जनता जाग्न ढिलो भइसक्यो

जनता जाग्न ढिलो भइसक्यो

प्रधानमन्त्री प्रचण्डले एक कार्यक्रममा आफूलाई प्रधानमन्त्री बनाउन प्रितम सिंह पटक पटक दिल्ली गएको भनेर दिएको अभिव्यक्तिको अहिले चौतर्फी रुपमा विरोध भइरहेको छ । यही अभिव्यक्तिको विषयलाई लिएर संसदको प्रतिपक्षी दलहरुले राजिनामाको माग गरिरहेका छन् । प्रधानमन्त्रीको राजीनामा माग्नेमा एमाले सबैभन्दा अगाडि देखिएको छ । एमालेलाई रास्वपा र राप्रपाले पनि साथ दिएका छन् । प्रधानमन्त्री प्रचण्डले राजीनामा नदिएसम्म संसद चल्न नदिने उनीहरुले उद्घोष गरेका छन् । केपी ओली हुन् वा शेरबहादुर देउवा, प्रचण्ड हुन् वा अरु कुनै बहादुर जो नेपालको प्रधानमन्त्री बन्न चाहन्छ, उसले दिल्लीको आशीर्वाद पाउनै पर्छ । दिल्ली दाहिना नभइकन नेपालमा कोही पनि व्यक्ति प्रधानमन्त्री हुन सक्दैन भन्ने कुरा एमालेका अध्यक्ष केपी ओलीलाई पनि राम्रोसँग थाहा छ, र कांग्रेस लगायत अन्य संसदवादी पार्टीहरुलाई पनि यसको राम्रो हेक्का छ । उनीहरुले देशको प्रधानमन्त्री र राष्ट्रपति बन्न विगतमा दिल्लीका शासकहरुलाई चिल्लो घसेकै हुन्, पाउ मोलेकै हुन, दिल्लीका शासकहरुसँग लम्पसार परेकै हुन्, दिल्लीका शासकहरुलाई रिझाउन नेपालमन नदीनाला, प्राकृतिक सम्पदा कौडीको मूल्यमा बेचेकै हुन् । बरु विगतका राजा, राणा, कांग्रेस, राप्रपा र एमालेहरुकै प्रचण्डले पनि सिको गरे । पुराना दलालहरुको ठाउँमा नयाँ दलाल बन्ने दौडमा लागे । पुराना दलालहरुको स्थान नयाँ दलाल (प्रचण्ड)हरुले खासेपछि एमाले कांग्रेसहरु आत्तिएका मात्र हुन् । राष्ट्रवादी जनतालाई बेवकुफ बनाउन उनीहरुले अहिले संसदमा नाटक मात्रै मञ्चन गरिरहेका छन् । एमसीसी जस्तो राष्ट्रघाती सम्झौता संसदमा भएका प्रायः सबै पार्टीहरुले एकमतका साथ पास गरेकै हुन् । महाकाली बेची खाने यिनै केपी ओली हुन् । जनताको व्यापक दबाबका कारण लिम्पियाधुरा–लिपुलेक–कालापानीको नक्सा जारी गरे पनि यस सम्बन्धमा आफू सरकार प्रमुख हुँदा भारतीय शासकसँग कुरा नगर्ने केपी ओली पनि हुन् । आम जनताले के बुझ्न जरुरी छ भने संसदवादी दलहरु सबै एउटै ड्याङका मुला हुन् । यो देशमा जनघात र राष्ट्रघातका अंशियार यिनीहरु सबै छन् । धेर थोरको मात्र कुरा हो । भ्रष्टाचारमा सर्वदलीय सहमति छ । अनि राष्ट्रघातमा पनि सर्वदलीय सहमति नै छ । यिनीहरु कसैले पनि संसदमा नाटक र नौटंकी प्रदर्शन गर्नुको कुनै तुक छैन ।


जबसम्म नेपाली स्वाभिमानी जनताले यो यथार्थलाई गहिरोसँग बोध गर्दैनन् र नेपाललाई स्वाधीन र आत्मनिर्भर बनाउनका निम्ति देशमा आमूल परिवर्तनको आन्दोलनमा सहभागी हुँदैनन् । नेपाल देश रहँदैन थाहै नपाई उपनिवेश भइसक्छ । अघोषित रुपमा अहिले पनि नेपाल भारत र अमेरिकाको गुलामै जस्तो छ । उनीहरुकै एकाधिकार र बर्चस्व स्थापित भइरहेको छ । राष्ट्रिय स्वाधीनताको अवस्था निकै संकटपूर्ण अवस्थाबाट गुज्रिरहेको छ । जनताका अधिकार खोसिने क्रममा छन् । जनताका दैनिक समस्याहरु विकराल बनेका छन् । यसप्रति संसदवादी दलहरुलाई कुनै चिन्ता चासो छैन । उनीहरु दिनरात केवल सत्तास्वार्थमा केन्द्रित भएका छन् । सारा जनताको दुःखको कारण यही दलाल संसदीय व्यवस्था बनिरहेको छ । आज कुनै पनि युवाले देशभित्र भविष्य देख्न छाडिसकेको छ । आज हरेक घरमा अमेरिकी, युरोपियन मुलुक र अस्ट्रेलियन मुलुकका नागरिक जन्मिन थालेका छन् । स्वदेशी भन्दा पनि विदेशी नागरिक बन्न पाएकोमा नेपालीहरुले गर्व गर्न थालेका छन् । युवाहरुलाई विदेशमा बेचेर उनीहरुले पठाएको रेमिट्यान्समाथि मुठ्ठीभर छट्टुहरुले ऐस आराम मोजमस्तीको जिन्दगी बिताइरहेका छन् । पुराना संसदवादी दलहरुको भ्रष्ट, नालायक र निकम्मापनको नयाँ संसदवादी दलहरुले फाइदा लिन खोजिरहेका छन् । तर उनीहरु पनि उही ड्याङका मूला हुन् भन्ने कुरा जनताले बुझ्दै पनि गइरहेका छन् । पुराना संसदवादीहरुको विकल्पमा नयाँ संसदवादी दलहरु खडा गरेर साम्राज्यवादी र विस्तारवादीहरुले आफ्ना नयाँ नयाँ दलालहरु तयार पारिरहेका छन् । जनता उनीहरुको भ्रममा पर्नु हुँदैन । घटनाक्रमले यसको अझ राम्रोसँग पुष्टि गर्दै लैजानेछ ।


भारतीय विस्तारवादी र अमेरिकी साम्राज्यवादको प्यादामा परिणत भइसकेको यो दलाल संसदीय व्यवस्थाको समूल अन्त्य गरेर त्यसको ठाउँमा नेपाली सर्वहारा, श्रमजीवी जनताको जनवादी राज्यसत्ता स्थापना गर्ने र वैज्ञानिक समाजवादी व्यवस्थातर्फ अघि नबढी नेपाल र नेपाली जनताको सारा समस्याको हल हुन सक्दैन । अग्रगामी र क्रान्तिकारी शक्तिहरु, सच्चा देशभक्तहरुको वृहत मोर्चा आजको ऐतिहासिक आवश्यकता हो । यस दिशातर्फ अगाडि बढ्ने संकल्प हरेक सच्चा नेपालीले गर्नै पर्दछ । वैदेशिक रोजगारीमा गएका हरेक युवाहरुले, उच्च शिक्षाका लागि विदेशीएका हरेक युवाहरुले देशको शासनव्यवस्थाको आमूल परिवर्तनको पक्षमा आफूलाई उभ्याउनै पर्दछ । जनता नै इतिहासका निर्माता हुन् । व्यक्तिमा हैन विकल्पको खोजी व्यवस्थामा खोज्नुपर्छ । अढाईसय वर्षको लामो सामन्ती राजतन्त्रात्मक शासन ढालेका जनतालाई यो दलाल संसदीय सत्ता फाल्न कुनै बेर लाग्दैन । जे हुन्छ, जनता जागेपछि हुन्छ । जनता जाग्न अब ढिलो भइसक्यो । भ्रष्ट, नालायक, निकम्मा संसदवादी नेताहरु, शासकहरु र पार्टीहरुलाई अब जनताले लखेट्ने बेला आइसक्यो ।