
काठमाडौं । नेकपा (मशाल)का महासचिव सन्तबहादुर नेपालीले राष्ट्रघाती नागरिकता विधेयक राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गरे देश भारतीय विस्तारवादको चाहना अनुसार सिक्किम बन्ने चेतावनी दिनुभएको छ । उहाँले फेरि पनि राष्ट्रघाती विधेयक हुबहु प्रमाणीकरण गराउन राष्ट्रपतिमाथि दबाब बढाइरहेको जानकारी दिदै राष्टरघाती विधेयक कुनै पनि हालतमा प्रमाणिकरण हुन दिन नहुने कुरामा जोड दिनुभयो ।
उहाँले जनपक्षीय तथा क्रान्तिकारी शक्तिहरुको निरन्तरको दबाब र संघर्षकै कारण पनि यसअघि पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण नगरेर संसदमा फिर्ता पठाइदिएको नागरिकता विधेयक फेरि सरकारले संसदमा विना छलफल राष्ट्रपतिलाई प्रमाणीकरणका लागि दबाब दिइरहेको चर्चा गर्दै यसका विरुद्ध देशव्यापी संघर्ष चर्काउने चेतावनी दिनुभयो ।

क्रान्तिकारी कम्युनिस्ट पार्टी र नेकपा (मशाल) दुवै पार्टीले संयुक्त रुपमा आयोजना गरेको विरोधसभालाई सम्बोधन गर्दै महासचिव नेपालीले पछिल्लो शरणार्थी प्रकरणले नेपाल मानव तस्करहरुको देशको रुपमा बद्नाम भएको र नेपालीहरुले शीर निहु¥याउनुपर्ने स्थितिमा देशलाई पु¥याएको बताउनु भयो । उहाँले अब देशको स्वाधीनताको रक्षा, जनअधिकारको प्राप्ति र जनजीविकाका समस्याहरुको समाधानका लागि नयाँ जनवादी क्रान्तिको अपरिहार्यतामाथि जोड दिनुभयो ।
दुई पार्टीले भृकुटीमण्डप, सुन्धरा, खिचापोखरी, न्युरोड, विशालबजार, इन्द्रचोक, असन, भोटाहिटी हुँदै शान्तिबाटिकामसम्म नारा जुलुससहित विरोध प्रदर्शन समेत गरेका थिए ।