काठमाडौं । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालको मधेस प्रदेश र प्रदेश ५ (लुम्बिनी)को एकता अधिवेशन भव्य रुपमा सम्पन्न भएको छ । पार्टी एकता अधिवेशनसँगै राखिएको प्रशिक्षण र बैठक समेत आज (आइतबार) सम्पन्न हुँदैछ । शनिबार र आइतबार गरी दुई दिने कार्यक्रमको पहिलो चरणमा शनिबार तत्कालीन नेकपा (क्रान्तिकारी माओवादी) र नेकपा (बहुमत) बीचको एकतालाई प्रदेश स्तरमा एकता अधिवशेन मार्फत् पूर्णता दिइएको हो ।
हाम्रा सहकर्मी रवि पाण्डेयले दिएको जानकारी अनुसार प्रदेश ५ मा एकता अधिवेशनको अध्यक्षता प्रदेश संयोजक अटलले गर्नुभएको थियो भने सञ्चालन प्रदेशका सहसंयोजक समिरले गर्नुभएको थियो । कार्यक्रममा पहाड र नारायणले सर्कुलर तथा पार्टीको प्रतिवेदन वाचन गर्नुभएको थियो ।
सर्कुलर र दस्तावेज प्रस्तुत भएपछि पार्टीका कार्यालय सदस्य तथा पार्टी प्रवक्ता कञ्चन, कार्यालय सदस्य राजवीर र अर्का कार्यालय सदस्य तथा प्रदेश इन्चार्ज प्रेम सुवेदीले राष्ट्रिय अन्तर्राष्ट्रिय परिस्थितिको चर्चा, पार्टी एकताको ऐतिहासिक आवश्यकता, क्रान्तिको अपरिहार्यता, क्रान्तिकारी पार्टीको निर्माण, आगामी चुनौती र सम्भावनाका विषयमा महत्वपूर्ण प्रशिक्षण दिनुभएको थियो । आज प्रदेश सदस्यहरुको कार्यविभाजन, जिल्लाहरुको एकता अधिवेशन लगायतका विषयमा कार्ययोजना पारित गरी बैठकको समापन हुँदैछ ।
त्यसैगरी मधेश प्रदेशबाट प्राप्त जानकारी अनुसार क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल मधेश प्रदेश संगठन समितिको एकता अधिवेशन, प्रशिक्षण तथा बैठक धनुषाको बिरेन्द्रबजारमा सम्पन्न भएको छ ।
क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका बरिष्ठ कार्यालय सदस्य तथा अन्तर्राष्ट्रिय विभाग प्रमुख गौरबको प्रमुख आतिथ्यता, मधेश प्रदेश इन्चार्ज सागरको आतिथ्यतामा आयोजित कार्यक्रमको अध्यक्षता क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका मधेश प्रदेश संयोजक रमेशले गर्नुभएको थियो । कार्यक्रममा नेताहरु गौरव र सागरले विचार, राजनीति, संगठन र संघर्षका बारेमा महत्वपूर्ण प्रशिक्षण दिनुभएको थियो ।
उक्त कार्यक्रममा मधेश प्रदेशका आठवटै जिल्लाहरुमा कार्यरत सदस्यहरुको उत्साहपूर्ण सहभागिता रहेको थियो । एकता अधिवेशनले ९४ जनाको मधेश प्रदेश समिति समेत चयन गरेको स्रोतले जानकारी दिएको छ।
नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) र नेपाल कम्युनिस्ट पार्टी (बहुमत) बिच गत बैशाख १८ गते १३४ औं मजदुर दिवसकोअबसरमा पार्टी एकता घोषणा गरिएको थियो । अहिले सबै प्रदेशहरुमा एकता अधिवेशन, प्रशिक्षण तथा वैठक सम्पन्न गर्ने केन्द्रीय योजना अनुसारका एकता अधिवेशनहरु सम्पन्न भइरहेका छन् । साउन १५ सम्ममा जिल्ला, पालिका र वडासम्ममा एकता अधिवेशन सम्पन्न गर्ने पार्टी केन्द्रको कार्यतालिका रहेको छ ।






























