर माओवाद
कहिले उक्लिछन बार्दलीमा
अदालतले भिराइदिएको `माओवाद´को झ्याउलो भिरेर
कहिले घोप्टिन्छन बुढानिलकण्ठमा।
बेवारिस छ अचेल
सनाखत हुन नसकेको `प्रचण्डपथ´
र, प्यारो बनेको छ सत्ताको लत
लतमै लत्पतिएका छन्
`पथ´ हराएका पथिकहरु।
मर्दै गरेको निष्ठा बेचेर
सत्ताभोगको जोहो गरिरहेछन्
दुखियाहरुको दु:खमा टेकेर
बकाइदा सुखभोग गरिरहेछन्
प्यारीडाँडाका यारहरु।
२०८०/०३/२२
वानेश्वर, काठमाडौ






























