विध्यार्थी दिवसमा दुई अखिल क्रान्तिकारीद्वारा वक्तव्य जारी : निरन्तर संघर्षप्रति प्रतिबद्धता व्यक्त

विध्यार्थी दिवसमा दुई अखिल क्रान्तिकारीद्वारा वक्तव्य जारी : निरन्तर संघर्षप्रति प्रतिबद्धता व्यक्त

काठमाडौं । नेपाली विध्यार्थी आन्दाेलनमा क्रान्तिकारी धारकाे नेतृत्व गर्दै आएका दुईवटा अखिल क्रान्तिकारीले विध्यार्थी दिवसमा प्रेस वक्तव्य जारी गर्दै निरन्तर संघर्षप्रति प्रतिबटव्यक्त गरेका छन् । संगठनका अध्यक्षद्वय हरिकृष्ण गजुरेल र मिलन राईले संयुक्त रुपमा प्रेस वक्तव्य जारी गर्दै ५९ औं विद्यार्थी दिवस’को सन्दर्भमा विद्यार्थी, अभिभावक, शिक्षक, मजदुर, किसान, युवा, महिला, दलित, जनजाति, उत्पीडित जनसमुदायलगायत आम आदरणीय जनसमुदायलाई सङ्घर्षको निम्ति तयार रहनसमेत हार्दिक अपिल गरेका छन्। संगठनले आजै संवाद डवलीमा विशेष कार्यक्रमकाे समेत आयाेजना गरिएकाे अध्यक्ष गजुरेलले जानकारी दिनुभयाे ।
वक्तव्यमा भनिएकाे छ, “अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी)ले स्थापनाकालदेखि नै शैक्षिक मुद्दाहरुका साथसाथै राष्ट्रियता, जनतन्त्र र जनजीविकाका विषयहरुलाई लिएर निरन्तर सङ्घर्ष गर्दै अघि बढिरहेको कुरा सर्वविदितै छ । पञ्चायती व्यवस्था, बहुदलीय प्रजातन्त्र र २०५२ सालमा तत्कालीन नेकपा (माओवादी)को नेतृत्वमा सञ्चालन भई १० वर्षसम्म उथलपुथलकारी ढङ्गले चलेको महान् जनयुद्ध, १९ दिने जनआन्दोलन हुँदै यहाँसम्म आइपुग्दा शिक्षा र स्वास्थ्य क्षेत्रमा भएका सबै प्रकारका विकृति र विसङ्गतिलाई अन्त्य गरी शिक्षा र स्वास्थ्यलाई पूर्णरुपमा राष्ट्रियकरण, निःशुल्क एवम् सर्वसुलभ गराउनका निम्ति निरन्तर सङ्घर्षको नेतृत्व गर्दै आइरहेको छ ।
हरेक कालखण्डमा विविध प्रकारका सङ्घर्षहरु गर्दै जाने क्रममा माउ पार्टीहरुमा देखापरेका विचलन र टुटफुटका कारण विद्यार्थी सङ्गठनहरुमा पनि सोही प्रकारका गतिविधिहरु पैदा हुन पुगे भने कतिपय विद्यार्थी सङ्गठनका नेताहरु स्वयम् निजी स्वार्थमा लिप्त हुने, अर्थवादमा रमाउने, शैक्षिक माफियाहरुसँग घाँटी जोडेर विद्यार्थी आन्दोलनलाई नै धाराशायी बनाउने गतिविधिमा समेत सामेल भए । यद्यपि, हाम्रो सङ्गठन दुवै अखिल (क्रान्तिकारी) निरन्तर आफ्ना उद्देश्य र मुद्दाप्रति प्रतिबद्ध हुँदै सबै प्रकारका चुनौतीहरुलाई चिर्दै अगाडि बढिरहेको छ ।
आज शिक्षा र स्वास्थ्य क्षेत्रमा निजीकरण, व्यापारीकरण, दलालीकरण र माफियाकरण हाबी बन्दै गएको छ भने राष्ट्रियता चरम सङ्कटमा पुगेको छ । त्यस्तै, जनताको जीवन दिनप्रतिदिन कहालीलाग्दो अवस्थामा पुगिरहेको छ । रोग, भोक र अभावबाट नेपाली जनता ग्रसित छन् । बढ्दो महँगी, भ्रष्टाचार, बेथिति हुँदै सङ्गठित अपराध, मानवतस्करी र देशद्रोही कार्यहरुमा राज्यका उच्च तहका नेतृत्व पङ्क्ति नै संलग्न हुनुले विश्वसमुदायसामु नेपाल र नेपालीको साख गिर्नुका साथै बेइज्जत हुन पुगेको छ । नेपाली नागरिकलाई गैरनेपाली नागरिक बनाई नक्कली भुटानी शरणार्थी बनाउने गतिविधिबाट त झनै संसदवादी राजनीतिक पार्टी र नेपालको वास्तविक चरित्र उदाङ्गो भएको छ ।
७० लाखभन्दा बढी युवा र विद्यार्थी रोजगारी÷अध्ययनको सिलसिलामा विदेशिन बाध्य छन् भने ५० लाखभन्दा बढी युवा र विद्यार्थी स्वदेशमै बेरोजगारीले प्रताडित छन् । यी समग्र सङ्कटबाट मुलुकलाई निकास दिन र राष्ट्रियता, जनतन्त्र र जनजीविकाको सुनिश्चितता एवम् शिक्षा र स्वास्थ्यलाई पूर्णरुपमा राष्ट्रियकरण, निःशुल्क एवम् सर्वसुलभ गराउनका निम्ति सशक्त सङ्घर्ष अपरिहार्य बन्न पुगेको छ । यसको निम्ति वर्तमान दलाल संसदीय राज्यव्यवस्थाको अन्त्य गरी नयाँ जनवाद हुँदै वैज्ञानिक समाजवाद स्थापनाको निम्ति दृढताका साथ अघि बढ्न जरुरी छ । ‘५९ औं विद्यार्थी दिवस’को सन्दर्भमा विद्यार्थी, अभिभावक, शिक्षक, मजदुर, किसान, युवा, महिला, दलित, जनजाति, उत्पीडित जनसमुदायलगायत आम आदरणीय जनसमुदायलाई सङ्घर्षको निम्ति तयार रहनसमेत हार्दिक अपिल गर्दछौं ।”